विजयपुर । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा लामो समय सेवा गर्ने ३ जना सम्मानित भएका छन् ।

आधुनिक माइक्रोबायोलोजीका पिता तथा महान् वैज्ञानिक लुइस पास्चरको १९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा प्राध्यापकद्वय  पशुपति  मिश्र, गीता भट्टराई  र कर्मचारी सूर्यप्रसाद श्रेष्ठ रहेका छन् । भट्टराई सेवा निवृत्त हुन् भने मिश्र कार्यरत रहेका छन् । उनीहरूलाई १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मान–पत्र र  दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा कोरोना भाइरसको पहिलो चरणमा धरान उपमहानगरका तर्फबाट स्वाव सङ्कलन गर्ने माइक्रोबायोलोजीका विद्यार्थीहरू आशिष प्रधान, आकृति गुरुङ, मिशा शाक्य र मोजेश चौधरीलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री राईले समृद्ध समाज निर्माण गर्नका लागि रोजगारमुखी दक्ष  प्राविधिक जनशक्ति उत्पादन गर्नु पर्ने र त्यसको अधिकतम् प्रयोग गर्नुपर्ने बताए ।

क्याम्पसको उद्देश्य र योजनाका विषयमा सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बूले प्रदेशका क्याम्पसहरूको विकासका लागि प्रदेश सरकारले अभिभावकत्व निर्वाह गर्नुपर्ने बताए ।