पौवादुङमा गाउँपालिकाको आर्कषणका रुपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण थालिएको छ ।
गाउँपालिका केन्द्रमा रहेको यो पोखरी स्थानीय सरकार र पर्यटन विकास मन्त्रालयको दुई करोड १२ लाखको लागतमा संरक्षण थालिएको हो । बहुवर्षीय योजनामा समायोजन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी यसको विकास तथा विस्तार भइरहेको गाउँपालिकाले जनाएको छ ।
पोखरीको क्षेत्रफलको विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिरको निर्माण, पानी बोट सञ्चालन, ढलको व्यवस्था, बगैँचा निर्माण, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेराबारा लगाउनेलगायतका काम गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष किरण राईले भने, “अहिले हामीले च्याङ्ग्रे पोखरीको संरक्षण तथा विकासमा लागेका छौँ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ ।” उनले योजना अनुसार पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि चरणबद्धरुपमा काम अगाडि बढाएका छौँ भन्दै गाउँपालिकाको बजेटले मात्रै ती क्षेत्रको विकास सम्भव नभएकाले प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटको व्यवस्थापन हामी लागिपरेको बताए ।
अध्यक्ष राईले भने, “गाउँपालिकामा आएको रकमले पनि कतिपय काम सुरु भइसकेका छन् । गाउँपालिकाको सबै क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने उद्देश्य भए पनि रकम अभावले मुख्यमुख्य क्षेत्रको छनोट गरी छुट्टाछुट्टै डिपीआर तयार गरेर काम अगाडि बढाएका छौँ ।” उनले पोखरीको संरक्षण तथा विस्तारको काम तीव्रगतिमा भइरहेको बताए । कामलाई गुणस्तरीय ढङ्गले सम्झौता अवधिभित्र सम्पन्न गराउनका लागि गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष राईले बताए ।
“यो हाम्रो मुख्य आकर्षणको केन्द्र हो । यसलाई जिल्लाको नमूना पोखरी बनाउने लक्ष्य छ । विस्तृत परियोजना प्रतिवेदनमा भएअनुसार यहाँ विभिन्न खालका संरचना निर्माण हुनेछन् । निर्माण सम्पन्न भएपश्चात् यसको प्रचारप्रसारमा लागेर आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइको स्थान बनाउने हाम्रो योजना छ”, उनले भने, “गाउँपालिकाको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौँ । तर स्थानीय सरकारलाई आएको बजेटले मात्र योजनामा राखेका काम गर्न सम्भव छैन । त्यसैले हप्तौँसम्म प्रदेश र केन्द्र सरकार धाएर भए पनि बजेटको व्यवस्था मिलाएको छु । यसले यहाँका जनतालाई विकासको अनुभूति दिलाउन सकेका छौँ ।”
नौ रोपनी क्षेत्रफलमा निर्माणमा भइरहेको पोखरीको पर्खाल बनाउने, फाउन्डेशन खन्ने लगायतको काम तीव्रगतिमा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि ऐतिहासिक महत्वलाई कायम राख्दै आधुनिकता झल्कने गरी पोखरीको निर्माण हुने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत राईले भने, “यहाँ निर्माण हुने संरचना ऐतिहासिक महत्वलाई संरक्षण गर्दै आधुनिकता पनि देखिने गरी निर्माण हुनेछन् । पोखरीको छेउमै रहेको पञ्चकन्या पोखरीको पनि निर्माण हुनेछ ।”
त्यस्तै गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको पनि डिपीआर तयार गरेर काम अगाडि बढाउने तयारी रहेको गाउँपालिकाले जनाएको छ । विद्यालयको पुरानो स्वरुपलाई यथावत राख्दै भौतिक संरचना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । डिपीआरअनुसार विद्यालयको विभिन्न संरचना निर्माणका लागि एक करोड २७ लाख ५९ हजार लाग्ने प्रशासकीय अधिकृत राईले जानकारी दिए ।
विद्यालयलाई गाउँपालिकाको नमूना विद्यालयका रुपमा विकास गर्नेसमेत उनले बताए । गाउँपालिकाले यसअघि पर्यटकीय क्षेत्र अरुण डाँडा, च्याङ्ग्रे ‘भ्यू’ टावर, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मिराराई रङ्गाशाला, सन्तानेश्वर महादेवलगायत क्षेत्रको डिपीआर तयार गरेर प्रदेश सरकारसँगको सहकार्यमा कतिपय ठाउँमा कामसमेत अगाडि बढाइसकेको छ । त्यस्तै गाउँपालिकाले किराँत दुङमाली भाषा संरक्षण मञ्चको पनि डिपीआर तयार गरिसकेको छ । च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणका लागि ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणका लागि दुई करोड सात लाख र अरुणडाँडामा भवन निर्र्माण तथा अन्य संरचना निर्माणका लागि चार करोड ५० लाखको लागत बराबरको डिपीआर तयार गरेको हो ।
यो पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको आगमनमा वृद्धि भए पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् । परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयवासीको भनाइ छ । पोखरी बनेदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा नसुक्ने स्थानीय बासिन्दा सुनाउँछन् । स्थानीयवासी चन्द्रबहादुर खत्रीले भने, “यो एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो । प्रचारप्रसार नहुँदा देश विदेशका सबै ठाउँमा चिनिएको छैन । तर यसको संरक्षणका लागि गाउँपालिकाले काम थालेको छ । पक्कै पनि अब यसले चर्चा पाउँछ भन्नेमा हामी आशावादी छौँ ।”
च्याङ्ग्रे घुम्न आउने जो कोहीको गन्तव्य नै हो, यो पोखरी । विश्राम गर्ने, घुम्न, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । विभिन्न पूजाआजामा पोखरीको छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुने गरेको स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महत्वको यो पोखरीको संरक्षण गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । स्थानीयवासी लीला सुनारले भने, “यो क्षेत्र महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यहाँ विभिन्न समयमा मेला लाग्छ । पोखरीमा बिहान, दिउँसो र साँझ फरकफरक रङ देख्न सकिन्छ । गाउँपालिकाले यसको संरक्षणमा खेलेको भूमिका स्वागत योग्य छ ।”
पोखरीलाई विशेष आकर्षण दिन आसपासका बस्तीलाई मुआब्जा दिएर अन्यत्र सार्ने, कुलो र ढल निकास गर्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले बताए । उनले भने, “यो पोखरीले हाम्रो ठाउँको पहिचान बोकेको छ । यसको विकास गर्नसके यहाँको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । त्यसैले हामी यसको विकासमा जुटेका छौँ ।” त्यस्तै गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुण डाँडाको विकासका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस स्थानको पनि डिपिआर तयार गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
योजनाबद्ध विकासमा गाउँपालिकाको जोड
पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल अरुण डाँडाको विकास तथा विस्तारमा गाउँपालिकाले काम गरिरहेको छ । यहाँ अहिले विभिन्न संरचना बनिरहेका छन् भने गौतमबुद्ध र महादेवको मूर्ति राख्ने काम सकिएको छ ।
गाउँपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर स्थानीयवासीसँगै गाउँपालिकाको आयस्रोतमा वृद्धि गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाले चार करोड ५० लाख बराबरको डिपीआर तयार गरेर कामको सुरुआत गरेको हो । गाउँपालिकाले मिराराई रङ्गशालाको डिपीआर तयार गरेर कामको थालनी गरेको छ । गाउँपालिकाले प्रसिद्ध धार्मिकस्थल चारढुङ्गे सन्तानेश्वर महादेवस्थान मन्दिरको पनि डिपीआर तयार गरेर कामको थालनी गरेको छ । त्यस्तै वडा नं ५ सुप्लामा रहेको सो मन्दिरको विकासका लागि दुई करोड ६० लाख बराबरको डिपीआर तयार गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेको धार्मिकस्थलका संरक्षण तथा विकासका लागि डिपीआर तयार गरेर काम गर्ने गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, “हामी गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा लागेका छौँ ।” हाम्रो योजनामा रहेका धेरै संरचनाको काम भइरहेको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, यातयात र कृषि क्षेत्रको विकासका लागि पनि योजनाबद्धरुपमा काम गरिरहेको जनाएको छ ।
तरकारी र अण्डामा आत्मनिर्भर
पौवादुङमा गाउँपालिका तरकारी र अण्डामा आत्मनिर्भर बनेको छ । गाउँपालिकाको अधिकांश क्षेत्र सुक्खाग्रस्त भए पनि गाउँपालिकाले कृषकलाई प्लाष्टिक पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो । कृषकले वर्षात्को पानीलाई पोखरीमा जम्मा गरेर सिँचाइको व्यवस्था मिलाएका छन् ।
आफ्नो क्षेत्रलाई भौगोलिक आधारमा विभाजन गरेर विभिन्नखाले बालीको पकेट क्षेत्र बनाएर काम गर्ने लक्ष्यका साथ कृषिको क्षेत्रमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । यसअघिका आर्थिक वर्षमा कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर कृषकलाई प्रोत्साहन गरेकाले अहिले तरकारीमा आत्मनिर्भर बनेको गाउँपालिकाले जनाएको छ ।
कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भन्नुभयो, “हामीले प्राथमिकतामा राखेर कृषि क्षेत्रमा लगानी गरेकाले अहिले हामी तरकारी तथा अण्डामा आत्मनिर्भर भएका छौँ । अहिले यहाँ उत्पादन भएको तरकार छिमेकी स्थानीय तहमा समेत बिक्रीका लागि जाने गरेको छ । धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि कृषकलाई प्लाष्टिक पोखरी निर्माणमा प्रोत्साहन गरेर सिँचाइको व्यवस्था मिलाएका छौँ ।”
गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खाग्रस्त क्षेत्रभित्र पर्ने वडा–४ बास्तीम, वडा–६ ठूलोदुम्मा, वडा–५ सानोदुम्मामा कृषकले अकबरे खुसार्नी, टमार, बोडी, बन्दा, काउलीलगायतका व्यावसायिक खेती गरिरहेका छन् । त्यस्तै गाउँपालिकामा व्यावसायिक कुखुरापालन, बाख्रापालन, मौरीपालनमा लाग्ने कृषकको सङ्ख्या पनि धेरै रहेको छ । विगतमा बाहिरी जिल्लामा उत्पादन भएको अण्डामा निर्भर रहँदै आएको गाउँपालिका अहिले आफ्नै ठाउँमा उत्पादन भएको अण्डा अन्य ठाउँमा पठाउन थालेको छ ।
स्थानीय कृषकले उत्पादन गरेको अण्डाको बजारीकरणमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाले नियमितरुपमा गर्भजाँच गराउने गर्भवती महिलालाई एक पटक गर्भजाँच गराए बापत एक क्यारेट अण्डा दिँदै आएको जनाएको छ । यसले व्यवसायीलाई अण्डा बिक्री गर्न थप सहजता थपिएको छ । गाउँपालिकाले व्यवसाय सञ्चालनमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि व्यवसायी निकै उत्साहित छन् । उत्पादन भएको अण्डाले गाउँपालिकासँगै भोजपुरलाई नै पुग्ने व्यवसायीको दाबी छ । गाउँपालिका सञ्चालनमा आएसँगै व्यवसायमा लाग्न प्रोत्साहन मिलेको स्थानीय व्यवसायीको भनाइ छ ।