३ पुस २०७८ मा अचानक पदयात्राको अवसर मिल्यो । सेवक अभियानको साप्ताहिक पदयात्राकै शृङ्खला थियो । धनकुटाको छिन्ताङसम्म पुगेर पुनः धरान फकिर्ने । एक दिनको यात्रा । यात्राले एक फेरो लगाउँदै थियो अर्थात् धरानबाट हिँडेको टोली पुनः धरान आइपुगेर टुङ्गिँदै थियो । यात्रासँगै पवित्र उद्देश्य पनि थियो । उद्देश्य चाहिँ धनकुटाको उत्तरपानेस्थित एक बौद्धिक अपाङ्ग रहेका विद्यार्थीहरूलाई स्वेटर र टोपी बाँड्ने ।
सेवकका हरेक पदयात्राहरु कुनै न कुनै उद्देश्य हुने गरेका छन् । हुनत पदयात्रा पनि आफैमा उद्देश्य हुँदै हो । सहरका मान्छेहरु ‘ब्रोइलर’ भए । बस्ने, खाने मात्रै हुँदा शारीरिक रुपमा मोटो देखिए पनि रोगबाट आक्रान्त हुने सहरको एउटा नित्य जस्तै बनेको छ । सहर धेरै मोटाउन थालेको छ । यहाँको मोटाइको घनत्व यसरी बढेको छ कि चाँडै नै हामी कुनै न कुनै रोगबाट शिकार हुने निश्चित छ । यस्तो घनत्वलाई कम गर्ने उद्देश्यले नै सेवकले धरानमा पदयात्राको प्रारम्भ गरेको थियो र अहिले पनि जारी छ । यसपटकको पदयात्रामा आफूलाई जोड्न पाएको थिएँ । पहिलोपटक लामो पदयात्रामा हिँडिदै थियो । हिँडाइ जीवनको भोगाइ हो । यस्ता भोगाइहरुको सुरूवात जन्मबाटै प्रारम्भ भएको थियो । मोरङको गाउँमा जन्मिएर हुर्किएको मैले ‘पद’ भन्ने शब्दको शाब्दिक ज्ञान धरान आएरै थाहा पाएको हुँ । जीवनका प्रारम्भदेखि ‘पद’ सँग मेरो निकटता छ । यो निकटता अहिले पनि टुटेको छैन । स्कुल जाँदा होस् या कुनै काम विशेषले कहीँ जाँदा पनि हिँड्नु नै पथ्र्यो । अर्को उपाय थिएन । अहिले विकल्पहरु धेरै छन् ।
हिँड्नु जीवनको सिकाइ पनि हो । अनुभूति पनि हो । यस्ता अनुभूतिहरु सँगालेर नै आजको दिनमा आइपुगियो । ती हिँडाइका पदचापहरु अहिले पनि मेटिएका छैनन् मेरा गाउँमा । ती डोबहरु र पैतलाका पदचापहरुमा अझै माटोका कणहरु मिसिएका छन् । धुलोहरु मिसिएका छन् । ती पैतलाहरुमा अहिले पनि मेरा गाउँका सुगन्धहरु आउँछन् । त्यस्ता सुगन्धित माटो सहरमा कहाँ छ । सहरमा अझै मेरा डोबहरु बस्न सकेका छैनन् । यहाँ त हरेक दिन पाइला मेटिन्छ । यहाँका चिल्ला सडकले हिँडेका पदचापलाई पनि एकैक्षणमा मेटिदिन्छ । यो सहर हो । सहर जहिल्यै पनि शक्तिको पूजा गर्छ । शक्तिलाई चिन्छ । शक्तिसँग उसको तालुकात हुन्छ । त्यस्तो शक्ति बनाउने हिम्मत अहिलेसम्म मेरा पैतलाले गर्न सकेनन् । यहाँ त हरेक दिन पाइला मेटिइरहेका छन् । सहरसँग निकटता हुने अभ्यास चलिरहेको छ । पौंठेजोरी खेलिरहेको छु ।
पुस ३, प्रातकालीन समय । सूर्यले आफ्ना पखेटा पृथ्वीमा फैलाइसकेका थिएनन् । अँध्यारोका अगाडि रविको पनि कुनै जोर चलेकै थिएन । एउटा यात्री धरान–१५ को एभरेष्ट लाइनस्थित सङ्गमचोकबाट निस्कने क्रममा थियो । पाइतालाहरु एकपछि अर्को गर्दै अगाडि बढ्न थालेका थिए । बीच–बीचमा कुकुरहरुको आवाजहरुले ती पाइतालाहरुलाई पछ्याउन खोज्थ्यो । धरान–१ सिंहदेवी चोकसम्म पुग्नुपर्ने हतारोसँगै पछाडिका पाइतालाका डोबहरु मेटिँदै जान्थे । सिंहदेवी चोकसम्म पुग्दा एवम् क्रमको क्रिया चलिरह्यो । त्यहाँ एउटा भीड जम्मा भइसकेको थियो । हामीलाई चतरासम्म छाड्नका लागि गाडी पनि तयारी अवस्थामा थियो । भरिने क्रम तबसम्म रोकिएन, जबसम्म सेवक अभियानले बोलाएका सम्पूर्ण मान्छेहरु भेला भएनन् ।
निर्धारित समय ५ भनिए पनि साढे ५ बजिसक्दा पनि यात्राले प्रारम्भ गरेको थिएन । समय । ख्याल नगरेकै कारण आज हामी यहाँ छौं । हामी सम्पूर्ण नेपाली नै अन्य देशका तुलनामा पछाडि छौं । समयको ख्याल नगर्ने हाम्रो संस्कार बसिसकेको छ । मानौं, हामी समयलाई रोकिदिन सक्छौं । मानौं हामी समयलाई पछाडि पछाडि आऊ भनिदिन सक्छौं । त्यस्तो ल्याकत राख्ने हामी वीर नेपालीहरुको संस्कार अब त प्रवृत्तिमा उत्परिर्वत हुँदै छ । त्यस्तो प्रवृत्ति जसका कारणले हामी कुनै दिन दुर्घटनामा पर्ने निश्चित छ । सेवक अभियानका अध्यक्ष राजीव हलुवाईले ठीक ५ बजे भनेको मेरो कानमा गुञ्जिरहेको थियो । त्यो ठीक ५ बजे भनेको कुन समय हो भन्ने खुट्याउन त्यहाँ पुगेपछि हम्मे नै परेको थियो । ६ बजेको आसपास मात्रै हाम्रो गाडी करिब ४९ जनाको डफ्फा बोकेर हुँइकियो चतरातिर ।
चतरा पुग्दा करिब ७ बजेको थियो । त्यहाँबाट हामी धनकुटाको दक्षिण–पश्चिमी क्षेत्र सिम्ले भन्ने स्थानसम्म बोट चढेर जानुपर्ने थियो । बोटका धनी थिए विमलमान श्रेष्ठ । कुनै समय उनी पेशाले पत्रकार पनि थिए । तर, अहिले व्यापार व्यवसायमा होमिएका छन् । तर, बेला–बेला भन्थेँ म नेपाल पत्रकार महासङ्घको साधारण सदस्य हुँ । अहिले पनि उनको नाम महासङ्घ सुनसरीको पानामा पहिलो नम्बरमा नै छ । बोट चढ्ने छेउमा रहेको होटलमा अधिकांश चिया नास्तामा व्यस्त हुन्छन् केही समय । बोटमा केही खराबी आएकाले हामी पछिल्लो बोटमा जाने निधो भएको छ । केही अगाडिको बोटमा गएका छन् । करिब १५ देखि २० मिनेटको दूरीमा पुग्न सकिने सिम्ले हिँडेर जाने हो भने आधा दिन बित्छ । केही चाहिँ गाडीमै मन्दिरको छेउबाट जाने भएका छन् ।
हाम्रो टोलीमा पनि करिब १० देखि १२ जना छौं । बोटमा पहिलोपटक अनुभव गर्ने मौका मिलेको छ । चिसो मौसम त्यहीमाथि कोसीको पानीको चिसोपना झण्डै झण्डै ज्याकेटले नधान्ला जस्तो अवस्था छ । निलो पानीको रङ्गसँगै हुँइकिएको बोटसँगै मेरा मानसपटल पनि हुँकिएको छ चारैतिर । आँखाहरु पनि घरि यता घरि उताको दृश्य हेर्नमा आतुर छ । कोसी नदी मात्रै होइन, यो सभ्यता पनि हो । सभ्यता यस मानेमा कि हरेक बस्ती तथा जीवनशैलीहरु नदीको किनारबाट सुरू भएका छन् । अझ कोसी नदी त धेरैका लागि आजीविकाको माध्यम बनेको छ ।
कोसी नदीमा हेलिँदै बाँसका बिटाहरु चतरातर्फ आइपुग्छन् । ती बाँसका बिटाहरु कसैको जीवनको पैय्या पनि हुन् । यदि यस्ता बिटाहरु बगेनन् भने जीवनका पैय्याहरु पनि सहज रुपमा बग्दैनन् । यस्ता दृश्यहरुलाई आलिङ्गन गर्दै बग्दै छ उत्तरतर्फ हाम्रो बोट । कहिलेकाहीँ पानीको सतह कम भएको ठाउँमा पुगेर ठोक्किँदै उकालिन्छ । सिम्ले पुग्दा करिब ९ बजिसकेको छ । जब कि समयअनुसार हो भने हामी ढिला भइसकेका छौं । त्यहाँबाट करिब २ घण्टा पदयात्रा गर्ने हाम्रो योजना छ । योजनाअनुसार सिम्लेमा पुगेपछि हामीलाई त्यहाँका जनप्रतिनिधिले स्वागत गरे । स्वागतपश्चात् यात्रामा बाटो देखाउने एकजना सहयोगी छन् । ती सहयोगीसँग हाम्रो पदयात्रा प्रारम्भ हुन्छ ।
एक हुल महिलाहरुको ताँती अगाडि बढ्छ । त्यही ताँतीमा मेरा पाइलाहरु पनि मिसिन्छन् । केही उकालो बाटो नापेपछि भने महिलाहरु पछाडि छाडिन सुरू हुन्छ । पछाडिको ताँती हेर्दै अगाडि बढेका केही पुरूषहरुको हुल पनि विस्तारै नाके डाँडो चढ्दा पातलिँदै जान्छ । त्यही नाके डाँडोबाट दुईतिर हेर्दा अरूण र तमोर एकोहोरो बगेको देखिन्छ । अरूण र तमोर सुसाउँदै बगेको दृश्य आँखाले भ्याउन्जेल हेरेँ ।
अरूणै तरेँ, तमोरै तरेँ ....गीतको स्मरण ताजा बनेर आउँछ । नजिकै रहेका सेवक अभियानका हरेन्द्र चेम्जोङले त्यहाँका केही किस्साहरुलाई मिथकीय शैलीमा सुनाउँदा हामी चढेर आएको बोटले धेरैको रोजगार खोसेको प्रतीत हुन्छ । ओखुवाटार बोट चल्नुभन्दा अगाडिसम्म गुलजार थियो रे । बोट चलेपछि बस्ती खण्डहरमा परिणत भएको उनले सुनाए । जहाँ धरानदेखि ओखुवाटारसम्मका लागि साना जिप्सीहरु चल्थे । जिप्सीहरु त्यहीँ आएर विश्राम गर्थे । त्यो ठाउँ ले हेर्दाहेर्दै सानो सानो बजारको रुप धारण गरेको थियो । होटल तथा सागसब्जी, किराना पसलहरुले भरिएका थिए ।
तर, बोट चलेपछि भने त्यसको रुप फेरियो । अहिले भएका घरहरु पनि बसाइँ सरे । अहिले एकादुई घरहरु मात्र छन् । ती होटल तथा किराना पसलहरु पनि बसाइँ सरे । हेर्दाहेर्दै शून्यमा परिणत भयो । यस्तो चिन्ताजनक अवस्थाबारे हरेन्द्र दाइको मुखबाट सुन्दा बोट आउनु ठीक रहेनछ भन्ने कताकता मनमा लाग्यो । तर, पनि यो हुनु नै थियो । बजार एक ठाउँबाट अर्को ठाउँमा सरिरहन्छ । यो प्रकृतिको नियम नै हो । कुनै बेला धरानले पूर्वको पहाडी जिल्लालाई नुनदेखि सुनसम्म दिन्थ्यो । अहिले स्थिति फरक छ । धरान अहिले मान्छेहरुको भीड मात्रै भएको छ । यहाँका विकास पनि पहाडी जिल्लाले नै नुन जसरी नै लगिसके । अहिले पहाडी लोकमार्गको चर्चाले पहाड गुल्जार बन्दै गएको छ । धरान महँगो सहरको रुपमा परिचित छ ।
ओखुवाटारको त्यो दुर्दशा हरेन्द्र दाइबाट सुन्दै उकालियौं । पदयात्रामा जोडिएका धरानका व्यवसायी अशोक ताम्राकारका विदेश भ्रमणका किस्साहरुले हिँडाइको थकानलाई मेट्थ्यो ।
सहिद गाउँपालिकाको २ नम्बर वडा पर्ने उक्त क्षेत्र निकै विकट थियो । भर्खर भर्खर खनेका बाटाहरु पनि सवारी साधन हिँड्नका लागि सहज थिएनन् । अझ कतिपय ठाउँमा बाटोकै कारण पहिरो गएको थियो । विकासको नाममा जथाभावी डोजर लगाएको दृश्य हेर्नका लागि त्यहाँ गए काफी हुन्थ्यो । कतिपय बस्ती नै जोखिममा थिए । त्यही पनि त्यहाँका स्थानीय भने बाटो बनेकोमा खुसी थिए । गाडी आउने स्थानसम्म पुग्दा करिब १० बजेको हुँदो हो ।
तर, गाडी नआएका कारणले हरेन्द्र दाइ र मचाहिँ हिँडिरह्यौँ । हाम्रो गन्तव्य थियो छिन्ताङको मन्दिरसम्म पुग्ने । गाडी नआएकाले पनि हिँडाइ लम्बिनै रह्यो । जसमा अशोक दाइ पनि मन्दिरसम्म नै हिँडेर पुग्नुभएको थियो । उमेरले करिब ६८ टेकेका उनको हिँडाइलाई देखेर सबै चकित भएका थिए । पदयात्राका लागि हिँडेका हामीले भने भरपूर पदयात्राको अनुभूति गर्ने मौका पाएका थियौं । छिन्ताङ मन्दिरसम्म पुग्नु चानचुने कुरा थिएन । बाटोमा भेटिएकाहरुले भन्थे, ‘४ घण्टा लाग्छ, ५ घण्टा लाग्छ ।’
उनीहरुका कुरालाई आत्मसात गर्दै हिँडाइलाई भने निरन्तरता नै दियौं । समय घर्किसकेकाले भोक पनि निकै नै लागेको अनुभूति हुँदै थियो । बाटामा स–साना दोकानहरु भेटिए । त्यहाँ चाउचाउ र पानी किनेर खाँदै अगाडि बढ्यौं । निकै लामो यात्रा गरेका कारणले होला हामी थकित पनि बन्दै गएका थियौं । हाम्रा खुट्टाहरु जुन रफ्तारमा हिँड्नु पर्ने हो, त्योअनुरुप हिँड्न सकिरहेको थिएनन् । तैपनि हिम्मत हारेनौं किनकि गाडी आइहालेमा त्यहीँ गाडीमा चढौंला भनेर मन्द मन्द तालमा हिँड्न भने छाडेनौं । हामीलाई पछ्याउँदै अशोक दाइ र उनका सहयोगी पनि आइपुगे । चाउचाउले पनि नधान्ने स्थिति सिर्जना भएपछि भने हामीले सुन्तला किनेर खायौं । दुई सय रुपैयाँको सुन्तला करिब ५ केजीभन्दा बढी दिए । त्यहाँबाट केही किलोमिटरको दूरीमा मात्रै पथ्र्यो छिन्ताङ मन्दिर । त्यही मन्दिरसम्म हिँड्ने हाम्रो योजना थियो । किनकि त्यस समयसम्म गाडी आएको थिएन ।
गाडी पदचापभन्दा पनि ढिलो थियो । हामीले सोचेभन्दा निकै ढिला गरी गाडी साथीहरु भएका स्थानतिर रवाना भएपछि भने हामी छिन्ताङ मन्दिर पुगेर मन्दिरको दर्शन गरी फर्किएको केही समयपश्चात् मात्रै गाडी आइपुग्यो । गाडीमा कोचाकोच गरी हामी खाना खाने गन्तव्य आँखीसल्लाका लागि हिँड्यौं । आँखीसल्ला पुग्दा करिब ३ बजेको थियो । आँखीसल्ला बजारमै खानाका लागि प्रबन्ध गरिएको थियो । गाउँपालिकाका अध्यक्ष मनोज राईले सेवक अभियानमा सहभागी भएकाहरुलाई खाना खुवाउने प्रतिबद्धता गरेका थिए ।
सोहीअनुरुप आँखीसल्लामा तीनवटा होटलमा बाँडिएर हामीले खाना खायौं । त्यहाँबाट धनकुटा नगरपालिका–१० उत्तरपानीस्थित बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु पढ्ने स्कुलमा पुगेर स्वेटरहरु वितरण गर्दा साँझले स्वागत गरिसकेको थियो । जमिनमा सूर्यको लालिमा छरिएका थिए । तर, त्यो लामो समय टिकेन । हामी गाडी चढेर धनकुटाको हिले पुग्दा भने जमिनमा चुक घोप्टिसकेको थियो । विद्युत्को सहायताले मात्रै हिलेलाई चिन्न सकिन्थ्यो । हिलेमा केही क्षण आन्तरिक पर्यटक बनिदिँदा समय घर्केको याद नै भएन । त्यहाँबाट हिँड्दा सवा सात बजिसकेको थियो । पदयात्राबाट सुरू भएको यात्रा धरान आइपुग्दा शरीरका अङ्गहरु नराम्ररी हल्लिसकेका थिए ।