अघिसम्म निवुखोलाको निरस हरक एकाएक रसमय भएर उनीहरुको कानमा सुसाउन आयो । कुइरिभीर, राँके हुँदै लब्रेकुटीतिर उडेका जोडी चखेवाहरु कुनै आख्यानको अन्तिम अध्याय झल्को दिलाउने गरी उडे । त्यति नै बेला पर मेला बजारको च्याब्रुङ ध्वनि उनीहरुको कानमा गुञ्जिन आयो– च्याम । भ्रुक, भ्रुकभ्रुक । भ्रुक । वासन्ती हावामा तैरिबसेको त्यो दिव्य ध्वनि, चखेवा हेर्दै, च्याब्रुङ सुन्दै डुक्पाले सुक्मतीको हात दह्रो गरी पक्रियो । पक्रिबस्यो ।

पालाम उसको गलामा गुञ्जिन आयो–
ए फुङ्सिङको शिर ढुङ्गो को है
यो वचन मेरो टुङ्गो को है
ए हाइ हाहाहा मा दुङ
ए हाइ हाहा मा दुङ ।


भर्खरै बजारमा आएको पूर्वेली सेक्मुरी सुगन्धले भरिएको ‘महाभारा’ उपन्यासको अन्तिम टुङ्ग्याउनी शब्द भनौं या अनुच्छेद । अर्थात् पान्थरको फिदिम नगरपालिकामा पर्ने निवु खोला किनारको यसरी बिट मारिएको छ । हाल मिक्लाजुङ गाउँपालिकामा पर्ने पान्थरको फुङ्सिङतिरकी तरूनी सुक्मतीले सोही गाउँमा बस्ने फरक जातका अर्थात् तामाङ बौद्धमार्गी डुक्पासँग ‘लप’ पर्दापर्दै माओवादी द्वन्द्वकालीन जीवनको भोगाइसँगै आएका कथ्य र तथ्य हुन् माथिका पालाम । केही अनलाइनमा हेरेँ महाभारा उपन्यास वियोगान्त भएको समीक्षा पढेँ । तर, मैले त त्यस्तो वियोगान्त नै पाइनँ । डुक्पाको मुखबाट निस्केको पालामको भाकाले नै भनिसकेको छ– ए फुङ्सिङको शिर ढुङ्गो को है, यो वचन मेरो टुङ्गो को है ।

अब अलिकति अगाडि बढौं । अन्तिमबाट सुरू गरौं । महाभारा उपन्यासको आवरणबाटै । आवरण पूर्वेली याक्थुङ लिम्बूमय छ । याक्थुङ समुदायले मुन्धुमअनुसार प्रयोग गर्ने मृत्युको बाटो छेकिदिएर जीवनको पथ डो¥याउने ‘सिलामसाक्मा’ मात्र राखेका छैनन्, कुनै लिम्बूको घर जस्तै झल्किने चित्र र महाभाराको रोडमा कुद्ने ट्रकको डालीमा सिरिजङ्गा लिपिमै उपन्यासको नाम महाभारा अङ्कित गरेका छन् । सायद फाइन प्रिन्ट कम्पनीका कर्पोरेट कार्यालयका कुनै आर्टिस्टले डिजाइन गरेका होलान् उपन्यासभित्रको कथाअनुसार । पाँचौं पेजमा उपन्यासको सार लेखिएको छ, थोरै तर त्यो पनि सिरिजङ्गा लिपिमै ।

यति भएपछि यो उपन्यास पूर्वेली लिम्बू समुदायसँग सम्बन्धित छ कि भन्ने लाग्न सक्छ । तर, मुख्य नायक भने तामाङ समुदायका छन् र मुख्य नायिका भने फुङ्सिङकी सुक्मती छिन् । फुङ्सिङ र फुङ्सिङ मेला आफैमा ऐतिहासिक मानिन्छ । अर्थात् फुङ्सिङमा लाग्ने मेलाको उमेर २ सय ५० वर्षभन्दा पुरानो मानिन्छ । पृथ्वीनारायण शाहभन्दा जेठो पनि हुनसक्छ । सहायक पात्रहरु सिक्साम्बा, मिङ्सो (मिकुसे), मेरिना, घ्याङ्सिङ, रिक्की, धिमाल, तान्छोहाङ, कटक सर, थाङ्साङ, वृजहाङजस्ता पात्रहरुदेखि वास्तविक पात्रहरु प्रचण्ड, बादल, भूविक्रम नेम्वाङ, देउमान आङ्देम्बे, बाबुराम भट्टराईले पाठकहरुलाई फन्फनी घुमाउँछन् ।

उपन्यासमा एकातिर प्रेमको तिर्सनाले सताएका डुक्पा, सुक्मती, मेरिना, तान्छोहाङजस्ता पात्रहरुले अन्तिमसम्म कौतुहलता जगाइरहन्छन् । ती पात्रहरु नै कोही माओवादी, कोही लारूम्बाका काम्राङ त कोही धार्मिक र राजनीतिक जञ्जालमा फसिरहेका भेटिन्छन् । पान्थर र इलाम आसपासका गाउँले जीवन माओवादी द्वन्द्वकालको अन्तिम ४ वर्ष कसरी बित्यो भन्ने वर्णन रोचक शैलीमा उपन्यासकार बस्नेतले प्रस्तुत गरेका छन् गाउँकै भाषामा । लिम्बुवानी गाउँ भएकाले उपन्यासमा अधिकांश ठाउँमा लिम्बू भाषा प्रयोग गरेका छन् ।

प्रेम, धर्म र राजनीतिको त्रिकोणात्मक भालेजुधाइलाई बस्नेतले अन्तिमसम्म सँगसँगै समानान्तररुपमा डो¥याउँदै अन्तिममा प्रेमकै जित हुन्छ भन्ने सन्देश दिन सफल भएका छन् । कथा यसरी बुनिएको छ कि पाठक अलमलिनुको सट्टा पात्रहरुको परिस्थितिले अब के हुन्छ  र कसरी टुङ्गिन्छ भनेर सोच्न बाध्य बनाउँछ उपन्यासले । त्यसका लागि अन्तिमसम्म पढ्नै पर्ने हुन्छ । उपन्यासमा प्रयोग भएका शब्दहरु नेपाली शब्दकोशमा छैनन् । तर, पनि बोलिचालीको भाषा भएकाले पाठकले सहजै बुभ्mछन् । तिनै संवादले पाठकलाई अन्तिमसम्म तान्छ ।

उपन्यासकार बस्नेतले पाठकलाई तान्नका लागि मुख्यगरी प्रेमको विषयमा दुइटा ‘सस्पेन्स’ लाई प्राथमिकता दिएका छन् । फुङ्सिङ मेलामा अचानक भेट भएर डुक्पातिर आकर्षित भएकी सुक्मतीबीच पलाएको प्रेमले बीचमा लिक छाड्छ । त्यसबेला बिर्तामोड चारपाने आएर ड्राइभर बनेका डुक्पा थाहै नपाई माओवादीका सहयोगी बन्न पुग्छन् । तर, सदस्य नै भने बनेका हुँदैनन् । बन्दुक बोक्नु, हिंसा गर्नु उनको वशको कुरा होइन भन्ने बुझेका डुक्पाले भेट्छ हिस्सी परेकी सुन्दरी माओवादी कम्रेड मेरिना । जो पहिले क्रिश्चियन बनेर बाइबलमा लेखेका शब्द र अक्षर नै सत्य हो, अरु सबै मिथ्या भन्ने सोचेकी हुन्छे ।

तर, एकाएक दुई जनाबीचको हातमिलाइ र अँगालो माराइले पाठकहरु सुक्मतीको अभावमा डुक्पा मेरिनातिर लहसिन्छ कि भन्नेमा पुग्छन् । उता माओवादीले घरै कब्जा गरेपछि विरक्तिएर लारूम्बातिर आएकी सुक्मतीलाई काम्राङका नेता तान्छोहाङले पनि मनपराइरहेको हुन्छ । कतै सुक्मतीलाई तान्छोहाङले पो उडाइदिन्छ कि भन्ने चिन्ता पनि हुन्छ । तर, अन्ततः पाठकले सोचेजस्तो दुर्घटना भने हुँदैन । 

उपन्यासकार बस्नेतले डुक्पालाई सुक्मतीको प्रेमलाई रोजौं कि माओवादी युद्ध रोजौं भन्नेसम्म पार्छन् । अर्थात् लामो समयसम्म दोधारमा राख्छन् । उपन्यासभरि माओवादी द्वन्द्वमा कसरी सर्वसाधारण मान्छे थाहै नपाई माओवादी विचारधारा अँगाल्न बाध्य हुन पुगे भन्ने पनि देखाएका छन् । उनको सङ्घर्षको कथा हो उपन्यास । पढ्न अल्छी गर्ने गाउँको डुक्पादेखि हिन्दी फिल्मका हिरो डेनी हुँदै माओवादी नाम थेवासम्म बन्दा उनले लामो सङ्घर्षको यात्रा तय गरेका छन् ।

पात्रहरुको उमेरको गतिसँगै पाउने अनुभव र ज्ञानले मान्छेलाई कसरी शान्त, विवेकी, एक प्रकारले दार्शनिक पनि बनाएको छ भन्ने कुरा झल्किन्छ । उपन्यासमा समयले मानिसलाई कसरी धार्मिक बनाउँछ र विवेक चल्दै गएपछि कसरी त्यो धर्मदेखि विमुख हुनपुग्छ भन्ने पनि देखाएको छ । उपन्यासले राजनीति र धर्म बेग्लाबेग्लै आदर्शमा तय भएका हुन्छन् र आम मानिसका लागि ती केही हुन् पनि र होइनन् पनि भन्ने तर्क गरेको छ ।

उपन्यासभित्र एउटा पात्र मिङ्सो अर्थात् मिकुसे छ । त्यो पात्र जान्न चाहनेले उपन्यास पूरै पढेमा लारूम्बाको किरात धर्मभित्रको यो कुन वास्तविक पात्र हो भन्ने प्रष्ट थाहा पाउनेछन् । सामान्य हलो, कोदालो, घाँस–दाउरा, मेलापातमा जीवन बिताउने गाउँलेका अगाडि परिवर्तनको नाममा भाषण गर्नेहरुले जब गाह्रो र गह्रौं शब्द उच्चारण गरेपनि नेताका लागि ‘मैले ठूलै कुरो गरेँ’ भन्ने भान पर्छ भने गाउँलेहरु ती शब्द नबुझेर हैरान हुन्छन् ।

पूर्वेली लिम्बुवानी बस्तीको कथा बुनेकाले होला उपन्यासमा सेक्मुरी फूललाई उपन्यासकार बस्नेतले राम्रै गरी प्रयोग गरेका छन्, एउटा सशक्त बिम्बको रुपमा । बिम्ब यसकारणले कि सेक्मुरी वास्तवमा याक्थुङ मुन्धुमअनुसार जीवनको प्रतिक हो । डुक्पा र सुक्मतीबीचको प्रेमको बेला होस् या अरु बेला सेक्मुरीको महत्व र उपयोगितालाई लिम्बुवानी जीवनको प्रतिक नै बनाएका छन् ।