सम्पत्तिको लोभमा व्यक्ति हत्या गर्नेजस्ता अपराध बढिरहेको छ । मानिसलाई सम्पत्ति, सत्ता र सुन्दरीले लट्याउँछ । यसको लोभको जालमा फसेपछि व्यक्ति हत्याका शृङ्खलाहरू पछिल्लो समयमा बढेका छन् । सम्पत्ति, सत्ता र सुन्दरीको लोभलालचमा हाम्रो समाज कतातिर जाँदैछ भन्ने व्यक्ति हत्याका तथ्य र चरित्रले देखाउँछ । गत माघ ११ गते मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा शम्भुकुमार चौधरी, माघ १३ गते सोही उखुबारीमै राजेन्द्रकुमार श्रेष्ठको शव फेला परेको थियो । उक्त घटनासँग जोडिएका मोहन लिम्बूको शव माघ २८ गते ललितपुरको ठेचोमा फेला परेको थियो । तीनैजनाको हत्या सिरहाका अनिलकुमार मण्डलले गरेका थिए । श्रेष्ठको शव धनपालथान–७ स्थित उखुबारीमा ७ फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । प्रहरीले श्रेष्ठको साथबाट एनटिसीको सिमकार्ड, पर्स र सवारी चालक प्रमाण–पत्र पनि फेला पारेकोले सहज रूपमा सनाखत भएको थियो । सम्पत्तिको लोभमा परेर अनिलकुमार मण्डलले शम्भुकुमार चौधरीको पनि हत्या गरे । मण्डलले राजेन्द्रको हत्या गरेको देखेका चौधरीले अनाहकमा ज्यान गुमाउनु प¥यो । उनै मण्डलले तेह्रथुमका मोहन लिम्बूको पनि ललितपुरको ठेँचोमा हत्या गरे । यो घटना सम्पत्ति हत्याउने षड्यन्त्रले भएको थियो ।

घरजग्गाको कारोबार गर्दै आएका पार्टनरबीच सम्पत्तिको नाममा तीन जनाले ज्यान गुमाए । बैङ्कमा जग्गा धितो राखेबापत कमिसनमात्र करिब डेढ करोड रुपैयाँको लोभमा परेर आफ्नै साथीहरूको हत्या गरेको देखिएको छ । उक्त हत्याकाण्डपछि सम्पत्तिकै लोभमा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–२ बस्ने ४८ वर्षीय कमल श्रेष्ठले ९० वर्षीया आफ्नी आमा  जगमाया श्रेष्ठको हत्या गरे । बाबुले आफूहरूलाई जानकारी नै नदिई आमाको नाममा पाँच कठ्ठा जग्गा नामसारी गरिदिएको झोंकमा वृद्धा आमाको हत्या गरेको खुलासाले सम्पत्तिको लोभले मानिसलाई कतिसम्म पागल बनाउँदो रहेछ भन्ने देखिन्छ । यता सम्पत्तिकै कारण इलामको चुलाचुली घर भई बहराइनमा कार्यरत दिनेश सिग्देल आफ्नो कान्छी श्रीमती अनिता केसी सिग्देलकोमा आउँदा ज्यान गयो । उनको हत्या यति बीभत्सरूपमा भयो कि शव पहिचान गर्नसमेत प्रहरीलाई हम्मेहम्मे प¥यो । विराटनगरमा कान्छी श्रीमतीले ‘स्लिपिङ ट्याब्लेट’ दिएर सुताएपछि आफ्नो प्रेमी सरोज भण्डारीसँग मिलेर सिग्देलको हत्या गरे । हत्या भएपछि शवलाई टुक्रा–टुक्रा पारेर दुईवटा जेब्रा झोलामा पोको पारी धरान–भेडेटार सडक–खण्डको आँपगाछी आसपासको जङ्गलमा ल्याएर फ्याँके । पुस २२ गते फ्याँकेको शव फागुन पहिलो सातामात्र दाउरा खोज्न जानेहरूले फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए । उनको हत्या हुनुको कारण चुलाचुलीको १७ कठ्ठा जग्गा बेचेको सम्पत्ति र बहराइनमा कमाएको पैसा कान्छी श्रीमतीको हातमा थियो । तर, कान्छी श्रीमतीले आफ्नो श्रीमान्को अनुपस्थितिमा आठ वर्षकी छोरीको आँखा छल्दै परपुरुषगमन गरेको सुइँको पाएपछि नेपाल आएको दुई दिन पनि नबित्दै उनको हत्या भयो । सम्पत्तिको खोजी गर्दा विवाद भएपछि अनिताले आफ्नो कथित प्रेमीलाई बोलाएर श्रीमान्को हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘धन देख्दा महादेवका पनि त्रिनेत्र’ भन्ने पुरानो नेपाली उखानलाई यी हत्याकाण्डहरूले चरितार्थ गरेका छन् । मानिसले आफूलाई सामाजिक प्राणीको रूपमा परिभाषित गरेको छ । तर, अपराध मनोविज्ञानले कोही पनि आफ्नो नहुने भएकाले सधैँ सजग र सतर्क हुनुपर्छ भन्ने पाठ सिकाउँछ । सत्ता, शक्ति, सुन्दरी र सम्पत्तिको लोभलालचले मान्छेलाई कतिसम्म अन्धो र भावनाहीन बनाउँदो रहेछ भन्ने ताजा उदाहरण यी हत्याकाण्ड भएका छन् । सत्ता, सम्पत्ति, सुन्दरी र शक्तिका लागि हुनसक्ने यस्ता हत्याकाण्ड हुन नदिन कानूनी कारबाही, दण्ड सजाय, कठोर कारावासको व्यवस्थाका साथै समाजमा नैतिकताको डर राख्न सिकाउने संयन्त्र बलियो बनाउनु जरुरी छ ।