पंक्षीजन्यमा लाग्ने तीव्र फैलावट रहेको बर्डफ्लू मोरङका केही क्षेत्रमा फैलिएको छ । यसको फैलावटलाई मध्यनजर गर्दै केन्द्र सरकारले प्रदेश १ को राजधानी विराटनगरका केही क्षेत्रलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको यो निर्णयले पक्कै पनि त्यस क्षेत्रमा बर्डफ्लूको अवस्था निकै गम्भीर छ भन्ने प्रतीत हुन्छ । अहिले मानवलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस जस्तै पंक्षीजन्यमा फैलिने बर्डफ्लू निकै खतरनाक मानिन्छ । बर्डफ्लूले क्षणभरमै सयौं पंक्षीको ज्यान लिने गरेको छ । त्यही कुरालाई मध्यनजर गर्दै केन्द्र सरकारले प्रदेशको राजधानी विराटनगर– १८ स्थित हिमालयन फार्म क्षेत्रलाई केन्द्रविन्दु बनाएर बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको अवस्था छ । यो घोषणाले त्यहाँको अवस्था निकै गम्भीर छ भनेर बुझ्न कठिनाइ पर्दैन । त्यसकारण त्यस क्षेत्रलाई मात्रै हैन, पंक्षीजन्य चिजहरू ओसार–पसार हुने अन्य क्षेत्रमा पनि फैलिन सक्ने भएकाले नियन्त्रणका लागि सरकारको पहल सकारात्मक छ ।
बर्डफ्लू पंक्षीको हकमा महामारी नै हो । यसलाई चाँडो नियन्त्रण गर्न नसकेमा यसले ठूलै हानि गर्नेछ । मोरङको बूढीगङ्गा गाउँपालिकाको ५ र ग्रामथान गाउँपालिका १ को खुनियाकट्टाको फर्ममा जुन हिसाबले बर्डफ्लू देखिएको छ, त्यहाँ झण्डै पाँच हजारको हाराहारीमा कुखुरा मरेको समाचार बाहिरिएको छ । पहिलो कुरा त कुखुरा मर्ने बित्तिकै आर्थिक रूपमा नोक्सानी हुने नै भयो, दोस्रो त्यहाँको वातावरणमा बर्डफ्लू फैलियो कि भन्ने मानसिक त्रास पनि बढ्यो । ठीक यही बेला सरकारले पनि बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरिदिँदा यसबाट सचेतना अपनाउन जरुरी देखिएको छ । विशेषगरी भारतबाट लुकाइछिपाई पंक्षीजन्य चिजहरू आयातित हुने गरेका छन् । यस्तो क्रियाकलाप आजमात्रै हैन, शदियौंंदेखि भइरहेको छ । केही समयअघि भारतको विहार क्षेत्रमा बर्डफ्लू फैलिएको समाचार बाहिरिएको थियो । अहिले विहार राज्यसँग टाँसिएको सीमावर्ती क्षेत्रमा बर्डफ्लू देखिनुले हामी सचेत नभएको सङ्केत गरेको छ । अहिले जुन जुन स्थानमा बर्डफ्लू देखिँदै छ । त्यस ठाउँहरू सीमाबाट निकै नजिक क्षेत्रमा पर्दछ । पंक्षीका लागि महामारीका रूपमा परिचित यस्ता रोगहरूबारे हेलचेक्र्याइँ गर्नुहुँदैन । हाम्रा स्थानीय सरकार, प्रदेश सरकारहरूले पनि भारतबाट आउने पंक्षीहरूलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायलाई निर्देशन दिनुपर्छ ।
धेरै रोगहरूको कारक तत्व पंक्षीहरू हुने गरेको छ । अहिले विश्वमा फैलिएको कोरोना पनि चमेराबाट आएको अनुमान गरिएको छ । अहिले पनि अनुसन्धानकै विषय छ । आखिर जैविक हो कि प्राकृतिक भन्ने विषयमा विवाद कायमै छ । तर, पनि हामी समयमै सचेत नहुने हो भने भोलि थुप्रै खालका समस्याहरू आउन सक्छन् । केन्द्र सरकारले जुन हिसाबले अगाडि बढेको छ । प्रदेश र स्थानीय सरकारहरू पनि उस्तै गरी गम्भीर बन्न आवश्यक छ । अझ स्थानीय सरकारले पंशुपक्षीजन्य ओसार–पसारलाई तत्काल नियन्त्रण गर्नेतर्फ अगाडि बढ्नुपर्छ । भारतबाट आउने पंक्षीहरूलाई तुरुन्त रोक लगाउनुपर्छ । त्यति मात्रै हैन, कारबाही पनि अगाडि बढाउनुपर्छ । रोग नियन्त्रण गर्नका लागि त्यहीअनुसारको जनशक्ति पनि परिचालन गर्नुपर्छ । स्थानीय सरकार यस विषयमा त्यति धेरै गम्भीर हुन सकेको देखिएन । अहिलेसम्म के गर्ने, कसरी नियन्त्रणमा ल्याउने भन्ने विषयमा छलफलसम्म गरेको देखिएन । स्थानीय सरकारले सामान्य रूपमा लिएको पाइयो । यसले गर्दा नियन्त्रणमा प्रभावकारी कदम स्थानीय सरकारकै हुन्छ । प्रदेशको राजधानी रहेको ठाउँमा प्रदेश सरकारको पनि गम्भीर ध्यानाकर्षण हुनुपथ्र्यो । तर, त्योअनुसार अगाडि बढेको नदेखिनु चाहिँ गैरजिम्मेवारी नै हो । महामारीलाई रोक्न सबै तहले ध्यान दिऊन् ।