धरान । छन्द कवि टीका आत्रेयको पछिल्लो कविता सङ्ग्रह भ्रूण प्रश्नको धरानमा विमर्श गरिएको छ ।
प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको आयोजनामा आइतबार धरानमा आयोजित कार्यक्रममा आत्रेयको कविताले वर्तमान युगको प्रतिनिधित्व गर्ने टिप्पणीकारले बताए । टिप्पणी गर्दै डा. रामजी तिम्सिनाले भने, ‘उनको कविता दुई लाइनभन्दा बढी पढ्ने बित्तिकै म भावुक हुन्छु, उनको कवितामा ग्रामीण जीवनको बिम्ब छ ।’ उनले कविताको शैलीमा शक्ति रहेको बताए । ‘जब–जब आमाको कुरा गर्दा आमाको साथमा कहीँ न कहीँ बाबुको कुरा आइहाल्छ, नारीवादी कविमा यस्तो दृश्य देख्न सकिँदैन’–उनले भने ।
वृद्धाश्रम शीर्षकको कविता पढिरहँदा परित्याग गरिएका बाबुआमाले आफ्ना सन्तानप्रति देखाएको मायाले भावविह्वल बनाउने उनले बताए । ‘उहाँ (कवि) जुन संस्कारमा हुर्किनुभयो, त्यो संस्कार र ग्रामीण परिवेशको बिम्बलाई सशक्त ढङ्गले उठाउनसुभएको छ । त्यो शैलीको शक्ति हो भन्ने लाग्छ’–उनले भने । अर्का टिप्पणीकार गिरिराज खतिवडाले भ्रुण प्रश्नका सबै कविताहरू प्रतिकात्मक रहेको बताए । उनले भने, ‘सामान्य मान्छेले पनि बुझ्न सकिने खालका छन्, करिब २५ वटा कविता शार्दूलाविक्रिडित छन्दमा रचिएका छन् ।’ उनले नारी संवेदनाका कुरालाई महŒवका साथ उठाएको बताए । उनले भने, ‘नारी विषयमा केन्द्रित रहेको छ । विषयगत विविधता छ ।’
अर्का टिप्पणीकार बम देवानले कवि प्रगतिशीलमात्रै हैन, प्रगतिवादी पनि रहेको बताए । उनले लड्ने पक्षमा र सङ्गठन गर्ने पक्षमा देखिएको बताए । ‘ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सौन्दर्यशास्त्रबाट प्रभावित देखिनुहुन्छ’ उनले भने, ‘यो भ्रूण भनेको चिज आमाको गर्भमा भ्रूण भएर जन्मिन्छौं, त्यो मात्रै नभएर सिङ्गो मुलुकको राजनीति पनि भ्रुण भइरहेको छ । त्यो कुरालाई पनि उठान गरिएको छ ।’
कविता सङ्ग्रहका तीनवटा कवितालाई कविले वाचन पनि गरिन् । त्यस्तै आधा दर्जनभन्दा बढी स्रष्टा तथा समाजका अगुवालाई सम्मानित गरिएको छ । कार्यक्रममा धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, सङ्गीत साधक मातृकाप्रसाद सङ्ग्रौला, साहित्यसेवी भगवती ढुङ्गेल, गायिका जयकला राई, समाजसेवी सुस्मिता देवान सम्मानित भए ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि अनिल पौडेलले सम्मान–पत्रले सम्मानित गरेको कार्यक्रम सञ्चालक तथा अध्ययन केन्द्रका सचिव डा. रमेश इजमले जानकारी दिए । सङ्गीत साधक सङ्ग्रौलाले नाकबाट विभिन्न लोक वाद्यवादन बजाउँदै उपस्थित अतिथिलाई मनोरञ्जन दिए ।
कार्यक्रमका विशेष अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले सङ्गीत साधक सङ्ग्रौलाले प्रदेश प्रज्ञा प्रतिष्ठानका लागि झापाको चारआली क्षेत्रमा एक कठ्ठा जग्गा दान गर्ने उद्घोष गरेको बताए । उनले अहिलेको युगमा मान्छे पैसाको पछि लागिरहेका बेला यस्ता व्यक्तिहरू पाउन गाह्रो हुने बताए ।
प्रदेशमा प्रतिष्ठान बन्ने नबन्ने अन्यौल रहे पनि कम्तीमा प्रतिष्ठानका लागि जग्गा दिने उद्घोष गरिनु नै महŒवपूर्ण रहेको बताए । आत्रेयको यस सङ्ग्रहबाट एउटा कविता मावि तहको पाठ्यक्रममा पनि प्रवृष्ट गरिएको छ । भयवाद अध्ययन केन्द्र र किरात देवान समाज केन्द्रीय समिति धरानको सह–आयोजनामा सम्पन्न कार्यक्रममा अध्ययन केन्द्रकी उपाध्यक्ष डा. इन्दिरा मिश्र सभापति रहेकी थिइन् ।