मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा फरक–फरक दिनमा एउटै प्रकृतिको खाल्डोमा शव भेटिएपछि प्रहरीको जिम्मेवारी एकाएक बढेको छ । यो घटनामा दुई फरक–फरक प्रकृतिको व्यवसाय गर्नेहरू मारिएका छन् । मारिएकामध्ये धरान घर भई भक्तपुर बस्ने राजेन्द्रकुमार श्रेष्ठ जग्गा कारोबारी हुन् भने सप्तरी घर भई काठमाडौँ बस्दै आएका शम्भुकुमार चौधरी निर्माण व्यवसायी हुन् । फरक–फरक व्यवसाय भए पनि उनीहरूबीच चिनजान भएको प्रहरीको हालसम्मको प्रारम्भिक अनुसन्धानको नतिजाले देखाएको छ । उनीहरू फरक–फरक व्यवसायमा भए पनि पूर्व आउँदा एकैदिन आएको देखिन्छ र सम्पर्कविहीन पनि एकैदिन भएको प्रहरीको हालसम्मको अनुसन्धानले देखाएको छ । उनीहरूको शव फेला पार्दा र खाल्डोको प्रकृतिलगायत हेर्दा यो घटना क्रुर अपराधको दृष्टान्त बनेको छ । शवलाई चाँडै कुहाउनका लागि प्रयोग गरिएको नुनलगायतका सामग्री हेर्दा पेशेवर अपराधी रहेको प्रष्टिन्छ । यस्ता आपराधिक घटनामा प्रहरीका लागि पनि चुनौती बन्ने निश्चित छ । लामो समय अनुसन्धान गरेपछि मात्रै समाधानतर्फ उन्मुख हुने निश्चित छ । किनकि अपराधी जतिसुकै चलाख भए पनि उसले गरेको अपराध छुप्दैन ।
यो अपराधको प्रकृति हेर्दा हामी कस्तो समाजबाट हुर्किदै छौं भन्ने प्रश्न बारम्बार उठ्न थालेको छ । राजेन्द्र र शम्भुकुमारको घटना मात्रै हैन, समाजमा थुप्रै खालका अपराधहरू निकै क्रुर र आततायी खालका छन् । किन मान्छे यो हदसम्म पुग्दै छ ? हामीले कस्तो समाजको परिकल्पना गरेका थियौँ ? तर, कस्तो समाज निर्माण भइरहेको छ ? पक्कै पनि अब एक कदम अगाडिबाट सोच्नुपर्ने बेला आएको छ । दिन प्रतिदिन हाम्रो समाजको परिदृश्यहरू, यसका आयामहरू, नैतिक मूल्य मान्यताहरू धुलिसात हुँदै छन् । मानिस नरभक्षी बन्दै गएको छ । यस्तो परिदृश्य निर्माण हुनुमा हाम्रै भूमिका छ या त कसैले यसमा खेलिरहेको छ । अब अपराधलाई बहुआयामिक कोणबाट हेर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । एकले अर्कालाई विश्वास गर्ने वातावरण भङ्ग हुँदै गएको छ । साथीले साथीलाई विश्वास गर्ने अवस्था गुम्दै गएको छ । यो हुनु समाज विशृङ्खलित हुनुको उदाहरण हो । जसरी हाम्रो सामूहिक परिवारहरू एकल परिवारमा गएर टुक्रिँदै छन्, त्यसरी नै एकले अर्कोलाई विश्वास गर्ने वातावरण गुम्दै गएको छ । को कतिखेर, कुन बेला मारिने हो वा केही हुने हो अनिश्चित बन्दै गएको छ । एउटा परिवारको कुनै सदस्य घरबाट बाहिर निस्किरहँदा ऊ भरे फर्केर घर आउँछ कि आउँदैन भनेर कयौँ पटक सोच्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । यो किन भइरहेको छ भनेर समाजको चिन्तन, मनन् गर्ने बेला भइसकेको छ । अब पनि हामीले हाम्रो समाजलाई बुझ्न ढिलाइ गर्दै गयौं भने हामी धेरै ढिला हुनेछौं ।
राजेन्द्र र शम्भुकुमारको घटनाको गुत्थी कुनै न कुनै समय सुल्झेला । यो घटनामा प्रहरी चनाखो भएर लागिरहेको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले निश्चित अवधिभित्र यो घटना सार्वजनिक गर्ने नै छन् भन्ने हामीलाई विश्वास छ । तर, नेपालीमा एउटा उखान छ, ‘रात रहे अग्राख पलाउँछ’ त्यो अवस्था सिर्जना हुन नदिन पक्कै पनि प्रहरी अधिकारीहरू चनाखो हुनेछन् । समाजमा भएका सबै घटना समाधान नभएका उदाहरणहरू पनि प्रशस्त छन्, त्यसकारण यस घटनामा पनि त्यो अवस्था त आउने हैन भन्ने परिवारका सदस्यलाई लाग्न सक्छ । परिवारका सदस्यलाई मनमा लाग्ने यस्ता विषयलाई निराकरण पनि प्रहरीले गर्नुपर्छ । त्यसमा नेपाल प्रहरी चुक्ने छैन भन्ने हामीलाई पूर्ण विश्वास छ । तर, अपराधका प्रकृतिहरू जसरी बदलिरहेका छन्, यस विषयमा भने अब हरेक नागरिकहरू सचेत हुन आवश्यक छ । गतिशील समाजलाई बुझ्न अब नागरिकले समाजको अध्ययन गर्न आवश्यक छ । अपराधीको मनोविज्ञान बुझ्न आवश्यक छ । हरेक दिन सतर्क हुन आवश्यक छ । कुनै न कुनै घटनाको सङ्केत पाउने बित्तिकै प्रहरी तथा आफूलाई भरपर्दो लाग्ने मान्छेलाई आफ्नो विषयमा भन्नुपर्छ । अपराध नियन्त्रणमा प्रहरीको जति भूमिका हुन्छ, नागरिकको पनि त्यति नै भूमिका हुन्छ । प्रहरीभन्दा एक कदम अगाडि नागरिक नै हुन्छन् । नागरिकले आफ्नो कर्तव्यलाई ठीकसँग बुझ्ने हो भने धेरै अपराधहरू न्यूनीकरण भएर जानेछन् । त्यसतर्फ सबैको ध्यान जाओस् ।