झट्ट हेर्दा कुनै राम्रो सहरजस्तो विभिन्न आकृति र कलात्मक ढङ्गले सजिएका चिहान घरहरू, त्यो पनि राजमार्गछेउमै । तरहराकोे पानीपिया क्षेत्रमा देखिने यो दृश्य हेर्दा रमाइलो देखिए पनि यसको प्रभावले निकै महँगो मूल्य चुकाइरहनु परेको छ । साना–साना घरहरूजस्तो देखिने त्यो चिहान हेर्दा भने आकर्षक देखिन्छ । घना जङ्गल आसपासमा बनेका यी चिहानका कारण जङ्गललाई खण्डहर बनाउने निश्चित छ ।
जङ्गलमा बनाइएका चिहानहरू हेर्दा आफन्तको मृत्यु भएपछि कसले ठूलो चिहान निर्माण गर्ने भन्ने होडबाजी नै चलेको देखिन्छ । प्रतिस्पर्धा यही गतिमा जाने हो भने यसले वातावरणलाई नकारात्मक असर पुर्याउने देखिन्छ । त्यसकारण पनि जुन जुन जातिहरूले कङ्क्रिट चिहानलाई आफ्नो संस्कारको रूपमा मान्यता दिइरहेका छन्; उनीहरूलाई सजग गराउनुपर्ने देखिन्छ ।
तरहराको पानीपिया क्षेत्रमा मात्र नभई धरानको हरियाली सामुदायिक वन, यलम्वर वन, मुस्लिम समुदायको कब्रस्तान, लाङ्घाली सामुदायिक वन र पूर्वमा पर्ने बाँझगरा सामुदायिक वन क्षेत्र समाधिस्थलका रूपमा करिब ६० वर्ष अघिदेखि प्रयोग हुँदै आएको छ । मोरङका हाई–वेका जङ्गलहरूमा पनि थुप्रै चिहानहरू बनेका छन् । ती चिहानहरूले वन मास्ने क्रम रोकिएको छैन । वन क्षेत्र र सार्वजनिक जमिनमा कङ्क्रिट चिहान महँगो खर्च लगाएर बनाउने होडबाजीले गर्दा वनलाई प्रत्यक्ष असर पु¥याउँदै गइरहेको छ ।
आफन्तको मृत्यु भएपछि कुनै समुदायले श्मसान घाटमा लगेर जलाउँछन् त कुनै समुदायले तोकिएको समाधिस्थलमा पुर्छन् । जलाएर दाहसंस्कार गर्ने र समाधिस्थलमा पुर्ने चलन जातीय र धार्मिक संस्कारसँग जोडिएको छ । पुर्ने चलन भएका जातीय समुदायले सिमेन्ट प्रयोग गरी चिहानलाई कङ्क्रिटको घरको रूप दिन थालेको भने लामो समय भएको छैन । पछिल्ला केीिह वर्षयता भने होडबाजीको रूपमा कङ्क्रिटको चिहान बनाउने चलन बढ्दै गएको छ ।
यसलाई सबै सामुदायिक वनहरूले कडाइ गर्दै सबै जातीय समुदायले पनि अरू नै विकल्प खोज्नु जरुरी छ । जङ्गलमा कङ्क्रिटको चिहान बनाउँदा न पछि त्यहाँ रुख उम्रन्छ, न त पर्यावरण जोगिन्छ । उल्टै वातावरणीय रूपमा त्यसले असर पु¥याइरहेको हुन्छ । आफ्नो संस्कृतिको संरक्षण जति गौरवशाली हुन्छ; यसको प्रयोगले वनलाई मात्रै हैन; राष्ट्रलाई नै घाटा पुर्याउँछ । देखासिकीमा होस् या अञ्जानमा त्यस्ता प्रथाहरूले विवाद सिर्जना गर्ने अनि प्रकृतिप्रति प्रतिकूल प्रभाव पार्ने देखिन्छ ।
किरातीहरूले कङ्क्रिट चिहान सुरु गरेको देखासिकी अहिले बढ्दो छ । यसलाई सबै जातजातिहरूले विस्तारै रोक्दै जानुको विकल्प छैन । बारीका डिलहरूमा अनि जङ्गलमा मृत शरीर गाड्ने चलन समयको बहावसँगै कङ्क्रिट चिहानमा परिणत भयो । धरानको ब्रिटिस क्याम्पमा रहेको गोराहरूको चिहानको नक्कल गर्दै विक्रम सम्बत् २०२८ सालतिर धरानमा पहिलो कङ्क्रिट चिहानको निर्माण गरिएको तथ्याङ्क छ, जहाँ करिब साढे ७ हजार कङ्क्रिटका चिहान छन् । कङ्क्रिट चिहान सबैजसो प्रदेशमा प्रचलनमा रहेको छ ।
सामाजिक प्रतिष्ठाको रूपमा चिहानलाई हेरिँदा कङ्क्रिट चिहान बनाउने होडबाजी चलेको छ । यसरी बनाएको चिहानहरूले एकातिर आर्थिक अवस्था कमजोर भएकाहरूलाई आर्थिक भार बढाएको छ भने अर्कोतिर वन विनाशलाई सघाइरहेको छ । अझ पूर्वी नेपालको मुख्य राजमार्गका सिमसार क्षेत्रहरू पनि प्रभावित भइरहेका छन् । कङ्क्रिट चिहान नकारात्मक भएको सबैले मनन् गरी कङ्क्रिट चिहान बनाउने अभियान अब हामी सबैले रोकौं ।
तरहरामा एक चिहान, एक बिरुवा अनिवार्य
जङ्गलमा चिहान निर्माण तीव्र हुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु नभएको भने होइन । कङ्क्रिट चिहान निर्माण गर्ने क्रम बढ्दै गएपछि हाँसपोसा सामुदायिक वनले यो वर्षदेखि भने कङ्क्रिट चिहान निर्माण गर्न रोक लगाएको छ । जङ्गलमा चिहान राख्न पाए पनि कङ्क्रिट बनाउन नदिने निर्णय भएको सामुदायिक वनका अध्यक्ष महेन्द्र गिरी बताउँछन् । गिरी भन्छन्, ‘यसरी कङ्क्रिट चिहान बनाउने क्रम नरोकिए वन क्षेत्र ध्वस्त हुन्छ ।’
चिहानको वरिपरि बिरुवा रोपेमा त्यसले मृत्यु भएका आफन्तको सम्झना गराउनुका साथै वन संरक्षणमा टेवा पुग्ने गिरी बताउँछन् । राई, लिम्बू, मगर, दशनामीलगायत सबै जातजातिहरूलाई एकै ठाउँमा राखेर कङ्क्रिटको चिहान नबनाउने सहमति भएको छ, तर सामुदायिक वनले जङ्गलमा गाड्न रोक लगाएको छैन ।
लाश गाड्ने र त्यसमाथि अनिवार्य बिरुवा रोप्नु पर्ने नियम बनाएको छ । वन क्षेत्रमा कङ्क्रिट चिहान बनाउँदा यसले पु¥याउने असरबारे विभिन्न चेतनामूलक कार्यक्रम गरिँदै आएको छ । विभिन्न जातीय संस्थाहरूको पहलमा यो प्रथा रोक्न प्रयास गरिएसँगै संस्कारमा गाड्ने परम्परा भने यथावत् छ । यो सकारात्मक कुरा पनि हो ।