इटहरीको मुख्य चोकमा पैदल यात्रुहरूको यात्रा जोखिमपूर्ण हुँदै गएको छ । अहिले अधिकांश समय ट्राफिक जाम सुरु भएको छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ कै केन्द्रविन्दु इटहरीमा आकाशे पुल बनाउने अन्तिम तयारी भएको नमुना पुलसमेत उपमहानगरपालिकाले सार्वजनिक गरेको वर्षौं भयो तर, पुल बनेन ।
इटहरीको मुख्य चोकमा सर्वसाधारण पैदल यात्रुहरूको लागि बाटो काट्न समस्या हुन थालेको भन्दै आकाशे पुल निर्माण गर्ने तयारी तयारीमै सीमित हुन पुग्यो । इटहरीको मुख्य चोकमा आकाशे पुल बनाउन इटहरी उपमहानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयारी गरेको थियो । तर, पुल बनेको छैन र बन्ने तरखरमा पनि छैन ।
सुनसरी क्षेत्र नम्बर २ को ‘क’ बाट उम्मेदवार रहेका एमाले उम्मेदवार सर्वध्वज साँवाले चुनावी भाषणको क्रममा तरहरामा गरेको एउटा भाषण अहिले पनि सामाजिक सञ्जालमा चर्चामा छ । त्यतिबेला बनेको आहा १ इटहरीको भिडियो अहिले विशेषगरी प्रतिपक्ष दलका नेता तथा कार्यकर्ताहरूले खिल्ली गरेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।
साँवाको त्यो भाषण हाँसोको विषय बन्दै आएको छ । सपना देख्नु आफैमा नराम्रो हैन, तर कतिपय नेताको भाषणमा खिल्ली उडाइरहेको पाइन्छ । सर्वध्वजले चुनावी भाषणमा भनेका थिए, ‘इटहरीलाई के बनाउन चाहन्छौं ? भन्दा आहा १ इटहरी बनाउन चाहन्छौं । कसरी त ? हामी इटहरीको चारैतिर आकाशे पुल बनाउनेछौं र यसलाई हामी युवायुवतीको डेटिङस्थल बनाउनेछौं । अहिले हामी गोर्खा डिपार्टमेन्टअगाडि आइज न भन्छौँ । अब आकाशे पुलमा आइज भन्छौं, त्यहाँ सेल्फी खिच्छौं, फोटो खिच्छौं । आहा १ इटहरी भयो कि भएन ? यही भाषण अहिले हाँसोको विषयवस्तु भइरहेको छ ।
इटहरीलाई हरितनगरी बनाउने र बाहिरबाट आउनेहरू जङ्गलमा पसेँ कि सहरमा पसेँ भनेर कन्फ्युज हुनेछन् । उनले भनेका थिए, ‘त्यतिमात्र हैन, जङ्गलदेखि सबै ठाउँमा फूल पनि रोपिने र फूलैफूलको सहर बनाइन्छ । आहा १ इटहरी नगरी भएन ? उनले चुनावी सभामा आएका कार्यकर्ताहरूलाई सोध्दा हुटिङले माहोल तात्तिएको थियो त्यतिबेला । अहिले भने यही भाषण सर्वध्वजको लागि घाँडो भइरहेको छ । अन्य दलका नेताहरूले पनि इटहरीमा आकाशे पुल बनाउने कुरा नउठाएका हैनन् तर, पाँच वर्ष बित्दा पनि अहिलेसम्म आकाशे पुलको बारेमा कुनै दल बोलेका छैनन् ।
इटहरीमा २०५४ सालमा पहिलो मेयर भएका सर्वध्वजले इटहरीको विकासमा सम्झनलायक योगदान गरेकै हुन् । इटहरी बजार हरियाली हुनुमा उनै साँवाको हात छ भन्दा फरक पर्दैन । तर, आकाशे पुल बन्ने विषय यति चर्चामा हुँदा पनि किन मौन बस्नुभएको होला माननीयज्यू ? इटहरी चोकमा डेटिङ स्पट होइन, एउटा आकाशे पुल अत्यन्तै आवश्यक छ । इटहरीको मुख्य चोक थिचोल्न पैदल यात्रुलाई लगभग २० मिनेट समय लाग्न थालेको छ । त्यसैले यो विषयलाई गम्भीरताका साथ प्रदेश सरकार र इटहरी सरकार लाग्नुपर्ने देखिन्छ ।
बढ्दो जनसङ्ख्या र सहरीकरणले इटहरी सहर निकै व्यस्त हुने गरेको छ । चौतर्फी बाटोघाटो मात्र हैन, जनसङ्ख्याको बसोबासको हिसाबले पनि इटहरी प्रदेश १ कै ठूलो सहरको रूपमा परिचित हुँदै गएको छ । इटहरीलाई आधुनिक र सुविधा सम्पन्न सहर बनाउने विषयमा सबै पार्टीका नेताहरूले सोच्नुपर्ने बेला आएको छ । विकासको कुरामा सबै एकजुट भएर अगाडि बढ्ने हो भने इटहरीलाई केही वर्षमा प्रदेश १ कै उत्कृष्ट सहर बनाउन किन सकिँदैन ? भौतिक संरचनामा आएको परिवर्तनले यो परिवेशको सिर्जना गरेको हो । मूलतः बाटो चौडा बनेको छ, घरहरू अग्ला–अग्ला र नयाँ शैलीका बनेका छन् । ठूला–ठूला परियोजनाहरू बन्ने क्रम बढ्दो छ । त्यसकारण पनि इटहरीको मुख्य चोकमा आकाशे पुल अति आवश्यक रहेको छ भन्दा फरक नपर्ला ।
इटहरीको जनघनत्व र क्षेत्रफल जति बढे पनि पूर्वमा बूढीखोला, पश्चिममा पकली, उत्तरमा तरहरा तथा तालतलैया र दक्षिणमा खनारसम्म फैलिएको इटहरीको मुख्य गतिविधि मुख्य चोक (गोलचोक) सेरोफेरोमै केन्द्रित छ । त्यही गोलचोक इटहरीको शान हो, इटहरीलाई चिनाउने एउटा गतिलो माध्यम हो । त्यसैले यसलाई आकर्षक बनाउन पहल गरौं । इटहरीमा जनप्रतिनिधिले गर्छौं भनेका र जनताले कहिले देख्न पाइएला भनेर कुरेकामध्ये इटहरीवासीले सबैभन्दा धेरै आशा गरेको आकाशे पुलको योजना अलपत्रजस्तै बन्न पुग्यो । मुख्य चोकमा पुलमात्र निर्माण गर्न सकिएको खण्डमा इटहरीका जनप्रतिनिधिहरूका लागि वर्षौंसम्म चुनावी एजेण्डा बन्ने थियो तर, त्यो कुरा खै त बुझेको ?
इटहरीमा यी योजना आवश्वयक छन्–
खासगरी मधेस आन्दोलनपछि सप्तरी, सिरहा, धनुषा अथवा राजमार्गदेखि दक्षिणतिरका धेरै सहर तथा गाउँबस्तीबाट सुरक्षित बसाइ गन्तव्य खोज्दै मानिसहरू आएका कारण इटहरीमा जनघनत्व ह्वात्तै बढेको छ । मानिसहरूको चाप बढेसँगै इटहरीले अहिले व्यस्त सहरको परिचय दिँदै छ । इटहरीलाई एउटा स्मार्ट(पार्क, सुलभ वाइफाइ, साइकल लेन, रात्रिकालीन बजार, शैक्षिक हब, स्वास्थ्य तथा सुरक्षामा नमुना उपस्थितिजस्ता कुराहरू आवश्यक छन् । स्मार्ट पार्किङको कामसमेत रोकिएको छ । डिपिआरसमेत तयार भएको पार्किङ अहिलेसम्म बनेको छैन ।
इटहरीको मुख्य चोकको सेरोफेरोमा ट्राफिक लाइट, क्यामेरा जडान अत्यन्तै आवश्यक छ । जडान भएका क्यामेराहरू पनि बिग्रिएर थन्किएका छन् । कुनै प्रविधिको प्रयोग भएको छैन । व्यस्त सडक छ, जसको कारण बाटो काट्न हम्मेहम्मे पर्छ । आकाशे पुल बनाउने योजना योजनैमा सीमित छ ।
यस्तो व्यस्त चौबाटोमा आकाशे पुल अनिवार्य हुँदाहँुदै पनि निर्माण हुन सकेको छैन । पुल निर्माण अत्यन्तै आवश्यक छ । ठूला अस्पताल छैनन् । उपचार खोज्दै धरान, विराटनगर, बिर्तामोड, सिलिगुडी जानु यहाँका बिरामीहरूको नियति बनेको छ । वर्षायाममा डुबान हुने इटहरीलाई व्यवस्थित गर्दै इटहरीलाई सुन्दर सहर बनाउन सबैले आ–आफ्नो तह र तप्काबाट लाग्नुु आवश्यक देखिन्छ ।