टीका आत्रेय छन्दवादी कवयित्री हुन् । उनी छन्दमा कविता लेख्छिन् । भ्रूण प्रश्न उनको दोस्रो कृति हो । बाहिरी पृष्ठसहित जम्मा ८८ पृष्ठको लमाइगत आयाम रहेको यस सङ्ग्रहमा जम्मा ५३ वटा कविताहरु रहेका छन् ।
शीर्षकः टीका आत्रेयको भ्रूण प्रश्न कविता सङ्ग्रह आफैमा प्रतीकात्मक छ र यसभित्रका कविताहरुका शीर्षकले कवितालाई चिनाएका पनि छन् ।
संरचनाः संरचना कविताको बनोट हो । सिङ्गो कविता एउटा कार्य भएकाले त्यो पूर्ण हुनका लागि आवश्यक अवयवहरु रहेका हुन्छन्, जस्तैः अक्षर, यति, पाउ, श्लोक, प्रारम्भ, भाव, केन्द्रीयकथ्य आदि । यी संरचना आन्तरिक र वाह्य गरी दुई किसिमका हुन्छन् । टीका आत्रेयका भ्रूण प्रश्न कविता सङ्ग्रहभित्रका कविताहरुलाई संरचनाका दृष्टिले हेर्दा उनका कवितामा आन्तरिक र वाह्य संरचनाको सम्मीश्रण भएको देखिन्छ । इलाम शीर्षकको कविता ११ अक्षरको संरचनामा संरचित इन्द्रबज्रा छन्दका ८ वटा पद्यमा संरचित रहेको छ । यो पद्यगत आयामका दृष्टिले सङ्ग्रहकै सबैभन्दा लामो कविता हो ।
विषयवस्तुका आधारमा भ्रूण प्रश्न कविता सङ्ग्रहभित्रका कविताहरुलाई तीनवटा विषयवस्तुमा केन्द्रित गरिएको भए तापनि यसभित्रका कविताहरु विविध विषयवस्तुमा संरचित भएका देखिन्छन् । भ्रूण प्रश्नभित्रका कविताहरुमा नारी अधिकारको खोजी गरिएको छ, लैङ्गिक समानताको कुरा उठाइएको छ, सामाजिक, राजनैतिक विषयवस्तु, प्रकृति, राष्ट्रप्रेम, मातापिता तथा गुरूभक्ति र मायाप्रेमलाई समेत विषयवस्तु बनाइएको छ । भ्रूण प्रश्न कविता सङ्ग्रहभित्र अधिकांश कविताहरु नारी संवेदनाका विषयमा केन्द्रित छन् । टीका आत्रेयले नारी संवेदनाका विषयलाई प्राथमिकता दिएकी छन् । यसखालका कविताहरुमा भ्रूण प्रश्न यो शीर्ष कविता हो । यस कविताले जन्मन नपाउँदै फ्यालिनु परेकामा भ्रूण प्रश्न गर्छ । मान्छे विवेकशील, चेतनशील प्राणी भएर पनि चेतनाहीन काम गर्दैछ भन्ने भाव यसमा रहेको छ । आमा बनेको दिन नारीवादी कविता हो । महिलाहरुले हरेक पीडा र व्यथाका बीच पनि आफ्ना सन्तानलाई जन्म दिन्छन् । यही भावमा केन्द्रित रहेको छ यो कविता ।
वासनाको सिकारीविरूद्ध शीर्षकको कविता नारी अस्मितामाथि खेलवाड गर्ने विरूद्धको आवाज हो । बलात्कारीले बलात्कार गरेका घटना थाहा पाएर पनि प्रशासन र कानूनले समेत उनीहरुकै संरक्षण गर्ने यथार्थ यसमा छ । घर, विद्यालय जताततै बलात्कारका घटनाले आक्रान्त बनेकी छन् कवि । सृष्टिमसी महिलामाथिको हिंसा, छाउपडी प्रथाको विरोध छ । धर्तीको रजबाट सृष्टि बनेको कथा भए तापनि ब्रह्माले सृष्टि गरेको कथाले सत्यता नबोकेको भाव कवितामा रहेको छ । सङ्ग्रहभित्रको अर्काे कविता हो गान्धारीहरुमा यो शार्दूलविक्रीडित छन्दका पाँच पद्यमा संरचित रहेको महाभारतका पात्र धृतराष्ट्रकी श्रीमती गान्धारी हो । आफ्ना पतिले आफूलाई समेत देख्न नसक्ने भएकाले गान्धारीले समेत आँखामा पट्टी बाँधेकी थिइन् । त्यसैले कवि आफू अन्धा समान नबन्न, घरेलु हिंसा तथा महिला हिंसाका विरूद्धमा विभिन्न संस्कार र संस्कृतिका कारण आफै पछि परेको र गन्धारीले समेत आँखा खोल्नुपरेकाले महिलाहरुलाई त्याग नगर्न आग्रह गर्छिन् । अरूणको सङ्कल्प नारी विषयमा केन्द्रित कविता हो । यस कवितामा योगमायाले आफ्ना जीवनमा गरेका त्याग र तपश्यालाई विषय बनाइएको छ ।
योगमायाले आफ्नै वर्ग र परिवारबाट भोगेका पीडा र यातनाहरु आज पनि समाजमा यथावत् छन् । योगमायासहित ६८ जनाले जलसमाधि दिँदा पनि अहिलेसम्म पनि सत्यको शासन नभएको भाव कविताको रहेको छ । नकाम गृहिणी उवाच एउटी गृहिणी नहुँदाको घरको अवस्थाको यथार्थ चित्रण गरिएको छ । घरकी गृहिणी अथवा मुख्य नारी बिरामी पर्दा घरको सबै वस्तु बिरामी पर्ने कुराको वर्णन गरिएको छ । शार्दूलविक्रीडित छन्द, भाषिक शिल्प र घरभित्रका ससाना वस्तुहरुको बिम्ब र प्रतीकका कारण कविता उत्कृष्ट देखिन्छ । सङ्ग्रहभित्रको चिता पनि भनिरहेछ शीर्षकको कवितामा हाम्रो समाजमा छोरीहरुले आमाबुबाको किरिया गर्नुहुँदैन भन्ने कुराको विरोध गरिएको छ । कवि छोरीहरुलाई कर्तव्यबाट नभाग्न आग्रह गर्छिन् । उनी छोरीहरुलाई पर्खेर बसे कहिल्यै दिन नआउने भन्दै ढिकुरो फुटाउने कार्यमा अग्रसर हुन आग्रह गर्छिन् । कवितामा आफ्ना अधिकार प्राप्तिका लागि छोरीले कठोर बन्नुपर्छ भन्ने भाव व्यक्त गरिएको छ ।
कविका रोजाइमा परेको अर्काे विषय भनेको राष्ट्रप्रेम हो । मातृभूमि हो । उनका कवितामा सच्चा राष्ट्रवाद देखिन्छ । उनी सच्चा राष्ट्रवादी कविका रूपमा प्रस्तुत भएकी छन् । प्रगतिशील, महिलावादी कवि हुन् । टीका आत्रेय राष्ट्रवादी कवि हुन् । माधव पोख्रेलका भनाइले पुष्टि गरेको छ । उनका कवितामा सच्चा राष्ट्रवाद देखिन्छ । उनी सच्चा राष्ट्रवादी कविका रुपमा प्रस्तुत भएकी छन् । भ्रूण प्रश्न कविता सङ्ग्रहभित्र राष्ट्रवादी चिन्तनमा रचिएका धेरै कविताहरु छन् । उनका राष्ट्रप्रेमका विषय बनेका कविताहरुमा नेपाल मेरो घर रहेको छ । सङ्ग्रहको अर्काे राष्ट्रभक्त कविता माटाको श्वास हो । यस कवितामा नेपालका कतिपय भूभाग मिचिने गरेको प्रति चिन्ता व्यक्त गरिएको छ । फेरीपनि वीर बलभद्रजस्ता सपुतको खाँचो भएको कुरालाई जोड दिइएको कवितामा सुस्ता, अन्तु, लिपुलेक, लिम्पियाधुरा जस्ता नेपाली भूभाग फिर्ता ल्याउन सबै देशभक्त नेपाली जुट्नु पर्ने आवश्यकता आंैल्याइएको छ । ‘नेपाल मेरो घर’ शीर्षकको कविता पनि राष्ट्रप्रेममै संरचित भएको छ ।
नेपालको सौन्दर्य चित्रण गरिएको नेपाल हरेक नेपालीको घर हो । बाँचुञ्जेल सबै नेपालीले नेपालको बन्दना गर्नुपर्छ भन्ने भावमा केन्द्रित रहेको छ । ऐनामा देश, परदेशबाट, परदेश जानेलाई, बिर्सी जानेलाई, युवा जस्ता कविताहरु रहेका छन् । यी कवितामा राष्ट्रप्रेमसमेत झल्किन्छ । ऐनामा देश कविता प्रतीकात्मक रहेको छ । ऐना आफैमा एउटा अगाडिको वस्तु जस्ताको त्यस्तै देखाउने वस्तु हो । वर्तमानमा युवाहरु विदेशिँदा खेतबारी सबै बाँझै बनेका छन् । आफ्ना छोराछोरी नहुँदा बूढा भएका आमाबुबा पर्खिरहेको यथार्थ चित्रण यसमा छ ।
यस्तै प्रकृतिको सङ्ग्रहको अर्काे कविता हो परदेशबाट कवितामा आफ्नो देशको सम्झना गरिएको छ । कविताको शीर्षक अभिधात्मक रहेकोले अर्थवहनमा सहज देखिन्छ । अर्काे उनका कविताको टड्करो विषय भनेको युवावर्ग विदेशिने प्रवृत्तिको विरोध हो र भण्डाफोर पनि हो । युवा विदेशिने परिपाटीलाई समेत विषय बनाइएको छ । यस खालका कविताहरुमा ऐनामा देश, परदेशबाट, परदेश जानेलाई, बिर्सी जानेलाई, धुँवा, कर्तव्य जस्ता कविताहरु रहेका छन् । यी कवितामा राष्ट्रप्रेम झल्किन्छ । ऐनामा देश कविता प्रतीकात्मक रहेको छ । ऐना आफैमा एउटा अगाडिको वस्तु जस्ताको त्यस्तै देखाउने वस्तु हो । वर्तमानमा युवाहरु विदेशिँदा खेतबारी सबै बाँझै बनेका छन् । आफ्ना छोराछोरी नहुँदा बूढा भएका आमाबुबा पर्खिरहेको यथार्थ चित्रण यसमा छ ।
यस्तै प्रकृतिको सङ्ग्रहको अर्काे कविता हो परदेशबाट शिखरिणी छन्दका पाँचवटा पद्यका संरचनामा संरचित कवितामा आफ्नो देशको सम्झना गरिएको छ । कविताको शीर्षक अभिधात्मक रहेकोले अर्थवहनमा सहज देखिन्छ । यही विषयवस्तुमा संरचित कविता परदेश जानेलाई हो । सबै युवा विदेशिँदा देशका खेतबारी सबै बाँझै भएको कुरालाई व्यक्त गरिएको छ भने सबै विदेशिँंदै जाँदा हाम्रा संस्कार संस्कृतिहरु हराउने पो हुन् कि भन्ने चिन्ता कविमा देखिन्छ । यही विषयवस्तु र भावमा संरचित बिर्सी जानेलाई शीर्षकको कविता पनि विदेशी भूमिमा रमाइरहेका युवाहरुलाई लक्षित गरी लेखिएको कविता हो । यसरी संस्कार र संस्कृति सबैले छोड्दै जाने हो भने कसले श्रद्धा राख्छ र ? भन्ने प्रश्न कविमा उठेको देखिन्छ । शार्दूलविक्रीडित छन्दका ६ वटा पद्यमा संरचित कविता अभिधात्मक छ । युवा शीर्षकको कवितामा युवामाथि विश्वास गरिएको छ । युवाले जे पनि गर्न सक्छन् भन्ने भावका साथै युवाबाट सबैले ठूलो आमा गरेको भाव यसमा झल्किन्छ । भ्रूणप्रश्न सङ्ग्रहभित्रको अर्काे सशक्त कविता कर्तव्य हो । युवावर्गलाई आफ्नो कर्तव्यबाट विमुख नहुन आग्रह गरिएको छ । सबै युवा विदेशिँदा देशको विकास हुन नसकेको भाव यसमा छ । आफ्ना बुबाआमा र सबैलाई भुलेर आफ्नो कर्तव्यबाट विमुख नहुन युवा वर्गलाई विशेष आग्रह गरिएको छ ।
भ्रूण पश्न भित्रका केही कविताहरूमा प्रकृतिको सचित्र वर्णन गरिएको पाइन्छ । नेपालमा प्रकृतिको सन्दर चित्रण गरिएका कविताहरु समेत यसमा सङ्गृहित भएका छन् । इलाम, के छैन नेपालमा ? माटोको श्वासजस्ता कवितामा प्रकृति सुन्दर चित्रण पाइन्छ । इलामको श्रीअन्तुको प्रकृतिको चित्रमा गरिएको इलाम शीर्षकको कविता ११ अक्षरको संरचनामा संरचित इन्द्रबज्रा छन्दका ८ वटा पद्यमा संरचित रहेको छ । यो पद्यगत आयामका दृष्टिले सङ्ग्रहकै सबैभन्दा लामो कविता हो । इलाम जिल्ला कृषि र पर्यटनका क्षेत्रमा प्रसिद्ध रहेको छ । भ्रूण प्रश्नभित्रको अर्काे प्रकृतिको चित्रण गरिएको कविता हो के छैन नेपालमा ? रहेको छ । नेपालको प्रकृतिको सुन्दर चित्रण गरिएको यस कवितामा नेपाली युवाहरु आफ्नो देशमा केही नभए झैं गरी विदेश जाने प्रवृत्तिको विरोध छ । कस्तुरी मृगले आफैभित्रको सुगन्धलाई नभेटेर वासना खोजेजस्तै हाम्रो देशका युवाहरु के को प्यासले विदेश गएका हुन् भन्ने प्रश्न यसमा गरिएको छ । सङ्ग्रहका प्रेम १ र प्रेम २ प्रेम विषयक कविता हुन् । यिनमा मायाप्रेमको विषय छ । शरद कवितामा शरदको प्रकृतिको सुन्दर चित्रण गरिएको छ । शिशिर सौन्दर्य ऋतु वर्णनमा केन्द्रित रहेको छ । उनका कतिवामा गुरूको महिमाको गान गरिएको छ । उनको गुरू कवितामा गुरूभक्तिको भाव पाइन्छ । उनका कविता मातृ, पितृ, बन्दना पाइन्छ । उनका आमा, बा, वृद्धाश्रमको प्रश्नजस्ता कविताहरुमा यस खालका छन् । वृद्धाश्रमको प्रश्नले आफ्ना सन्तानका लागि बाबुआमाले के गर्दैनन् । तर, पनि वृद्ध अवस्थामा सन्तान किन यस्ता हुन्छन् भन्ने प्रश्न उठेको छ ।
उनका कतिपय विचारप्रधान कविता पनि रहेका छन् । त्यस खालका कवितामा ज्ञानशाला, न्यायको आयु, विचार प्रवाहजस्ता कविताहरु विचारप्रधान देखिन्छन् । धन सम्पत्ति हुँदा सबै आफन्त नजिकिने र त्यही नहुँदा सबै टाढिने यथार्थ यसमा छ । धनसम्पतिका भरमा दम्भ नदेखाउन आग्रह गर्छिन् कवि । मान्छे जन्मेपछि मर्छ भन्ने अन्तिम सत्यलाई समेत कवितामा देखाइएको छ । यस्तै कवितामा न्यायको आयु पनि आएको छ । वर्तमान समयको न्यायालयमा गतिविधिका कारण न्याय कहिलेसम्म बाँच्दछ भन्ने प्रश्न उठाएकी छन् । उनको ज्ञानशाला कवितामा निरन्तर सङ्घर्ष गरे सफलता पाइन्छ भन्ने भाव रहेको छ । ज्ञानशाला साँच्चै ज्ञानशाला नै रहेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय खुल्ला विद्यालयको कक्षा ९–१० को नेपाली पाठ्यपुस्तकमा समेत समावेश गरिएको कविता सन्देशप्रधान छ । उनले अग्रजहरुलाई समेत स्मरण गरेकी छन् । राष्ट्रकविप्रति र लेख्न बाँकी छ भानु शीर्षकका कवितामा आदिकवि भानुभक्त आचार्यको काव्यजगत्मा आज पनि खाँचो रहेको कुरा व्यक्त गरिएको छ भने राष्ट्रकविप्रति कविता राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति श्रद्धासुमन व्यक्त गरिएको छ ।
भावविधान वा केन्द्रीय कथ्यः टीका आत्रेयका कविताहरु लयात्मक, रागात्मक र कलात्मक छन् । सबै कविता छन्दमा सिर्जना भएकाले उनका कविता लयात्मक छन् । खरो प्रस्तुतिले राग उत्पन्न गराउँछन् । लयविधानले गर्दा कविता पठनीय र श्रवणीय हुन्छ । उच्चारणगत ध्वनि झङ्कारसँग सम्बन्धित लयले कवितालाई ग्राह्य बनाउँदछ । टीका आत्रेयका कविताहरु लयविधानका दृष्टिले उत्कृष्ट रहेका छन् । सबै कविताहरु शास्त्रीय छन्दमा संरचित रहेका छन् । शार्दूलविक्रीडित, पञ्चचामर, इन्द्रबज्रा, मालिनी र शिखरिणीजस्ता शास्त्रीय छन्दका प्रयोगले कविता लयात्मक बनेका छन् ।
कथनपद्दतिः कवितामा विषयवस्तुलाई प्रस्तुत गर्ने शैली कथनपद्दति हो । कथनपद्दतिलाई दृष्टिविन्दु पनि भनिन्छ । टीका आत्रेयका प्रायः कविता आत्मलापी कथन पद्दतिका छन् ।
बिम्ब, प्रतीक र अलङ्कारः आत्रेयका कविताहरु बिम्बयुक्त छन् । उनले प्राकृतिक समसामयिक, संवेदनात्मक र सांस्कृतिक क्षेत्रका बिम्बबाट कवितालाई सुन्दर पारेर सिँगारेकी छन् । उनका अधिकांश कविताहरु बिम्ब र प्रतीकका माध्यमबाट उत्कृष्ट देखिन्छन् । टीका आत्रेयका कवितामा ग्रामीण परिवेशका कुटो, कोदालो, हँसिया, सिस्नो जस्ता ससाना प्रतीकको प्रयोग भएको छ ।
भाषाशैलीः कवितामा भाव र अनुभूतिलाई बहन गर्न भाषाको प्रयोग गरिन्छ । रागात्मकता, लयात्मकता संयोजन गर्नु भाषाको महत्वपूर्ण कार्य हो । अन्य साहित्यिक विधा झैँ कविता पनि भाषिक कला भएकाले मानक भाषाको व्यतिक्रमबाट निर्मित आलङ्कारिक भाषाको प्रयोग आत्रेयका कवितामा भएको देखिन्छ । आत्रेयका कवितामा अन्त्यानुप्रासको प्रयोग भएको देखिन्छ । कविताको अन्त्यमा मात्रागत रुपमा वर्णहरु दोहोरिने प्रक्रियालाई अन्त्यानुप्रास भनिन्छ । उनका कविताका पद्यका प्रत्येक हरफहरुका अन्तिमका वर्णहरुलाई मिलाउने कोशिस गरिएकाले अनुप्रास अलङ्कारको प्रयोग यिनका कवितामा पाइन्छ । यिनका कवितामा उपमा, उत्प्रेक्षा अलङ्कारको प्रयोग भएको देखिन्छ । आत्रेय आफ्ना कविताहरुमा सरल सहज भाषाशैलीको प्रयोग गर्दै भावपूर्ण कविताहरु रचना गर्न सक्ने एक प्रतिभाका रुपमा देखा परेकी छिन् । यिनका कविताहरु सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि सहजै बुझ्न सक्ने देखिन्छन् । भाषिक सरलता र आश्वाद्यका दृष्टिले सरसता आत्रेयका कवितामा पाइने भाषाशैलीगत विशेषता बनेका देखिन्छन् । उनका सबै कविताहरु शास्त्रीय छन्दमा संरचित भए पनि उनको शब्द चयन उत्कृष्ट देखिन्छ । उनले अनावश्यक तत्सम शब्दको प्रयोग गरेकी छैनन् र छन्द मिलाउने प्रक्रियामा उनले सचेतता अपनाएकी छन् । नेपाली शब्दकै समुचित प्रयोग गरिएको छ ।