विजयपुर । फक्ताङलुङ् मिडिया हाउसको प्रदेश नं १ स्तरीय गायन तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रदेश स्तरीय गायन तथा नृत्य प्रतियोगिताको दोस्रो सिजनको फाराम मङ्गलबारदेखि भर्न सकिने पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । पहिलो सिजन गरेपछि कोरोनाका कारणले रोकिएको दोस्रो सिजनका लागि फाराम खुल्ला गरेको जनाएको छ ।
हाउसले ‘गुणस्तरीय शिक्षा हाम्रो चाहना, शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने नाराका साथ ‘एसईई स्टेट–१ सिङ्गिङ आइडल सिजन–२ र एसईई स्टेट–१ डान्सिङ स्टार सिजन–१’ संयुक्त रुपमा गर्ने जनाएको छ । प्रतियोगितामा १४ वटै जिल्लाका एसईई दिएर बसेका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् ।
प्रतियोगिताको पहिलो अडिसन बैशाख तेस्रो हप्ता ओखलढुङ्गाबाट गरिने बताइएको छ । आवेदन फाराम फागुन–१७ गतेदेखि खुल्ला गरिएको छ । गायन तथा नृत्य दुबै प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ नगदसहित कक्षा ११ र १२ अध्ययनमा छात्रवृत्ति, एउटा गीत रेकर्डिङ गर्ने अवसर दिइने छ ।
फष्ट रनरअपलाई ३० हजार रुपैयाँ नगदसहित कक्षा ११ र १२ मा ५० प्रतिशत छात्रवृत्ति दिइने छ । सेकण्ड रनरअपलाई २० हजार नगद कक्षा ११ र १२ मा ३० प्रतिशत छात्रवृत्ति दिने आयोजकले जनाएको छ ।