धरान । धरान डेको अवसरमा धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक कविता गोष्ठीमा पाँच भाषाका कविता पुरस्कृत भएका छन् ।
पब्लिक हाईस्कुलको खेल मैदानमा बुधबार सम्पन्न गोष्ठीमा नेवारी, लिम्बू, याक्खा, तामाङ र बान्तवा भाषाका कवितालाई नगद ७ हजार ५ सय रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिएको छ । जसमा नेवारीबाट भोजराज श्रेष्ठको ‘छेपारे प्रवृत्ति’, लिम्बूबाट प्रदीप मेन्याङ्बोको ‘माङ्गेना’, तामाङबाट इन्दु योञ्जनको ‘बहुभाषिक सुन्दरता’, बान्तवाबाट रमिला मुकारुङको ‘गाउँमा अचेल’ र याक्खाबाट सेम्माङ याक्खाको ‘समावेशी गीत’ कविता उत्कृष्ट पाँचमा पर्न सफल भए ।
उत्कृष्ट पाँच कविताका कविहरूलाई धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, आयोजक धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्विका सम्बाहाम्फेले प्रमाण–पत्रसहित पुरस्कार वितरण गरे । प्रतियोगितामा सहभागी भाषिक कवितालाई वाचन, शिल्प र भाव विधानका आधारमा निर्णायकत्रय कवि बम देवान, पत्रकार तथा कवि हर्ष सुब्बा, डा. महानन्द तिम्सिनाले छनोट गरेका थिए ।
गोष्ठीमा ३० वटा कविता प्राप्त भए पनि निर्णायकले १७ वटा कवितालाई छनोट गरेको थियो । छनोट भएका १७ कवितामध्ये १२ वटा भाषाका कविहरू उपस्थित थिए ।
कार्यक्रममा अप्रतियोगी कविहरूले पनि आ–आफ्ना कविता प्रस्तुत गरेका थिए । कार्यक्रमका सभाध्यक्ष प्रतिष्ठानका संयोजक सम्बाहाम्फेले धरानमा ८३ वटा भाषाका जातिहरू बस्ने भए पनि थोरै कविता प्राप्त हुनु दुःखद् भएको बताए ।
मातृभाषाका कवितालाई संरक्षण र लिखित रूपमा दस्तावेजीकरण गर्ने उद्देश्यले प्रतियोगिता गराउँदै आएको प्रतिष्ठानका प्राज्ञ सदस्य गोपाल देवानले बताए । २०७६ सालदेखि प्रतिष्ठानले बहुभाषिक कविता गोष्ठी गर्दै आएको भए पनि कोरोनाका कारण २०७७ मा गर्न नपाएको उनले बताए ।