किसानले अन्नबाली संरक्षण र उत्पादन नगरे गाउँमा होस् या सहरमा, जहाँ बसे पनि कसैले खान पाउने छैनन् । बाँच्नका लागि चाहिन्छ खाद्यान्न । खाद्यान्न सङ्कट जुनसुकै बेला पनि हुनसक्छ । आजकाल विकासे भनिएका वा ‘क्रस म्याच’ हाइब्रिड अन्नबालीको भरोसा कमै हुन्छ । उन्नत जातको अन्नबालीको बिउ प्रायः हाइब्रिड नै गरिएका हुन्छन् । हाइब्रिड गर्नुको उद्देश्य त्यो अन्नबालीको उत्पादन बढी होस् भन्ने नै हो । हाइब्रिड गरिएका धानबालीको बारेमा जति जेसुकै भने पनि रैथाने जातको धानको बिउ नै मासियो भने हाइब्रिड गर्ने कल्पना गर्न सकिन्न । धरानको पहाडी भेगमा पर्ने विष्णुपादुकाको पुजारी टोलमा रैथाने ‘भडु धान’ हाइब्रिड हुनबाट बचेको छ ।

स्थानीय किसानहरूले भडु धान संरक्षण गर्दै विगत चार दशकदेखि खेती गर्दै आएका छन् । धानबालीका धेरै जात छन् । तीमध्ये हो, भडु धान  जुन रैथाने हो । रैथाने भडु धान भनेको पहिल्यैदेखि कुनै हाइब्रिड नगरी जस्ताको त्यस्तै राखेर खेती गरिँदै आएको अन्नबालीमध्येमा पर्छ । अचेल रैथाने जातको धान जताततै लोप हुने अवस्थामा छ । रैथाने भडु धानको बिउलाई बचाएर पुजारी टोलका १० घरधुरीले करिब ७ बिघा क्षेत्रफलमा बर्सेनि रोप्दै खाद्यान्नको अभाव टार्दै आएका छन् । पछिल्लो समयमा मार्सी चामलले खुब चर्चा बटुल्यो । यो जुम्लाको रैथाने धानबाली हो । पोखराको रैथाने धान जेठो बूढो धान, कास्कीको छोन्द्रुङमा छोन्द्रुङ जातको धान पनि रैथाने नै हो । दाङमा तिल्की जातको रैथाने धानबाली पाइन्छ । डोटीको जराइलो, सप्तरीको चननचुर, डाँठभित्रै फल्ने तल्सिङ मोही, एउटै गेडामा दुइटा चामल हुने लैला मजनु, अनेदी आदि रैथाने जातका धान हुन् । रैथाने धानको भातको स्वाद, पोषण, रङ विकासे धानको भन्दा धेरै फरक हुन्छ । कतिपय रैथाने जातका धानमा पोषण तत्वमात्र नभएर औषधीय गुण पनि हुन्छन् ।

धानविज्ञहरूको भनाइलाई मान्ने हो भने नेपालमा तीन हजारभन्दा बढी रैथाने जातका धान पाइएका छन् । फिलिपिन्समा रहेको अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्थामा विश्वका १ लाख ४० हजार प्रकारका धानका जिन (बिउ) सुरक्षित गरेर राखिएको छ । तीमध्ये १ लाख १७ हजार जात रैथाने रहेको बताइएको छ । तिनै संस्थामा नेपालका ३ हजार रैथाने धानका बिउ पनि राखिएको विज्ञहरूले बताएका छन् । तर, उक्त संस्थामा नेपालको विष्णुपादुका क्षेत्रमा पाइने भडु जातको रैथाने धानको बिउ राखिएको छ–छैन, त्यो खोजी र अनुसन्धानको विषय हो । धानबाली विज्ञहरूका अनुसार नेपालमा गरिने करिब १५ हजार हेक्टर जमिनमा ४ प्रतिशतमात्र रैथाने जातको धानखेती गरिन्छ । बाँकी उन्नत जातका धान खेती हुँदै आएको छ । रैथाने जातका धानको प्रमुख विशेषतामध्ये कि बढी गर्मी सहनु कि चिसो सहनु हो । कि बढी पानी सहनु कि कम पानीमा पनि फल्नु अर्को विशेषता हो । तर, उन्नत जातको धानले न चिसो सहन्छ, न गर्मी नै । पानीको सवालमा पनि न धेरै पानी, न कम । तापक्रम र पानीको तालमेल मिलेन भने उत्पादनमा ह्रास आउँछ । बढी पानी प¥यो भने वा अति खडेरी भयो भने पनि उन्नत जातका धानका बिउ सबै मासिन सक्ने तर, रैथाने जातका बिउले भने अति पानी वा अति खडेरी पनि सहने भएकाले भविष्यमा तिनै रैथाने जातका धानले मात्र खाद्य सुरक्षा दिन सक्छ । यसर्थ पनि रैथाने भडु धानको संरक्षण आवश्यक छ । हुन त धरान उपमहानरपालिकाले संरक्षणमा चासो देखाएको दाबी गरेको छ । तर, लक्षित वर्गले जो रैथाने भडु धानखेती गरिरहेका छन्, उनीहरूलाई भने उपमहानगरपालिकाले देखाएको चासो बारे जानकारीमा नआएकाले रैथाने भडु धानको नाममा अरूले नै बजेट कुम्ल्याउँदै त छैनन् भन्ने शङ्का उब्जिएको छ । यसबारे उपमहानगरपालिकाले अलि गम्भीर भएर इटहरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र धानबाली विज्ञसँग समन्वय गरेर भडु धानको संरक्षण गर्दै खेती गर्न किसानहरूलाई प्रेरित गर्नु जरुरी देखिएको छ ।