कोरोनाको महामारी र मानिसबीचको युद्ध अझै जारी छ । सङ्क्रमित हुने र मृत्यु हुने क्रम पनि जारी छ । कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य वैज्ञानिकहरूले अन्तिम विकल्पको रूपमा खोप मात्रै एक विकल्प भएको बताइसकेका छन् । खोप पनि नेपाल सरकारले खरिद गरेर ल्याएको छ । अनुदानमा पनि खोप आपूर्ति भएको छ । अर्थात् नेपाली नागरिकलाई खोप अभाव छैन, पुग्दो छ, बुस्टर डोज लगाउन पनि पुग्ने खोपको भण्डारण भइरहेको छ । हात्ती छि¥यो, पुच्छर अड्कियो भनेजस्तै यतिबेला प्रदेश १ मा कोरोनाविरुद्धको खोप लगाउँदा प्रयोग हुने सिरिन्जको चरम् अभाव देखिएको छ । सिरिन्ज अभाव हुँदा कोभिड विरुद्धको खोप कार्यक्रम नै प्रभावित भएको छ । सिरिन्ज अभाव भएकाले ठूलो सङ्ख्यामा आएको भेरोसेल खोप समयमै लगाउनबाट प्रदेशका नागरिक बञ्चित भएका छन् । सिरिन्ज अभाव हुँदा हाल ३ लाख १७ हजार ८ सय ५० डोज भेरोसेल खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा थन्किएको छ । भण्डारणमा थन्किएका भेरोसेल खोपलाई लक्षित समुदायमा समय खेर नफाली पु¥याउने र कोभिड सङ्क्रमणबाट बचाउने समय हो यो ।
सिरिन्ज अभाव हुँदा राज्य सञ्चालन गर्ने जिम्मा पाएका गठनबन्धन सरकार, स्वास्थ्य मन्त्रालय, मन्त्री, सचिव, स्वास्थ्य मन्त्रालय मातहतका महाशाखाका वरिष्ठ अधिकृत, विषयविज्ञहरू अहिलेसम्म के हेरेर बसेका छन् ? यो लाजमर्दो अवस्था हो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा मौज्दात सिरिन्ज सकिन लागेको जनाइएको छ । केन्द्रदेखि थप सिरिन्ज नआए कोभिडविरुद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने अवस्थालाई ध्यान दिन नसक्नुजस्तो गैर जिम्मेवार काम गर्न कसले अधिकार दियो ? जनताजनार्दनको स्वास्थ्यमाथिको खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । गत मङ्सिर २८ मा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० डोज भेरोसेल खोप आएको थियो । सोही अनुपातमा खोपका लागि पनि सिरिन्ज आवश्यक पर्छ भनेर थाहा हुँदाहुँदै सिरिन्ज चाहिँ नपठाउनुमा कसको लापरबाही हो ? त्यसको जवाफ स्वास्थ्य मन्त्रालय वा सरकारले दिनुपर्छ । केन्द्रदेखि अहिलेसम्म भेरोसेल खोपको लागि सिरिन्ज नआएको त प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाइसकेको छ ।
विराटनगरको आपूर्ति केन्द्रमा भेरोसेल खोपका लागि ६० हजारको सङ्ख्यामात्र सिरिन्ज रहेको छ । मौज्दात सिरिन्ज ३–४ वटा जिल्लामा वितरण गर्दागर्दै सकिने अवस्था छ । ३ लाख १७ हजार ८ सय ५० खोपका लागि सोही अनुपातमा सिरिन्ज पठाउन कसले रोक्यो ? भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज लगाउनुपर्ने समय पनि घर्किन थालेको छ । तर, सिरिन्ज अभाव भएको भनेर नागरिकले दोस्रो डोजसमेत लगाउन पाएका छैनन् । खोप भण्डारमा भेरोसेल हुँदाहुँदै सिरिन्ज अभावको बहानामा खोप लगाउन ढिलाइ गर्ने सरकारको काम जनतालाई स्वीकार्य छैन । सिरिन्ज छैन भन्दै खोपमा खेलाँची गरेर सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नु अक्षम्य अपराध मान्न सकिन्छ । यसर्थ, तत्काल सिरिन्जको व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व र जिम्मेवारी हो । ढिलाइ गर्नु गैरजिम्मेवारी हो ।