धरान । गायक राजेशपायल राईले भ्वाइस अफ किड्स प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियोसहित सार्वजनिक गरेका छन् ।
पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक–श्रोताहरूले औधी मन पराइरहेको सामाजिक सञ्जाल तथा युट्युबको भ्युजले देखाएको छ । राजेशपायल राईको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीत नेपालसँगै कतारमा समेत ट्रेन्डिङमा रहेको छ ।
नेपालमा ‘सायारेम’ सँगै पेमा देचेन तामाङसँगको ‘सै हँमा’ र रुक्सना लिम्बूसँगको ‘चोरी भो’ गीत पनि युट्युब ट्रेन्डिङमा रहिरहेका छन् । राम्रा गीत–सङ्गीतसँगै नयाँ प्रतिभाहरूलाई समेत अवसर दिइराख्ने गायक राजेशपायल बताउँछन् ।
राजन मुकरुङको शब्द तथा सङ्गीत रहेको गीतमा रहेको ‘सायारेम’ शब्द गीतसँगै अहिले लोकप्रिय हुँदैछ । मुन्दुमी शब्दबाट सापटी लिइएको ‘सायारेम’ को अर्थ ‘बल, शक्ति मिलोस्, आशीर्वाद मिलोस्, शिर उच्च होस्’ भन्ने रहेको छ ।