गरिबका लागि विपद् बनेर आउने चिसो अर्थात् जाडोबाट बच्न तीनै तहका सरकारबाट तयारी भएको पाइँदैन । हरेक वर्ष पुस, माघका बेलामा गरिब तथा विपन्न परिवारका लागि त्यसमा पनि मधेशतिर जाडो काल बनेर आउने गरेको छ । एउटा उखान नै छ, ‘बलियो बाङ्गो बाघलाई, दुब्लो पातलो माघलाई ।’ यही उखान चरितार्थ हुने गरेको छ, तराईवासी जो विपन्न छन् वा गरिब छन् । एकसरो लुगा लगाउने हैसियत नभएकाहरूका लागि जाडो कालको एउटा रूप बनेर आउने गरेको छ । यसका लागि तीनै तहका सरकारबाट उतिसारो पूर्वतयारी गरेको पाइँदैन । सामान्यतः यसतर्फ ध्यान दिएको पाइँदैन । तर, यो गरिबका लागि विपद्को एउटा रूप हो । विपद् प्राकृतिक र मानवीय गरी दुई किसिमले हुने गरेका छन् । यो प्राकृतिक रूपमा आउने विपद्लाई पूर्ण रूपमा रोक्न सकिन्छ । त्यसबाट बच्नका लागि सचेतना र न्यूनीकरणका उपायलाई अवलम्बन गर्ने हो भने हामी यसबाट बच्न सक्छौं । तर, गरिबी सबैभन्दा ठूलो कडी बनेर बसेको छ । त्यसलाई निस्तेज पार्न सक्दैनौं, कम्तीमा जाडोबाट हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भने अवश्य सक्छौं । त्यसतर्फ सरकारहरूले ध्यान दिन आवश्यक छ ।
गरिबी न्यूनीकरण गर्नेतर्फ यदि सरकारले पाइला चाल्ने हो भने पनि हरेक वर्षको पुस, माघमा आउने विपद्लाई पूर्ण रूपमा हटाउन सक्छौं । त्यसतर्फ सरकारले तत्काल कदम चाल्न नसक्ला । एउटा निश्चित अवधि र समय लाग्ला अर्थात् केही दशकभित्र गरिबीलाई न्यूनीकरण गर्न सकिएला । तर, हामी हरेक वर्षको पुस, माघलाई टार्न सक्दैनौं । त्यो त चक्रीय प्रणालीमा हरेक वर्ष आउँछ नै । त्यसो हुँदा पूर्वतयारी र सचेतना गर्न सक्ने हो भने नै हामी त्यसलाई पूर्ण नियन्त्रण गर्न सक्छौं । गरिब बस्तीका लागि दाउराको जोहो, न्यानो कपडाको जोहो गर्ने वातावरण गरिदिने हो भने पनि हामीले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । प्रदेश २ मा मात्रै पछिल्ला चार वर्षमा ७४ जनाको ज्यान गएछ । यसलाई रोक्न सकिन्थ्यो । तर, हाम्रा सरकार र सरकारमा बसेका जनप्रतिनिधिहरूले यसतर्फ ध्यान दिन सकेका छैनन् । यतिसम्म कि अहिले तीन तहको सरकार छ, सबैभन्दा तल्लो तहको सरकार अर्थात् स्थानीय तहले मात्रै पनि ध्यान दिने हो भने यस्ता मृत्युदरलाई नियन्त्रण गर्न सकिन्थ्यो । हामी विपद्लाई देखेर पनि अनदेखा गरिरहेका छौं । जसको परिणाम हामीले बर्सेनि भोग्दै आएका छौं । यसो हुनु भनेको हाम्रा सरकारहरू गैरजिम्मेवार बन्नु हो । एकातिर गरिबी न्यूनीकरण गर्न नसक्नु, अर्कोतिर हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सक्ने सामथ्र्य हुँदाहुँदै पनि तत्परता नदेखाउनु एक प्रकारले अपराध गरेको ठहर्छ ।
चिसोबाट बच्न हामीले थुप्रै उपायहरू अवलम्बन गर्न सक्छौं । सरकारले गरिब बस्तीहरूलाई पहिचान गरेर मङ्सिर पूर्व नै त्यहाँका बालबालिका, वृद्धवृद्धाहरूका लागि न्यानो कपडा वितरण गरिदिन सक्छौं । अर्कोतिर वयस्क तथा जो केही काम गर्न सक्छ, उसका लागि रोजगार सिर्जना गरिदिने हो भने उसले केही कमाइ गर्नेथियो । जसबाट परिवारलाई चाहिने आधारभूत कुराहरू पूर्ति गर्नेथियो । तर, यी दुवै तरिकाहरू अपनाएको पाइँदैन । त्यति मात्रै हैन, उद्योगी, व्यवसायीहरूलाई प्रेरित गरेर उनीहरूलाई पनि गरिब तथा विपन्न बस्तीहरूको पहिचान गरेर सहयोगको वातावरण निर्माण गर्न सकिन्छ । व्यक्तिगत रूपमा भन्दा पनि समूहगत रूपमा वितरण गर्ने हो भने त्यो प्रभावकारी हुन्छ । त्यसैले सरकारले यस्ता कुराहरूमा ध्यान दिने हो भने पनि हामीले चिसोबाट थुप्रै नागरिकको ज्यान जोगाउन सक्छौं । राज्यले कम्तीमा पनि जाडोका बेला पूर्वतयारी अपनाउने वातावरण सिर्जना गरोस् ।