दुई वर्षयता कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । धेरैको ज्यान लिएको कोरोनाले विश्वकै अर्थतन्त्रमा नकारात्मक असर पनि पारेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान सञ्चालन भए पनि कोरोनाका नयाँ–नयाँ भेरियन्ट देखा परिरहेका छन् । पछिल्लो ओमिक्रोन अहिले संसारका लागि नयाँ चुनौतीको रूपमा देखा परेको छ । यसअघिको भेरियन्ट डेल्टा र नयाँ भेरियन्ट ओमिक्रोनको मिश्रणबाट विश्वमा नयाँ चुनौती थपिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सतर्कता अपनाउन आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहबे्रयससले डेल्टा र ओमिक्रोनको मिश्रणबाट विश्वमा सङ्क्रमणको सुनामी आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समय यी दुई भेरियन्टको मिश्रणबाट तीव्र रूपमा सङ्क्रमण फैलिरहेको जनाउँदै उनले थकित स्वास्थ्यकर्मीलाई डेल्टा र ओमिक्रोनले झन् ठूलो चाप थपिसकेको र स्वास्थ्य प्रणाली काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको बताएका छन् । हाल विश्वभर दैनिक करिब ९ लाख सङ्क्रमित थपिने गरेका छन् । फ्रान्समा चौबीस घण्टामा २ लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् भने बेलायत, इटाली, स्पेन जस्ता देशमा पनि पहिलेको तुलनामा सङ्क्रमित थपिने क्रम अत्यधिक बढेको छ । अमेरिकामा पनि महामारी सुरु भएयताकै उच्च सङ्क्रमण दर देखिएको छ । यसरी तीव्र रूपमा फैलिइरहेको महामारीको मुख्य कारण ओमिक्रोन रहेको विज्ञहरूको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूको भनाइले निकट भविष्यमै कोरोना महामारी पहिलाजस्तो लहरका रूपमा नभई तीव्र सुनामीका रूपमा फैलिँंदै छ भन्ने सङ्केत गरेको छ । तर, यस्तो सुनामीसँग लड्न सक्ने तयारी हामीकहाँ कतिको छ ? हामीले कतिको सतर्कता अपनाइरहेका छौं ? स्वमूल्याङ्कन गरेर उपायहरूको खोजी गर्न अबेर हुन लागिसकेको छ । तीव्र रूपमा फैलिइरहेको डेल्टा र ओमिक्रोनको सङ्क्रमणबाट मृत्यु भएकाहरूमध्ये पोल्याण्डमा तीनचौथाइले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । अर्थात् खोप नलगाएकाहरूको बढी ज्यान गइरहेको यो तथ्यबाट पनि प्रष्ट हुन्छ । यसको अर्थ अहिलेका लागि कोरोना महामारीबाट बच्न सतर्कतासँगै खोप लगाउनु पनि अत्यावश्यक देखिन्छ तर, अहिले पनि धेरैले खोप लगाएका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका १ सय ९४ सदस्य राष्ट्रमध्ये ४० प्रतिशतले पनि खोप लगाएका छैनन् । यसबाट पनि कोरोनाको खतरा कति छ भन्ने देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ को जुलाईसम्ममा ७० प्रतिशतमा खोप लगाउने लक्ष्य लिए पनि हालको अवस्थाले लक्ष्यमा पुग्न मुस्किल देखिन्छ । विश्वका कतिपय देशहरूमा खोपको पूर्ण मात्रा लगाएर पनि बुस्टर डोज लगाइरहेका छन् तर, नेपालजस्ता देशमा धेरैले खोपको एउटा मात्रासमेत पाएका छैनन् । सरकारले चैतभित्रमा सबैलाई खोप लगाउने उद्घोष गरे पनि हालसम्मको तयारी र तीव्र रूपमा फैलिइरहेको ओमिक्रोनको अवस्थाले चुनौती बढाएको छ ।
नेपालमा ठूलो सङ्ख्यामा रहेका बालबालिकाले खोप पाएका छैनन् । अब महामारी फैलिए सबैभन्दा जोखिम तिनै खोप नपाएका बालबालिकालाई हुने विज्ञहरूले बताइरहेका छन् । बेलैमा सतर्कता नअपनाए जोखिम थाम्न गाह्रो पर्छ । त्यसैले पनि अहिलेको अवस्थामा आमनागरिक आफै सचेत भएर स्वास्थ्य सतर्कता अपनाउने र सरकारले खोपका लागि आवश्यक सक्रियता देखाउने हो भने अब आउने महामारीबाट धेरैलाई बचाउन सकिन्छ । अन्यथा एक–अर्कालाई दोष देखाएर आफू पन्छिनु पर्ने अवस्था आउन सक्छ । अघिल्ला वर्षका सरकारको तयारी र काम गर्ने तरिकाले अहिले पनि हाम्रो स्वास्थ्य प्रणाली व्यवस्थित छैन भन्ने आँकलन गर्न सकिन्छ । समय हुँदासम्म हुने नहुने गफ दिएर बस्ने अनि महामारी फैलिइसकेपछि हतार हतार काम थाल्ने प्रवृत्ति अहिले पनि सरकारी अधिकारीका कार्यशैलीबाट देखिन्छ । अबको दिनमा पनि पहिलाजस्तो समस्याको सामना गर्नु नपरोस् भन्नका लागि बेलैमा सचेत भएर आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राख्नसके सबैको लागि हित हुन्छ । सरकारले त्यसतर्फ बेलैमा ध्यान पु¥याउनु आवश्यक छ ।