धरान/सुनसरी वराहक्षेत्रको स्वर्णिम साहित्य समाजले साहित्यिक स्रष्टालाई सम्मानित र पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको छ । 

अक्षयकोषमा कवि तथा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारतका उपाध्यक्ष भीम विरही राईले पुरस्कारका लागि अक्षयकोष घोषणा गरेका हुन् । पाँच लाख रुपैयाँको कोशको ब्याजबाट हरेक वर्ष नेपाली साहित्यमा समर्पित स्रष्टालाई प्रदान गरिने जनाइएको छ । शनिबार एक कार्यक्रम गरी अक्षयकोषको घोषणा गरिएको हो ।

अक्षयकोषका प्रवक्ता प्रकाश दिप्साली राईले कोशमा तीन लाख रुपैयाँ जम्मा भएपछि सम्मान गरिन लागिएको बताए । उनले हालसम्म १ लाख ३० हजार रुपैयाँ सङ्कलन भइसकेका र कार्यक्रममा एक लाख ५० हजार रुपैयाँ दिने विभिन्न दाताबाट प्रतिवद्धता आएको छ । कोशका निम्ति अर्जुन श्रेष्ठ,  मुनविम एकेडेमीका राजेन्द्र निरौला, हतुवाली जेठा, पात्लेपानी कला र साहित्य प्रतिष्ठानलगायतले सहयोग गर्ने प्रतिवद्धता गरे । 

कार्यक्रमका प्रमुख अतिथि कवि भीम विरही राईको पात्लेपानी कला र साहित्य प्रतिष्ठानका संस्थापक विश्वजित राईले फेटा गुथेर शिर उठाउनी गरे । कार्यक्रममा गजलकार शारदा निरौला सारु र कवि तीर्थ विकले कविता तथा गजल सुनाए । समाजका उपाध्यक्ष सरण लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।