धर्मका ठेकेदार बनेका पण्डा पुजारी, साधुसन्त गुरुहरूले स्वर्ग (देवलोक) बाट देवीदेवतालाई पृथ्वीमा झारेर सर्वसाधारण मानिसलाई दर्शन गराउँछु भन्दै मानसिक, शारीरिक र आर्थिक ठगी गर्नु सबैभन्दा सजिलो उपाय बनेको छ ।

वैज्ञानिक कारण नखोज्ने र खोज्न नसक्ने नजान्ने सोझासिधा सर्वसाधारणहरू यस्तै नटवरलाल गुरुको फन्दामा फस्ने गरेका छन् । धर्म र ईश्वरको पसल थापेर भारतसहित विश्वका विभिन्न मुलुकमा करोडौं अनुयायी बनाएका रामरहिम, आशाराम बापु, शङ्कराचार्य जस्ता गुरुहरू हत्या, हिंसा र बलात्कार अभियोगमा यतिबेला जेलको हावा खाइरहेका छन् ।

नेपालकै वराहक्षेत्र चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पनि बलात्कार अभियोगमा ६ महिना बढी जेल बसे । आफूलाई महान् गुरु, मानिसको दुःख पीडालाई हरण गरिदिने, साक्षात् अलौकिक र दैवी शक्तिले भरिपूर्ण भएको नाटक गरेर कथित गुरुहरूले सर्वसाधारणलाई त पङ्गु बनाउने नै भए, शिक्षित, सचेत र मुलुककै शासनको बागडोर सम्हाल्ने नेता मन्त्रीहरूलाई समेत थाङ्नामा सुताउन सफल ‘नटवरलाल’ बनेका उदाहरण प्रशस्त छ ।

आधुनिक जमानाको २१ औं शताब्दीमा मानिसले वैज्ञानिक सफलता अनेक प्राप्त गरेका छन् । अन्तरिक्षमा उडान भरिरहेका छन् । हातमा स्मार्ट फोन छ । हाईपर सोनिकदेखि करोडौं प्रकाश वर्ष टाढाका ग्रहहरू देख्न सक्ने भएका छौं । तर, पनि धर्म र ईश्वरको नाममा गुरु बनेका पाखण्डीहरूले मानिसलाई आफ्नो वाक्कला प्रयोग गरी भ्रमित पार्दै भगवानको रूप देखाउने दाबी गर्न छाडेका छैनन् । 

जब मानिस अल्छे, भाग्यवादी, परनिर्भर, विवेकहीन, अन्धविश्वासी र अन्धभक्त धर्मभिरु हुनपुग्छ, तब ऊ भगवानको नाम जप्न बाध्य हुन्छ । र सबैथोक भगवानले पूरा गरिदिन्छ भन्ने भ्रममा पर्छ तर, कर्म गर्दैन ।

त्यस्ता धर्मभिरुहरूलाई लक्षित गरेर साक्षात् भगवानको दर्शन गराउने र मनोकाङ्क्षा पूरा गराउने भन्दै लाखौं रुपैयाँ शुल्क लिएर कथित महामानव पिताहरू धार्मिक आध्यात्मिक ठगी गर्न पुग्छन् । सबै मानिस एकै खाले हुँदैनन् । कोही अरूको बढी विश्वास गर्ने हुन्छन् । कोही कारण खोज्छन् । कोही केही पनि खोज्दैनन् । धर्मभिरुहरू भगवानको दर्शन पाउन त्यस्तै गुरुहरूको खोजीमा हुन्छन् ।

गुरुहरूका लागि त्यस्ता अनुयायी दुहुनो गाई बराबर हुन् । आफूलाई ‘सर्वपूज्य अनाकार, अनन्त निराकार निरन्जन, शिवज्योति महामानव पिता भनेर वराहक्षेत्रका ६३ वर्षीय टीकाप्रसाद विश्वकर्माले सप्तकोसी नदीको किनारमा रातिको समयमा स्वर्गको देउता र पहिल्यै मरेका पितृ देखाउने भन्दै कैयांैबाट लाखौं रुपैयाँ ठगी गरेको उनकै पुराना अनुयायीहरूले पर्दाफास गरिदिएपछि हङ्गामा मच्चिएको छ ।

सप्तकोसीबाट रातको समयमा देवलोकका देवता बोलाएर देखाउने, कोरोना महामारीबाट पापीहरू नष्ट गर्न आफूले निर्णय गरेको, पहिले मरिसकेका पितृहरूलाई देखाउने र बोलाउने र त्यसबापत मोटो रकम लिने गरेका कथित महामानव पिताको पोल खोलिएपछि धर्म र ईश्वरको व्यापार गर्ने कथित गुरुहरूको हैसियत पनि सार्वजनिक भएको छ । उनको पोल खोल्नेहरूको विवेक लामो समयपछि खुल्नु समाजका लागि लाभदायक भएको छ । 

सप्तकोसी किनारमा राति देवलोकको देवाता देखाउनका लागि आफू निकटका अनुयायीहरूलाई र सानासाना बालबालिका प्रयोग गरेर नाटकीय रूपमा देवलोकका देवता आएको भनेर भ्रम छर्ने अनि अनुयायीबाट दक्षिणा भेटीको नाममा लाखौं रुपैयाँ लिने विश्वकर्मामाथि थप अनुसन्धान हुनुपर्छ ।

धर्म र ईश्वरमा आस्था राख्न पाइन्छ । यो व्यक्तिगत अधिकार हो । जब कुनै पनि गुरुहरूले स्वर्ग र नर्क देखेको अनि ईश्वरको रूप देखेको र देखाएको, आफू अलौकिक शक्ति सम्पन्न भएको दाबी गर्छ भने त्यो सरासर झुटो बोलिरहेको छ भन्ने बुझ्दा हुन्छ ।

गुरुले समाज, परिवार या समग्र विश्वमा शान्तिका लागि प्रेरित गर्नुपर्नेमा आर्थिक र भौतिक लाभ लिनका लागि अनेक नाटकबाजी गर्छ भने त्यो सच्चा गुरु होइन । गुरु हुनका लागि ज्ञान प्राप्त गरेको हुनुपर्छ ।  यसर्थ ज्ञानै नभएका गुरुहरूबाट सावधान ।