जङ्गली जनावरले जनधनको क्षति, मानवीय क्षति गर्दैपिच्छे मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय र कोसीटप्पु वन्यजन्तु आरक्षबीच तनावमात्र हुने गरेको थियो । मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरूले जहिले पनि आरक्षले स्थानीय समुदायसँग समन्वय गरेन भन्ने आरोप लगाइरहेका हुन्थे । आरक्षले पनि उनीहरूको मागलाई बेवास्ता गरेको थियो । तर, पछिल्लो समयमा आरक्षले स्थानीय समुदायसँग समन्वय गरेर सँगसँंगै अगाडि बढ्ने नीति बनाएको देखिएको छ । यसैसातामात्र आरक्षले वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दालाई जोगाउन र आरक्षित वन्यजन्तुलाई आरक्षभित्रै संरक्षण गर्न १० किलोमिटर लामो आधुनिक प्रविधियुक्त अफसेट सोलार फेन्सिङ लगाउन स्थानीय समुदाय र जनप्रतिनिधिसँग समन्वय गरेको छ । आरक्ष र स्थानीय समुदायबीच समन्वय भएको यो समाचार सुखद् मान्नु पर्छ । आरक्षबाट निस्कने जङ्गली हात्तीले मध्यवर्ती क्षेत्रमा हालसम्म करोडौं रुपैयाँको जनधनको क्षति पु¥याउँदै आएको थियो । सोलार फेन्सिङ लगाइए पनि कामै नलाग्ने अवस्थाका भएकाले आरक्षबाट वन्यजन्तु निस्केर बस्तीमा प्रवेश गरी बितण्डा मचाउने गरेको छ । सबैभन्दा बढी तनाव त आरक्षमा रहेको मकुना भाले हात्ती एक्लैले २३ जनाबढीको ज्यान लिएपछि स्थानीय बासिन्दा र आरक्षबीच जुहारी नै चलेको थियो । जङ्गली जनावरलाई आरक्षभित्रै व्यवस्थापन गर्न नसक्दा कहिले अर्ना, कहिले बँदेल त कहिले हात्तीले उपद्रो मच्चाउने गरेको छ । जङ्गली जनावरको उपद्रो नियन्त्रण गर्ने जिम्मेवारी र दायित्व आरक्षको हो । आरक्षमा जङ्गली हात्तीमात्र नभएर लोपोन्मुख अर्ना र पृथ्वीको उत्तरी गोलाद्र्धमा पर्ने साइवेरियाका चराहरूको पनि विचरणस्थल बनेकाले सिमसार क्षेत्र भनेर विश्वकै सूचीमा परेको छ । आरक्ष क्षेत्र आफैमा जैविक विविधताले भरिएको छ । अन्तर्राष्ट्रिय महŒवको सिमसार क्षेत्रलाई इरानको रामसार सहरमा सन् १९७१ मा भएको वैज्ञानिक सम्मेलनमा सूचीकृत गरिएको हो ।

कोसीटप्पु विश्वकै ध्यानाकर्षण गर्नसक्ने उत्कृष्ट पर्यटकीय क्षेत्र हो । तर, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र जनप्रतिनिधिहरूसँग आरक्षले समन्वय नगर्दा प्रायः विवाद हुने गरे पनि पछिल्लो समयमा एकापसमा समन्वय गरेर करिब ७५ लाख रुपैयाँ लागतमा फेन्सिङ गर्ने काम सुरु भएपछि आरक्षलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको छ । आरक्षका लागि यो सकारात्मक पक्ष हो । वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउँदै मानवीय र धनमालको क्षति कमभन्दा कम गर्न आरक्षको यो कदमलाई सही मान्नुपर्छ । आरक्षलाई सुन्दर आकर्षक पर्यटकीयस्थल बनाउने काम आरक्ष एक्लैलेमात्र सक्दैन । उसले स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायको साथ पाउनै पर्छ । साथ पाउनका लागि समन्वयको जरुरी हुन्छ र त्यो काम आरक्षका वार्डेन रामचन्द्र खतिवडाले सुरु गरेकाले उनलाई धन्यवाद दिनै पर्छ । आरक्षलाई ‘अर्नाको राजधानी, चराहरूको स्वर्ग’ भनिसकेपछि अब फेन्सिङको कामसंँगै स्थानीय समुदायसँग थप सम्बन्ध र समन्वय बढाएर स्वदेश तथा विदेशबाट आउने पर्यटकहरूका लागि घुमफिर गर्ने, अवलोकन गर्ने, रमाइलो गर्ने गन्तव्यस्थलको रूपमा विकास गर्नु जरुरी छ । कम्तिमा आरक्षमा आइसकेपछि एकदिन एकरात अडिन सकुन् पर्यटकहरू ।

प्राकृतिक सौन्दर्य भएर मात्र हुँदैन, त्यो सौन्दर्य हेर्न आउनेहरूलाई त्यही प्रकृतिकै आसपासमा कम्तिमा एकरात रोकेर राख्ने सक्ने गुणस्तरीय खाने र बस्ने सुविधा पनि दिन सक्नु पर्छ पर्यटन व्यवसायीले । त्यसका लागि कोसीटप्पु वन्यजन्तु आरक्षले पहलकदमी गरोस् । तब आरक्ष आसपास बस्ने स्थानीय समुदायको आर्थिक जीवन स्तर पनि उकासिन्छ र समुदायलाई पनि यो आरक्ष हाम्रो हो, यसलाई संरक्षण गर्नु हाम्रो पनि जिम्मेवारी र दायित्व हो भन्ने बोध गराउन जरुरी छ । नत्र, सुन्दर आरक्ष भएको र नभएको कुनै अर्थ हुँदैन स्थानीय बासिन्दाका लागि । सधैँ तनावको स्थितिमात्र रहन्छ । फेन्सिङ लगाउने कामबाट सुरु भएको आरक्ष, जनप्रतिनिधि र स्थानीय समुदायको सम्बन्धले पर्यटकको आवागमन बढ्न मद्दत गर्नेछ । पर्यटक बढेमा आरक्षमा चहल–पहल बढ्छ र त्यसबाट आर्थिक गतिविधि पनि बढ्छ ।