सुनसरीको बर्जु गाउँपालिका–६ मा सञ्चालन भइरहेको महोत्सव (मेला) मा भएको आगजनी र तोडफोडको घटना यतिबेला चर्चाको शिखरमा छ । कोरोनाको सङ्क्रमण बढिरहेका बेला गाउँपालिका र बर्जु विकास समितिले पुस २३ गतेदेखि माघ ४ गतेसम्म मेला सञ्चालन गर्नु नै आगजनी र तोडफोडको मुख्य कारण देखिएको छ । महोत्वसको नाममा मेला लगाउने र भारतीय कलाकार बोलाएर पैसा कमाउने मुख्य ध्याउन्न बनाउँदा सो घटना भएको कतैबाट लुक्न सकेको छैन । आयोजक पक्षलाई प्रशासनले कोरोना महामारी बढेकोले महोत्सव रोक्न आदेश दिएको थियो । तर, आयोजक पक्षले भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव ल्याउने भन्दै सर्वसाधारणसँग ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म लिएर लाखौं रुपैयाँको टिकट बिक्री गरिसकेको अवस्थामा आगजनी र तोडफोडको घटना भयो ।

कोरोना महामारी बढिरहेका बेला धुमधामले लागिरहेको मेला रोक्ने क्रममा आयोजकपक्षले बोलाएको भारतीय भोजपुरी कलाकार खेसरीलाल यादवलाई प्रहरी प्रशासनले मेलास्थलमा जान नदिएपछि टिकट काटेर आएका हजारौं सर्वसाधारण आक्रोसित हुँदै चार भारतीय स्कारपियो, एक सफारी, हजार बढी प्लाष्टिकको कुर्सी, मञ्च, साउण्ड सिस्टममा आगजनी र तोडफोड गरे । मूल कुरो घटनाको दोषी को हो भन्ने नै हो । प्रशासनले आयोजक पक्षलाई दोष देखाउँदै छानबिन गर्ने भनेको छ । आयोजकले प्रशासनको कमजोरी भनेर पन्छिन खोज्दैछ । मिहिन रूपमा विश्लेषण गर्ने हो भने पहिलो दोष कोरोना महामारीको बेला प्रशासनको मेला रोक्ने आदेशलाई अटेर गरेर मेला आयोजना गर्ने बर्जु गाउँपालिकाका जनप्रतिनिधि र बर्जु विकास सिमित नै मुख्य दोषी देखिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको बेला भीडभाड हुने मेला आयोजना आवश्यक थियो त ? झन् भीड बढाउनका लागि टिकट नै बिक्री गरेर भारतीय कलाकार ल्याउने बेला हो यो समय ? बर्जुमा यो महामारीको बीचमा पुस २३ देखि माघ ४ गतेसम्म मेला लगाउन कसले र किन प्रेरित ग¥यो ? जनताको स्वास्थ्यलाई नजरअन्दाज गर्ने जनप्रतिनिधिहरूमा कोरोना महामारीसम्बन्धी जानकारी नपुगेको हो त ? सुनसरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले पटक–पटक मेला स्थगित गर्न दिएको पत्रलाई कुन ‘ब्याकफोर्स’ को भरमा गाउँपालिका र गैरसरकारी संस्था बर्जु विकास समितिले मेला लगाउने आँट ग¥यो ? तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिको भर्र्पाइ कसले गर्ने ? यी प्रश्नका जवाफ आयोजक पक्षले दिनु पर्छ । मेला अवधिभर भएको भीडले कैयौंलाई कोरोना सङ्क्रमण भएन भन्न सकिन्न । आगजनी र तोडफोडमा प्रहरीबाट हुन सक्ने मानवीय क्षति भने धन्न भएन ।

सङ्क्रमण बढ्दै मानवीय क्षति वा मृत्यु भएमा गाउँपालिका र बर्जु विकास समितिले त्यसको क्षतिपूर्ति दिन सक्छ ? यसै त स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण गर्न नसकेर समुदायस्तरमा फैलिएको बेला मेला लगाउनु पैसा कमाउने उद्देश्यबाहेक अरू केही होइन । जनप्रनिनिधि र गैरसरकारी संस्थाले बर्जु तालको नाम भजाएर मेला लगाउँदै नोट कमाउने धुनमा यो घटना भएको हो भन्न कसैलाई रोक्दैन । प्रशासनको आदेश नमान्ने आयोजक पक्षलाई कानूनी कठघरामा उभ्याएर आगजनी र तोडफोडबाट भएको धनमालको क्षति व्यहोर्न लगाउनुको विकल्प छैन ।