धरान उपमहानगर क्षेत्रभित्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २९ वर्षदेखि सञ्चालित छ । धरान र पूर्वका सर्वसाधारण बिरामीका लागि मात्र नभएर मुलुककै गहना बनेको हो बीपी प्रतिष्ठान । यद्यपि केही समययता आन्तरिक समस्याले प्रतिष्ठानको अवस्था नाजुक रहेको छ । ढिलो चाँडो समस्या समाधान होला । यहाँ चर्चा गर्न लागेको भने सिटी अस्पतालको हो । हरेक ठूला नगरमा छुट्टै सिटी अस्पताल हुनुपर्छ । हुन त सिटी अस्पताल निर्माण गर्ने, सञ्चालन गर्ने भनेर त डेढ दशक अघिदेखि चर्चामा नआएको होइन । तर, अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको देखिएको छैन । छाता चोकको पुरानो अस्पताल भएको जग्गा पनि बीपी प्रतिष्ठानको स्वामित्वमा गयो भनेर उपमहानगरपालिका चुपचाप बसेको छ । कतिपयले धरानमै बीपी प्रतिष्ठानजस्तो ठूलो अस्पताल हुँदाहुँदै किन चाहियो सिटी अस्पताल भनेर प्रश्न पनि गर्न सक्छन् । प्रश्न उठ्नु स्वभाविक पनि हो । तर, बीपी प्रतिष्ठान भनेको उपचार सेवा दिने सन्दर्भमा महासागर हो । भारतीय समावर्ती क्षेत्रका र प्रदेश १ र २ का बिरामीसहित दैनिक ३ हजार बढी बिरामीहरू उपचार सेवाका लागि प्रतिष्ठानमा आउने गरेका छन् । त्यो भीडमा सामान्य उपचार सेवाको परामर्श लिन पनि धरानका रोगी बिरामीले लाइन लाग्नु पर्छ । यसरी समग्र भीडमा लाइन लाग्दा पाउने सास्ती, समयको बर्बादी, उपचार गरेबापत लाग्ने शुल्क, औषधिमा खर्च दोब्बर हुने गरेको छ । पछिल्लो जनगणना अनुसार धरानको जनसङ्ख्या १ लाख ७३ हजार ९६ छ । यतिका जनसङ्ख्या भएको धरानमा सिटी अस्पताल नहुँदा धरानबासीले सधैँ सास्ती खेप्नुपरेको छ । धरानमा सिटी अस्पताल सञ्चालन गर्न कसले रोकिरहेको छ ?

उपमहानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरूको ध्यान नपुगेको हो कि ? धरानको आफ्नै सिटी अस्पताल भएमा पुर्जीका लागि घण्टौं लाम लागेर उभिनु पनि पर्दैन । ओपिडीमा डाक्टरबाट परामर्श लिन वा स्वास्थ्य चेकजाँचका लागि उकुसमुकुस भएर पर्खिरहनु पनि पर्दैन । ओपिडीमा चेकजाँच भएपछि सामान्य बायोकेमेष्ट्री ल्याव रिपोर्टका लागि महँगो शुल्क तिर्न लाम पनि लाग्नु पर्दैन । डाक्टरले लेखिदिएको प्रेस्क्रिप्सनअनुसार कतिपय औषधि किन्नुपर्ने नै भए निजी मेडिकल हल जानु पर्दैन । सरकारले ८० प्रकारका औषधिहरू निःशुल्क वितरण गर्दै आएको छ । ती औषधि सेवाग्राही बिरामीले सिटी अस्पतालमार्फत् निःशुल्क रूपमा पाउनेछन् । एउटा सिटी अस्पतालका लागि डिजिटल एक्स–रे मेसिन, ल्याव रिपोर्टका लागि बायोकेमेष्ट्री एनालाइजर, सामान्य शल्यक्रिया गर्ने अप्रेसन थिएटर हुनु जरुरी छ । सामान्य रुघाखोकी, ज्वरो, पेटसम्बन्धी, मधुमेह, उच्च रक्तचाप, स्त्री तथा प्रसूति, नाक–कान–घाँटी, मानसिक रोग, आँखा, बालरोग, चर्म, हाडजोर्नी, दन्त, फिजियोलोजीलगायत हेर्ने एक–एकजना एमबीबीएस र एमडी गरेका एक–एकजना डाक्टर भए पुग्छ । ती चिकित्सकहरू उपमहानगरपालिकाले बीपी प्रतिष्ठानसँग समन्वय गरेर ल्याउन सक्छ ।

सिटी अस्पताल सञ्चालनका लागि छाताचोकमा भएको पुरानो अस्पतालको जग्गा प्रयोग गर्न सकिन्छ । भलै त्यो बीपी प्रतिष्ठानको स्वामित्वमा भए पनि सहकार्य र समन्वय गरेर उक्त जग्गा प्रयोग गर्न सकिन्छ । सिटी अस्पतालले जटिल समस्या भएकालाई बीपी प्रतिष्ठान वा अन्यत्र रिफर गर्न सक्छ । प्रतिष्ठानका अधिकांश वरिष्ठ डाक्टरहरूले बिदाको समय पारेर स्वास्थ्य शिविरमा निःशुल्क सेवा दिँदै आएका छन् । उनीहरूसँग पनि समन्वय गरेर निश्चित बारमा आएर सिटी अस्पतालमा विशेषज्ञ सेवा दिन सक्छन् । तर, कम्तिमा ३० शय्याको सिटी अस्पताल स्थापना, भवन निर्माण र सञ्चालनका लागि धरान उपमहानगरपालिकाको धारणा स्पष्ट हुनु जरुरी छ ।