पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न थालिएको छ । याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको हो ।
कूल रु छ करोड ९४ लाख ६१ हजारको लागतमा निर्माण हुन लागेका ती आयोजना सांसद योगेश भट्टराईले शुक्रबार शिलान्यास गरे। ती आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत तथा गाउँपालिकाको ३० प्रतिशत रकम ब्यहोरेका छन् ।
आयोजनाअन्तर्गत निशान कालिकाधाम र याङ्वरक पोखरीे विस्तार एवं निर्माणसँगै बालउद्यान, विश्रामस्थल, धार्मिक तथा सांस्कृतिक महत्वका मूर्ति, माछा पोखरी र धारा, विश्रामस्थल तथा सेल्फी खिच्ने ठाउँ, स्थानीय संस्कृति, परम्परा तथा जनजीवन झल्कने मूर्ति, घण्टी, फूलबारी र पोखरीको दृश्य, नागको मूर्ति, मुख्य प्रवेशद्वार, याङ्वरक स्तम्भ, हतियारका आकृतिलगायत संरचना निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिए।
सांसद भट्टराईले निशान कालिकाधाम तथा याङ्वरक पोखरी ती संरचनाको निर्माणपछि यहाँ नयाँ पर्यटकीय गन्तव्य थपिने भएकाले पूर्वाधारको विकाससहित प्रचारप्रसारमा पनि ध्यान दिन सुझाव दिनुभयो । पर्यटकीय क्षेत्रलाई स्थानीयवासीको आयआर्जनको माध्यम बनाउन सकेमात्रै सरकारी लगानीले उचित प्रतिफल दिने उनको भनाइ थियो ।
नेपाल एकीकरणका क्रममा तत्कालीन पल्लोकिराँत लिम्बुवानअन्तर्गतका सुब्बाले प्राप्त गरेका श्रीजङ्गी र श्रीकम्फू निशान प्रदर्शन तथा संरक्षण गर्ने स्थल रहेको निशान कालिका धाम धार्मिक महत्वको क्षेत्र मानिएको छ ।
याङ्वरक पोखरीलाई लिम्बु समुदायले साँस्कृतिक एवं धार्मिक आस्थाको केन्द्रको रुपमा लिने गर्दछन् । ‘याङ’को अर्थ पैसा र ‘वरक’को अर्थ पोखरी हो । भगवान् (तागेरा निङ्वाभुमाङ)ले स्नान गरेको विश्वास गरिने यो स्थानमा याङ र वरक झल्कने प्रतिमा विशेष आकर्षणका रुपमा रहने गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ थियो।
यहाँ पर्यटकीय पूर्वाधार निर्माणका लागि दुई वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)) निर्माण गरिएको थियो । विसं २०८१ भित्र निर्माण गर्ने समझदारीसहित निर्माण कार्यको ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।
उनका अनुसार ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवी, तिम्बु पोखरी, मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङलगायत क्षेत्र पुग्ने पर्यटकलाई यहाँ आकर्षित गर्ने गाउँपालिकाको योजना छ ।