धरान उपमहानगरपालिकाले धरान दिवसको अवसरमा तीन दिने उत्सव मनाइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्त्याएर तामझामसहित सुरु भएको उत्सव वास्तविक रूपमा उत्सवभन्दा पनि सामान्य मेलाजस्तो लाग्छ । धरान दिवसका अवसरमा आयोजित उत्सव समग्र धरानवासीको गौरवको विषय बन्नुपर्ने हो । उत्सवमा धरानको मानवीय तथा विकासका विषयमा बहस हुनुपर्ने हो । यहाँका सम्भावनाहरूको खोजी हुनुपर्ने हो ।
धरानका अधिकांशजसो विकास आयोजनाहरू विवादमा पर्ने गरेका छन् । यहाँ रहेका महŒवपूर्ण सरकारी कार्यालयहरू अन्यत्र सारिएपछि धरान उजाड बन्दै गएको छ । सरकारी बेवास्ताको सिकार बनिरहेको धरानलाई अब कसरी समृद्ध बनाउन सकिन्छ ?, धरान किन विस्तारै उजाड बन्दै गएको छ ?, यहाँका विकास आयोजनाहरू किन विवादमा परिरहेका छन् ? यस्ता विषयमा बहस हुनुपर्ने हो ।
त्यति मात्र होइन, आर्थिक वर्ष २०५६÷०५७ मा तत्कालीन धरान नगरपालिकाले दुई दशकभित्र धरानलाई ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध सहर’ बनाउने दीर्घकालीन दृष्टिकोण अघि सारेको थियो । अहिले दुई दशक बितिसक्दा त्यो विकास लक्ष्य कहाँ पुग्यो ? बहसको विषय बन्नु प¥यो अनि न आगामी लक्ष्य निर्धारण गर्न सकिन्थ्यो । तर, यस्ता गहन विषयमा बहस भएन ।
बहसका नाममा पर्यटनसम्बन्धी सामान्य गोष्ठी आयोजना भयो । साहित्यका नाममा बहुभाषिक कवि गोष्ठी आयोजना भयो । यी औपचारिक गोष्ठीहरू पनि आवश्यक छन् तर, उपमहानगरपालिकाले आयोजना गरेको उत्सवमा यति मात्र पर्याप्त होइन ।
खासमा उत्सवभन्दा पनि यो सामान्य मेलाभन्दा फरक भएन । उपमहानगरजस्तो स्थानीय सरकारले आयोजना गरेको उत्सव कुनै सामान्य व्यापारिक मेलाजस्तो हुनु लज्जाको विषय हो । मेलाका अधिकांशजसो स्टलहरू ३ हजार पाँच सयदेखि १० हजार रुपैयाँसम्ममा बिक्री गरिएको छ ।
स्टलहरूमध्ये आधाजसोमा मदिराको प्रचार–प्रसार र बिक्री वितरण भइरहेको छ । ती स्टलहरूमा बिक्री हुने कुराहरू सामान्य बजारभाउभन्दा महँगो छ । यद्यपि केही स्टलहरू स्थानीय उत्पादन, स्वास्थ्य र जानकारीमूलक किसिमका छन् ।
कानूनले विद्यालय वरपर मदिराको प्रचार तथा बिक्री गर्न प्रतिबन्ध लगाएको छ । अहिले संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । तर, स्थानीय सरकार भनिने स्थानीय तहले नै कानून विपरीत विद्यालयभित्रै मदिराको प्रचार गरिरहनु लज्जाको विषय हुनुपर्ने हो ।
किनकि स्थानीय तहमा शिक्षा महाशाखा छ । उसलाई शिक्षासम्बन्धी ऐन, कानूनको जानकारी हुनु नै पर्ने हो । सरकारले नमुना विद्यालय घोषणा गरेको पब्लिक हाईस्कुललाई पनि विद्यालय हातामा मदिरा प्रचार तथा बिक्री वितरण गर्न मिल्दैन भन्ने जानकारी हुनुपर्ने हो तर, कानूनविपरीत काम हुँदासमेत चुपचाप रहनु दुःखद् हो । अझ तिनै मदिराका होर्डिङ बोर्डअगाडि स्कुले बालबालिकाहरूलाई घण्टौंसम्म लामबद्ध उभ्याउनु ज्यादती हो ।
मेलाका लागि पैसा दियो भन्दैमा जेपनि प्रचार गर्नु, कानूनविपरीत विद्यालयमा रक्सीको व्यापार गर्न अनुमति दिनु जसरी भए पनि पैसा कमाउन चाहने व्यापारिक मानसिकता हो । स्थानीय सरकारले यस्तो गर्नु अशोभनीय हो ।
धरानको विकास किन पछि परिरहेछ भनेर देखाउने एउटा उदाहरण पनि हो यो मेला । यसले धरानको विषयमा एकैपटक धेरै कुराको सङ्केत पनि गरेको छ । धरानमा राजनीतिक दलहरू र तिनका नेताहरूमा दीर्घकालीन विकासको दूर दृष्टि कति छ ? भन्ने देखाउँछ यो मेलाले । अनि धरानको नागरिक समाज र बुद्धिजीवी वर्गलाई पनि कुरीकुरी भनेको छ मेलाले ।
तर, यो समग्रमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको असफलताको मापन गर्ने अवसर पनि हो । यसबाट सिकेर धरानले आगामी दिनमा विकासको गति तय गरोस्, जे गर्दा पनि चुपचाप समर्थन गर्नु धरानको भविष्यका लागि घातक हुनसक्छ ।