मोरङको उत्तरी क्षेत्रमा पर्ने लेटाङ नगरपालिका–८ जाँते–ज्यामिरे बस्ने १२ वर्षीया करुणा राई विद्यालयमा छुट्टी भएपछि घर पुग्न नपाई उनको जघन्य बलात्कारपछि हत्या भएको छ । बलात्कार र हत्या दुवै अमानवीय अपराधिक मानसिकताबाट उब्जने अस्वीकार्य गतिविधि हो । बलात्कार र हत्याको अरोपमा प्रहरीले सोही वडामा बस्ने ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिसकेको छ । बलात्कारपछि करुणाको मुख थुनेर हत्या गरेको गिरीले स्वीकारी सकेका छन् । बलात्कार गरेपछि पोल खुल्ने डरले गिरीले हत्या गरेको प्रहरीको भनाइ छ । बलात्कारपछि हत्या गरेर गिरीले करुणाको शवलाई केराको झ्याङको खाडलमा ढुङ्गाले थिचेर गाडेको पनि स्वीकारेका छन् । प्रहरीले गिरीलाई कर्तव्य ज्यान र जवरजस्ती करणाी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । विद्यालयबाट घर पुग्न करिब १ घण्टा लाग्ने त्यो पनि जङ्गलको बाटो हिँड्नु पर्ने बुझेका गिरीले एक्लै हिँडिरहेकी करुणालाई बल प्रयोग गरेर पहिले बलात्कार गरेर हत्या गरेको सार्वजनिक भएको छ । अब यहाँ प्रश्न उठ्छ, छोरीका रूपमा जन्मनु करुणाका लागि गल्ती थियो ? ६३ वर्षीय गिरीलाई पुरुषको नाममा कलङ्क बन्न कसले प्रेरित ग¥यो ? हत्या र बलात्कार दुवै जघन्य अपराध हुन् ।
करुणालाई बलात्कारपछि हत्या गर्ने हिम्मत जुटाउन गिरीलाई अरू कसैले प्रेरित नगरे पनि यो समाजमा महिला र बालिकालाई हेर्ने दृष्टिकोण, सङ्कथन, भाष्य आदिले बल पु¥याएको मान्न सकिन्छ । प्रायः जुनसुकै धर्मले स्त्रीलाई पुरुष बराबरीको स्थान दिएको छैन । समाज र परिवारमा पनि स्त्रीको स्थान दोस्रो दर्जाकै रूपमा लिने गरेको छ । अझ आधुनिक समयमा समेत स्त्रीलाई यौन खेलौना, भोग्या, पुरुषको मन बहलाउने वस्तुको रूपमा व्याख्या गर्ने र सोहीअनुसार व्यवहार गर्ने गरिएको छ । यौन मनोविज्ञानले बालिका बलात्कार घटनालाई मानसिक रूपमा आउने यौन विचलनसँग जोडेर हेर्ने गरेको छ, तर यो विचलन कसरी किन पुरुषमा आउछ भन्ने विषयमा अनेक धारणाहरू आएका छन् । नेपालको कानूनले १८ वर्ष मुनिका कुनै पनि बालिकासँग भएको सहमतीय यौन गतिविधिलाई बलात्कारको रूपमा व्याख्या गरेको छ । सहमतिमै भएका यौन गतिविधि भए पनि नेपालको कानूनले १८ वर्ष मुनिका बालिकासँग कुनै पनि पुरुषले यौन सम्पर्क गरेमा त्यसलाई बलात्कार मानेर जवर्जस्ती करणी मुद्दा लाग्ने प्रावधान छ । कानूनले बलात्कारीलाई एक प्रकारको डर पैदा गरिदिएको छ, तर पनि किन करुणा जस्ता निर्दोष बालिकाहरू बलात्कृत भएर मारिन्छन् ? यो प्रश्न पेचिलो बन्दै गएको छ । अहिले समाजमा कुनै पनि हिंसा, हत्या र बलात्कार भए पनि त्यस घटनामा संलग्न पुरुषमा प्रत्यक्ष डर त्रास वा भय हराउँदै गएको प्रमाण हो करुणाको बलात्कार पछि हत्याकाण्ड । बालिका बलात्कारपछि हत्या भए पनि बलात्कारी र हत्यारा पुरुषले केही वर्ष जेल बसेर निस्कन्छु भन्ने मनोवैज्ञानिक आधार तय गर्नु पनि कानूनको भय वा डर पन्छाउने माध्यम हो । यद्यपि, एकजना ६३ वर्षीय प्रौढ पुरुषले १२ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेकोमा कर्तव्य ज्यान र जवर्जस्ती करणी गरी दुई मुद्दा लाग्ने र उसले जन्मकैद (२५ वर्ष बढी) सजाय पाउने सम्भावना छ ।
बालिका बलात्कारी र हत्यारालाई आजीवन कारावासको सजाय दिए पनि बलात्कार र हत्याको क्षतिपूर्ति भने कहिलै हुनेवाला छैन । जेलमा पालिएर बस्ने काम मात्र हुने छ । बलात्कारीलाई जेलमा थुनेर पाल्ने होइन, सोझै मृत्युदण्डको व्यवस्था नेपालको संविधानमै गर्नुपर्ने देखिन्छ । जेलमा थुनेर पाल्दा सरकारको खर्च बढ्छ । सरकारको खर्च बढ्नु भनेको त्यही बलात्कृत भएकी वा हत्या भएकी महिला बालिकाको परिवारले तिरेको करले पालिनु हो । यसो भनिरहदा मानवअधिकारवादीहरूले बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिनु हुँदैन भनेर वकालत गर्न सक्छन् । हिंसाको बदला हिंसा हुन सक्दैन भनेर तर्क उठ्न सक्छ, तर बलात्कार र हत्या भनेको जघन्य अपराध हो । सामान्य अपराध होइन । बलात्कार र हत्या गरेको पुष्टि भएको लगतै मृत्युदण्ड दिने व्यवस्था भए कुनै पनि पुरुषले महिला वा बालिका बलात्कार गर्नुअघि हजारपटक सोच्न बाध्य हुन्छ । सामान्य डर त्रास वा भय मात्र होइन मृत्युकै डरलाग्दो भय पैदा गर्ने गरी कानूनी व्यवस्था गर्नुको विकल्प छैन । तब मात्र करुणाको आत्माले शान्ति पाउँछ भने उनका परिवारले मानसिक राहत थोरै भए पनि पाउन सक्छन् । अन्यका लागि पनि एउटा नजिर बन्न सक्छ ।