विजयपुर/नेवार समुदायले मनाउने यःमरी उत्सवको दोस्रो संस्करण आजदेखि सुरु हुने भएको छ ।
धरान–३ स्थित गल्ली टोल शङ्खधर शाख्वा मार्गमा यःमरी उत्सव हुने स्थानीय युवाहरुले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । यःमरी आइतबार बेलुकासम्म लाग्ने आयोजकको तर्फबाट अमृत आचार्जुले बताए । उनले एक दशकदेखि गर्दै आएको यःमरी उत्सव कोभिड कारणले २ वर्ष रोकिएको बताए । पत्रकार सम्मेलनमा धरान–३ का अध्यक्ष आशाकुमार श्रेष्ठले यःमरी उत्सव नेवार समुदायको भए पनि सम्पूर्ण धरानवासीलाई अवलोकन गर्न आग्रह गरे ।
उनले भने, ‘हामी पनि अन्य चाड मान्छौं । धान नाच्छौं । सम्पूर्ण धरानवासी उपस्थित भएमा सामिप्यता पनि बढ्छ ।’ धरान–३ का स्थानीय अनिल श्रेष्ठले यःमरी नयाँ धानबाट बनाएको रोटी भएको बताए । यःमरी उत्सव बेलुका ४ बजेबाट सुरु हुनेछ ।