धरान । चिसो बढ्दै जाँदा काठमाडौंको हायत रिजेन्सी होटलमा ‘आइसी डिजाइनर रनवे’ फेसन शो गरिएको छ ।
विभिन्न सेलिब्रेटी मोडल २१ सिक्वेन्समा र्याम्पमा उत्रिएका थिए । २८ महिला मोडल र ८ पुरुष मोडलले ७३ जना डिजाइनरले तयार गरेको पहिरन लगाएर र्याम्पमा उत्रिएका थिए । डिजाइनरहरू आइसी कलेजका १८ औं ब्याचका उत्तीर्ण विद्यार्थीहरू हुन् ।
आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्टमा गरिएको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता कार्की शो टपरका रूपमा रहेका थिए ।
नेक्स्ट मोडल्स नेपालका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले विगत वर्षहरूमा झैं यस वर्ष पनि मोडलहरूलाई ¥याम्पमा उतारिएको बताए । उनका अनुसार नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निशा अधिकारी, क्रिकेटर शरद भेस्वाकरलगायतका सेलिब्रेटीको उपस्थिति रहेको थियो ।
फेसन डिजाइनरले तयार पारेका पहिरनलाई प्रचार–प्रसार गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली पोसाकलाई पुर्याउने लक्ष्य रहेको उनले बताइन् ।