लाग्छ, मान्छेको मनले सबैभन्दा धेरै सम्झिने थोकहरुमा एक हो– गाउँ । आफ्नो गाउँ । आफू जन्मेको, हुर्केको, तातेताते गर्दै हिँडेको, हाँसेको, खेलेको, मन दुखाएर रोएको, उकाली–ओराली गरेको आफ्नो गाउँ कुन मान्छेले मनैमा बोकेर नहिँड्दो होला ! कति–कति खुसीहरु साटेको, कति–कति दुःखहरु छिचोलेको आफ्नो गाउँ आखिर कसको मनमा थपक्कै नबसेको होला ! गाउँमै बसेकालाई त सबैथोक भयो नै गाउँ, तर जतिसुकै सुविधा र विकासले भरिएको संसारको जुनसुकै ठाउँमा पुगे पनि सम्भवतः आफ्नो प्रिय गाउँलाई मनैमा राखेर बाँचेको हुन्छ मान्छे । हाँस्न सिकाउने, रून सिकाउने, जीवन, समाज, संस्कृति र सभ्यता बुझाउने आफ्नो गाउँ नै हो । सपना देख्न सिकाउने अनि त्यो सपनाको क्षितिज भेट्न प्रेरणा दिने आफ्नो गाउँ नै हो । भौतिक रुपमा जहाँ र जता पुगे पनि भावनात्मक रुपमा आफ्नो गाउँभन्दा टाढा भएर बाँच्न सक्दैन मान्छे । गाउँ त सधैँ मनैमा हुन्छ ।
म सम्झिन्छु– एकखेप म काबेली तरेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पुगेँ । घरदेखि भागेर सडकमा मजदुरी काम गर्न । सानो थिएँ । भर्खर चौध वर्षको फुच्चे केटो । ठेकेदारले घर फर्किनू भन्न सकेनन् । र, लगाइदिए भान्से काममा । बजारको सडक स्तरोन्नतिका लागि काम गर्ने पन्ध्र–सोह्र जनाको साँझ–बिहान भात पकाइदिने काम मेरो थियो । तोक्मेमाथिको एउटा टहरा हाम्रो खानेबस्ने ठाउँ थियो । गाउँका दाजुहरुको पछि लागेर म त्यहाँ पुगेको थिएँ । २–४ दिन त रमाइलै भयो ।
त्यसपछि भने गाउँघरको यादले खुब सताउन थाल्यो । हुन पनि गाउँघर छोडेर पहिलोपटक त्यति टाढा पुगेको थिएँ । बालक मन त्यसै विरक्तिने भइहाल्यो । बिरानो सहरमा गाउँको सम्झनाले यति विक्षिप्त बनाउँथ्यो कि ! हरेक साँझ गाउँ छेकिदिने क्षितिज नियाल्दै भावुक हुन्थेँ । सपनामा पनि गाउँपरको एकमौले बरमा साथीहरुसँग भलिबल खेलिरहेको हुन्थेँ । गाउँको यादले कुडिन्थ्यो हृदय । जल्थ्यो मन । भत्भती पोल्थ्यो छाती । हुन्थ्यो छट्पटी । एकदिन ठेकेदारलाई भनेँ, ‘अब म जान्छु ।’ सायद, फुच्चे केटोको माया लाग्यो क्यार ! केही नभनी पठाइदिए । नयाँ ठाउँ पनि घुम्न पाइने, पैसा पनि कमाइने भनेर घरदेखि भागेर हिँडेको मलाई गाउँको मायाले डो¥याएर तीन हप्तामै फेरि गाउँमा नै पुर्यायो ।
अपरिपक्व उमेरमा पनि मस्तिष्कमा आफ्नो गाउँप्रतिको प्रेम यति गहिरो गरी गडेर बसेको हुँदोरहेछ भन्ने कुरा उहिल्यैको एउटा घटना सम्झेर अहिले म बोध गर्छु । याक्थुङ (लिम्बू) समाज । जुन समाजमा म जन्मेँ, हुर्कें । जहाँ विशेष अवसरहरुमा मात्र नभएर फुर्सदको अरु समयमा पनि विशेष किसिमले नै आफन्त भेटघाट गर्ने संस्कृति छ । त्यसरी जाँदा कोसेलीपात बोक्ने साथी पनि पाहुनाको रुपमा लाने चलन छ । सानोमा पाहुना जान खुब रहर लाग्ने । एकखेप भाउजूको माइतीगाउँ पाहुना जानुपर्ने भयो, तमोरपारिको आठराई । पेदु–पेदु रहरमाथि कोसेलीको कुम्लो बोकेर भाउजूको माइतीगाउँ पुगियो, पाहुना बनेर । मेरै उमेरको एक साथी र म दुई जना थियौं । याक्थुङ (लिम्बू) घरमा आउने पाहुनालाई धान नचाउनु सामान्य मानिन्छ । छोरा मान्छे पाहुना भए गाउँका छोरीचेलीलाई र छोरी मान्छे पाहुना भए छोरा मान्छेलाई पाहुना घरका मान्छेले धान नाच्न आउने निम्तो नै दिन्छन् ।
साथी र म बेलुकीको खाना खाएर सुत्ने तरखर गर्दै थियौं । गाउँका एकहुल केटीहरु धान नाच्न आइपुगे । सबैभन्दा पहिले परिचय गरौं भन्ने भयो । उनीहरुले हामीलाई परिचय मागे । ‘हजुर ! हामी त तपाईंहरुको गाउँको पाहुना, तपाईंहरुको गाउँमा तपाईंहरु नै अगाडि बढ्नुप¥यो नि सोल्टिनीहरु !!’ हामीले आग्रह बिसायौं । सोल्टिनीहरुले पालैपालो सेवारो ! गरेर नाम, गा.वि.स., गाउँ र पोष्ट अफिस बताए । हामीले पनि परिचय दियौं । यसै क्रममा अचानक गाउँको कुरामा विवाद हुन पुग्यो । ज्ञान नछिप्पिनु त्यस्तै त होला ! उनीहरुले हाम्रो गाउँलाई खिसी गरे । हामी पनि उनीहरुको गाउँलाई ढुङ्गैढुङ्गाको गाउँ, पानी विनाको गाउँ भनेर बाझ्यौं । अन्ततः धान नाच्न आएका उनीहरु गाउँको विवादले धानै ननाची फर्के । कति दुर्भाग्य ! आफ्नो गाउँलाई नराम्रो भनिदिँदा जसको पनि मन दुख्दो रहेछ । चित्त फाट्दो रहेछ । आहा ! कति अपार हुँदो रै’छ आफ्नो गाउँप्रतिको प्रेम । अनि कति प्रेमील बनेर जोडिएका हुँदा रै’छन् गाउँ र मनहरु अनि मनहरु र गाउँ ।
कहिलेकाहीँ सम्झिन्छु– उसबेला हामीसँग वादविवाद पर्ने ती सोल्टिनीहरु अहिले कहाँ–कहाँ पुगेका होलान् ? मेरोजस्तै उनीहरुको मानसपटलमा पनि त्यो सुदूर अतीतको क्षण औंशी–पूर्णे किरिङ्मिरिङ् कोलाज बनेर आउँछ कि आउँदैन होला ? जे होस् ती सोल्टिनीहरुको नाममा यत्ति भन्छु, ‘त्यो बेला तपाईंहरुको गाउँलाई नराम्रो भनेँ । चित्त दुखाउनुभयो । सम्झिँदा आफ्नो कामले आज आफ्नै चित्त दुख्छ । सक्नुहुन्छ भने यो दुःखी सोल्टीलाई मनैदेखि माफ गरिदिनुहोस् है ! गाउँ त सोल्टिनीको पनि राम्रो, सोल्टीको पनि राम्रो, नराम्रो त कहाँ हुन्छ र गाउँ !’ अहिले पनि कामविशेषको यात्रामा माझीटारबाट मध्यपहाडी लोकमार्गको मोटरेवल पुल तरेर आठराईको उकालोमा मोटरसाइकलको स्टेयरिङ् बटारिरहँदा ती सोल्टिनीहरुको याद आउँछ ।
अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न मुलुक पुग्ने मात्र होइन, साउथ कोरिया, गल्फ कन्ट्री र खाडीका विभिन्न देशमा अनेकौं अप्ठ्याराहरुका बावजुद श्रम गरिरहेका नेपालीहरु आफ्नो गाउँलाई सम्झिरहन्छन् । आफ्नो गाउँमा बाटोघाटो बनाउन, स्वास्थ्य चौकी वा विद्यालयको भवन बनाउन श्रमको मूल्यबाट थोरै रकम बचाएर सहयोग गर्छन् । गाउँमा प्राकृतिक विपद् आइलागे, कसैलाई कुनै अप्ठ्यारो आइपरे वा कुनै सार्वजनिक महŒवको कार्य गर्नुपरे सामाजिक सञ्जालको माध्यमबाट सहयोगका लागि जुटिहाल्छन् । आफ्नो गाउँको उन्नति होस्, गाउँलेहरुलाई सहज होस्, गाउँकालाई दुःख पर्दा सकेको सहयोग गर्न सकुँ भन्ने उनीहरुको मनमा हुन्छ । आखिर यो गोलो पृथ्वीको जुनै कुनामा पुगे पनि आफ्नो गाउँप्रतिको प्रेमले छपक्कै भिजेकै हुन्छ मान्छे । यो गाउँप्रतिको अगाध स्नेहको एउटा बिम्ब हो । अहिले उहिल्यैको जस्तो चिट्ठी लेख्नुपर्ने, आवाघर धाउनुपर्ने दुःख छैन । प्रविधिको विकासले विश्वलाई ई–भिलेजमा रुपान्तरण गरिदिएको छ । यसले अझ सहज किसिमले जोडिदिएको छ, गाउँ र मनहरुलाई अनि मनहरु र गाउँलाई ।
सबै मान्छेको आफ्नो गाउँलाई स्नेहले हजारफन्को बेर्ने आफ्नै मन हुन्छ । प्रिय गाउँलाई प्रेमले सजाउने आफ्नै मुटु हुन्छ । कवि
चन्द्रवीर तुम्बापोले एकदिन मसित भनेका थिए, ‘तेरो गाउँ मलाई अर्कै देशजस्तो लाग्छ !’ उनी मेरो दाजु पुस्ताका कवि हुन् । उनी मेरो छिमेकी गाउँका हुन् । कवि दाजुले भनेको यो वाक्यको अन्तर्य के हो ? मेरो आलोकाँचो मस्तिष्कले पर्गेल्न सकेन होला । जे भए पनि यसलाई ‘सुन्दर’ भनिदिएको अर्थमा बुझेर त्यो दिन गद्गद् भएको थिएँ म । उनै कवि दाजैसँग अस्ति काठमाडौंको एउटा बिसौनीमा भेट भो । दाजैले गाउँको सम्झनामा लेखेको ‘तिम्रो पाइतालाको डोब गाउँमा’ कविता स्मरण गरेँ मैले । जो अलि अघि गरिमामा छापिएको थियो । दाजैले निसङ्कोच भने, ‘गाउँ केवल गाउँ मात्र होइन, सम्भावनाको नाम पनि त हो ।’ गाउँ, गाउँले मन र गाउँसँग जोडिएका सम्भवनाका सन्दर्भमा इकोराइटर अमर नेम्वाङले आफ्नो किताब ‘सम्झनाका तरेली’ मा लेखेका छन् । अमर दाइ बितेर जानुभयो । तर, ‘सम्झनाका तरेली’ ले जन्मथलो र गाउँप्रतिको प्रेम बुझाउन मद्दत गर्छ, गरिरहनेछ ।
नेपाली समाजमा एउटा मानकता जबरजस्त स्थापित छ । त्यो हो, गाउँमा दुःख छ । अभाव र असुविधाको पर्याय हो–गाउँ । सायद त्यसैको उपज होला, कथित आधुनिक सहरियाले गाउँका मान्छेलाई खिसिट्युरी गरेर भन्दा ‘पाखे’ भन्छन् । तर, प्रविधि र अस्वस्थ प्रतिस्पर्धाले क्रमशः संवेदनहीन बनाउँदै लगेको सहरले गाउँ हार्दिकता, सद्भाव र आत्मीयता सिकाउने एक महान् विश्वविद्यालय हो भन्ने कुरा बिर्सनु हुँदैन । नेपालको पहिलो स्मार्ट भिलेज लमजुङको घलेगाउँ सार्क राष्ट्रमै नमुना गाउँको रुपमा परिचित छ । नेपाली गाउँ अन्तर्राष्ट्रियस्तरमा हाम्रो मुलुकलाई चिनाउन पनि सक्षम छ ।
सुविधा छैन भन्दै गाउँबाट पलायन हुने संस्कृति बढ्दो छ अहिले । थुप्रै गाउँहरु श्मशान बनेका छन् । बाँझो जमिन र नाङ्गा डाँडापाखामा मरिरहेका छन्, अनन्त सम्भावनाहरु । गाउँ र गाउँलेका सुख–दुःखको सुसेली सुसेलीरहने खोला–खोल्साहरुमा बेवारिस बगिरहेका पानीभित्रै विलिन भइरहेका छन्, अपार उज्यालाहरु । वास्तवमा केही छैन भनिने गाउँमै छ, सबैथोक । अभाव छ त केवल गाउँ बनाउने सच्चा मन र कर्मठ हातहरुको, ठोस योजना अनि त्यसलाई मूर्त रुप दिने आत्मविश्वास र प्रतिबद्धताको ।
त्यसैले अब सुविधा छैन भन्दै गाउँबाट नभागौं । गाउँमै छन्, सम्भावनाका कहिल्यै नसुक्ने मूलहरु । गाउँमै छन्, फक्रेर खुसी बाँडिरहने फूलहरु । सुविधाले युक्त बनाऔं गाउँलाई । खासमा गाउँलाई चाहिएको छ, गाउँ बनाउने मनहरु । जय गाउँ !