महँगीको जमानामा समयको धेरै ख्याल गर्नुपर्ने हुन्छ । भनिन्छ नि, काम गरी खानेलाइ एक–एक मिनेटको ख्याल हुन्छ । ऊ सधैँ समयको पछि नै लाग्छ ।

जो जे होस्, म पनि अलिक समयको ख्याल गर्ने मानिस भएकाले विराटनगर बाट धरान जानुप¥यो भने एकदम दिक्क लाग्छ । मेरो माइतीघर धरान महिनामा एकपटक त जानै पर्ने अवस्था आउँछ र गइन्छ पनि । गाडी चढ्नुको समस्या जति नै भए तापनि बाध्यता छ ।

धरान–विराटनगरको बाटो धेरै टाढा होइन । धेरै ठाउँमा नरोकी गए एक घण्टामा पुगिन्छ । तर, यहाँ यात्रा गर्न दुईघण्टा लाग्छ । अझ कहिले त अढाई घण्टा पनि लगाइदिन्छन् । बाटोभरि मान्छे चढाउँदै जाँदा धेरै समय लाग्छ । बाटाका मान्छेहरूलाई त चढाउनै पर्छ तर, ठाउँ–ठाउँमा पाँच–दश मिनेट रोकेर  पछाडिको गाडी नआउञ्जेल अगाडिको गाडी अघि बढ्दैन । यसो गर्दा बसभरिका मानिसहरूको धेरै समय खेर जान्छ । एक–दुईजना मानिसका लागि बीस–तीसजना मानिसहरूको समय बर्बाद हुन्छ ।

अर्को कुरा, धरान–विराटनगर चल्ने गाडीहरू धेरै पुराना छन् । थोत्रा गाडीहरू धरान–विराटनगर रूटमै चलाइँदो रहेछ । धरानबाट पूर्वतर्फ चल्ने गाडीहरू कति राम्रा, नयाँ र सफा छन् । धरान–विराटनगरमा पनि त्यस्तै गाडीहरू चलाउँदा हुन्न र ? किन थोत्रा–थोत्रा, पत्रु भइसकेका गाडीहरू चलाइन्छ ?

धरान–विराटनगरमा कुनै गाडी लोकल, कुनै एक्स्प्रेस दुई–दुई घण्टामा चलाए यात्रुलाई सजिलो हुन्थ्यो । हरेक समस्याको समाधान पनि हुन्छ । यो भन्दा अन्य समाधान पनि हुनसक्छ ।

अहिलेको तरिकाले त हामीहरूले आफैलाई ठगिरहेका छौं । हाम्रो समय बर्बाद भइरहेको छ । समय बचत भयो भने अरू थुप्रै काम गर्न सकिन्छ । समस्याको समाधान खोजे आफ्नो र अरूको समय बचाउन सकिन्छ । नेपालीहरू विदेश जाँदा त्यहाँ समयको कस्तो पर्वाह गरेर हिँड्छन् । किनभने विदेशमा घण्टाअनुसार पैसा दिइन्छ ।

त्यसैले मान्छेहरू काममा समयमै पुग्नुपर्छ भनेर मनमा कति ठूलो डर राख्छन् । त्यहाँका बसहरूले पनि समयलाई ख्याल गर्छन् । जथाभावी रोक्दैनन् । विदेशबाट फर्किएकाहरूसमेत नेपालमा समयको पालना गर्दैनन् । विदेशमा सिकेका राम्रा कुरा नेपालमा लागू गरे सबैलाई राम्रो हुनेथियो । धरान–विराटनगरको रूटमा चल्ने गाडीमा कहिले होला समयको ख्याल ?

बाटोमा लामो समय गाडी रोकेर यात्रु पर्खिनुभन्दा छिटो–छिटो गएर फेरि फर्किंदा यात्रुलाई पनि सुविधा हुन्छ भने गाडी कम्पनीलाई पनि फाइदा हुन्छ । किनभने विस्तारै, रोक्दै जाँदा २ पटक ओहोर–दोहोर गर्ने गाडी छिटो गरे तीन पटक ओहोर दोहोर गर्न सक्छन् ।

गाडी समयअनुसार चल्ने हो भने यात्रु पनि त्यही समयअनुसार आउँछन् । समय भनेको मान्छेको पैसा पनि हो । जति समयअनुसार पैसा कमाउन सक्यो, त्यति आफैलाई फाइदा हुने हो । सबैले समयलाई ध्यान दिनु आवश्यक छ ।