धरान । कथाकार विश्व कुइकेलले लेखेको सुदूर पश्चिमको कथामाथि सुदूर पूर्व झापाको बुद्धशान्ति गाउँपालिकास्थित बुद्ध आदर्श माविमा परिचर्चा भएको छ । पोइट्री टक्स काव्य विमर्श अन्तर्गत बुद्धआदर्श विद्यालयले कथा सङ्ग्रह ‘सुगन्धपुर’ माथि परिचर्चा गर्ने अवसर जुराइदिएको हो ।
आयोजक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा सम्पन्न परिचर्चामा वरिष्ठ साहित्यकार भवानी मिश्र, कवि समालोचक मुनाराज शेर्मा, केसी श्रेष्ठ, दामोदर ढुङ्गेल र कृष्ण बराल, कुमार भट्टराई, लीला अनमोल, जय भण्डारी, धनबहादुर श्रेष्ठ, बेनुप पनेरु, महेश्वर सम्बाहाङ्फे, कृष्णराज भण्डारी, दुर्गा पोख्रेल, देवकुमारी शेर्मा, घनश्याम पौडेल, रश्मी शेखरलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कथा सङ्ग्रहभित्रका कथाहरूले दलित मुद्दा, नारीको यौन अधिकार, कर्णालीको विकटता र दुःख, लिपुलेक, टिङ्कर क्षेत्रको समस्यामाथि मिहिनरूपमा आवाज उठाएको टिप्पणीकार कवि समालोचक मुनाराज शेर्माले बताए । उनले भने, ‘कथा सङ्ग्रहभित्रका अनेक पात्रहरूले भोगेका यथार्थ पीडाका बयान गर्न कथाकार सफल भएका छन् । सुदूर पश्चिमको कथा भए पनि ती कथाले पूर्वका पाठकको मन छुन सकेको छ ।’
कथाकार कुइकेलले आफूले जागिरे जीवनमा भेटेका पात्रहरू नै आफ्नो कथाका पात्र भएको बताए । उनले यथार्थ पात्रहरूको भोगाइलाई सौन्दर्यकरण गर्न मात्र ‘फिक्सनाइज’ गरिएको भए पनि यथार्थको धरातल नछाडी लेखिएको बताए ।
आयोजक विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बुद्धशान्तिमा काव्य विमर्श निरन्तर जारी राख्दै विद्यालयमा साहित्यिक गतिविधिमार्फत् प्रश्न गर्ने सीप र उत्तर दिने क्षमताको विकास गर्नुको साथै वर्तमान साहित्यसँग स्थानीय र विद्यार्थीहरूलाई जोड्दै भविष्यमा राम्रो स्रष्टा उत्पादन गर्ने लक्ष्य विद्यालयको रहेको बताए । यसअघि विद्यालयमा उमा सुवेदीको ‘सयौं पुतली’, गणेश निरौलाको ‘कोठेबारी, ढुङ्गा र माटो’ माथि चर्चा भइसकेको छ ।