धरान। धरानमा लामो समयपछि पब्लिक स्कुलको खेलमैदानमा कन्सर्ट हुन लागेको छ ।

सङ्गीतको क्रेज भएको धरानमा ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’ आज (शनिबार) साँझ हुँदै छ । कन्सर्टमा लोकप्रिय ब्यान्ड रविन एन्ड द न्यू रेभुलेसन, धरानको हिना मल्ल, दीपिका बस्नेत, फ्रि बड्र्सलगायतले प्रस्तुति दिँदै छन् ।

ब्यान्डका सदस्य मुख्य गायक रविन तामाङ, प्रवीनदाश श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय विश्वकर्मालगायत सदस्य कन्सर्टका लागि धरान आइसकेको स्थानीय आयोजक सिल्भर इन्टरटेनमेन्टका व्यवस्थापक सौरभ श्रेष्ठले जानकारी दिए ।

ब्यान्डको दम मारो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, मैले भेटेँ शिवाजीलगायतका गीत लोकप्रिय छन् । उनी धरानमा चार वर्षअघि आएका थिए । उनले भने, ‘लामो ग्यापमा हुने कार्यक्रममा आइरहेको छु, सम्पूर्ण धरान र यस वरपरका दर्शकहरूलाई कन्सर्टमा आएर रमाइलो गर्न र सङ्गीतमा रमाउन अनुरोध गर्दछु ।’

टुबोर्गको प्रस्तुतिमा कन्सर्ट हुन लागेको हो । गोर्खा ब्रुअरीको मुख्य प्रायोजन डिभाइन वाइन प्रिमियम, रेडबुल इनर्जी ड्रिङ्क, जल पाइप्सको सह–प्रायोजन तथा ब्ल्याकपिग इन्टरटेनमेन्टलगायतको सहयोग रहेको छ । यो मेघा लाइभ कन्सर्टको तेस्रो संस्करण हो ।