कोरोना सङ्क्रमण देशैभर तीव्र गतिमा बढिरहेको छ । मङ्गलबार मात्र १० हजार २ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएकोमा बुधबार ११ हजार ३ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । केही समययता तीव्र रूपमा बढिरहेको सङ्क्रमणले कुनै पनि बेला स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने सम्भावना बढेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूले अबको एक महिनासम्म कोरोना महामारी उच्च बिन्दुमा पुग्ने र त्यसले जुनसुकै बेला समस्या निम्त्याउन सक्ने बताइरहेका छन् । अहिले कोरोना महामारी नियन्त्रणमा सक्रिय हुनुपर्ने सरकारी कर्मचारी र स्वास्थ्यकर्मीहरू नै धमाधम सङ्क्रमणको सिकार भइरहेका छन् । कोरोनाका अघिल्ला चरणमाभन्दा सङ्ख्यात्मक रूपमा सङ्क्रमितहरू ह्वात्तै बढेका छन् । अहिलेसम्म सङ्क्रमण दर तीव्र भए पनि स्वास्थ्य अवस्थामा जोखिमको दर र मृत्युदर कम देखिएकाले पनि आम नागरिकले कोरोनालाई सामान्य रुघाखोकीजस्तो मान्न थालेका छन् । तर, अहिले नै कोरोना महामारीलाई सामान्य ठानेर बेवास्ता गर्ने बेला भएको छैन । कोरोना महामारीको अघिल्लो चरणमा धेरै जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म यसको प्रभावकारी औषधि उत्पादन हुन सकेको छैन । अहिले सङ्क्रमण न्यूनीकरण गर्ने खोपहरू बनिरहेका छन्, खोप लगाउने कार्य भइरहेको छ । तर, हालसम्म उपलब्ध खोप पनि शतप्रतिशत प्रभावकारी भन्न सक्ने अवस्था छैन । जबसम्म कोरोना निर्मूल पार्न सक्ने खोप वा कुनै औषधि आउँदैन, तबसम्म यसलाई खेलाँची गर्नु उचित होइन । त्यसकारण कोरोनाको नयाँ भेरियन्टलाई बेवास्ता गर्नेभन्दा सतर्कता अपनाउनु आवश्यक छ । तर, बजारमा अहिले पनि उच्च सतर्कता देखिँंदैन ।

प्रदेश १ मा पनि कोरोना सङ्क्रमणदर दैनिक बढ्दो क्रममा छ । प्रदेश १ मा कोरोना तीव्र गतिमा फैलिने क्रममा धरानको सङ्क्रमण दर उच्च देखिन्छ । मङ्गलबार सुनसरी जिल्लाभर जम्मा २ सय ८६ जनामा सङ्क्रमण देखिएकोमा धरानमा मात्र १ सय ८७ जनामा सङ्क्रमण देखिएको थियो । यो अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर हो । बुधबार सुनसरीमा २ सय ८० जनामा सङ्क्रमण पुष्टि हुँदा धरानमा मात्र १ सय ७६ जना छन् । धरानमा यसरी तीव्र गतिमा सङ्क्रमण फैलिनुमा लापरबाही मुख्य कारण हो । देशभर कोरोनाको नयाँ लहर फैलिरहेका बेला धरान उपमहानगरपालिकाले नै स्वास्थ्य मापदण्डसमेत पालना नगरी भीडभाड जम्मा गरेर तीन दिने धरान उत्सव मनाएको थियो । उत्सवमा उपमहानगरपालिकाले नै विद्यालयका विद्यार्थीहरू र विभिन्न सङ्घ– संस्थाका सदस्यहरूलाई झाँकी र ¥यालीसहित बजार परिक्रमा गराएको थियो । त्यससँगै मेलामा न सामाजिक दूरी कायम थियो, न त कुनै स्वास्थ्य मापदण्ड । धरान उत्सव सकिएको केही दिनपछि धरान उपमहानगरपालिकाकै कर्मचारी र जनप्रतिनिधिहरूमा सङ्क्रमण देखिएको थियो । त्यसपछि धरानमा सङ्क्रमण फैलियो । उपमहानगरपालिकाले उत्सव गरेको केही समयपछि देशभर २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजनिक भयो तर, धरानमा यस्तो नियम लागू भएन । बरु धरानमा यही बेला गोधुली कप फुटबल चलिरहेको थियो । त्यहाँ पनि स्वास्थ्य मापदण्डको खासै पालना भएको देखिएन । धरानको बगरकोट र अन्य ठाउँमा रेष्टुरेन्टहरूमा कार्यक्रमहरू भइरहे, मान्छेको भीडभाड बढिरह्यो । बजारमा पनि स्वास्थ्य सतर्कता अपनाएको पाइएन । यसलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा लिएको छैन । सङ्क्रमण फैलिसकेपछि सतर्कता अपनाउनुभन्दा सुरुमै सतर्कता अपनाउन आवश्यक थियो ।

यसरी एकपछि अर्को लापरबाही गरिरहँदा धरानका सङ्क्रमणको दर तीव्र भएको सजिलै आँकलन गर्न सकिन्छ । अहिले सङ्क्रमण धरानको टोलैपिच्छे फैलिसकेको छ । तर, आम नागरिकले यसलाई अझै पनि बेवास्ता गरिरहेका छन् । सङ्क्रमण पुष्टि भएकाहरूसमेत खुल्ला हिँड्ने, स्वास्थ्य मादपण्डको पालना गर्ने गर्नाले यो अझै फैलिने निश्चित छ । कोरोनाको नयाँ भेरियन्टलाई कमजोर आँकेर जसरी लापरबाही भइरहेको छ, यसले कुनै पनि समय जटिल समस्या निम्त्याउन सक्छ । त्यसकारण अझै पनि कोरोनालाई बेवास्ता नगरौं ।