गुरुरु... एउटा ल्याण्डरोभर गुड्दै आयो ।
‘ड्वाङ्ग’ आवाज आयो । त्यसतर्फ ध्यानाकर्षित भएँ, मेरो आँखा पर्यो एउटा दृश्यमा । ल्याण्डरोभर रोकियो । त्यसपछि ड्राइभर उत्रिए, उनी एउटा बालकलाई खेद्न थाले । आक्रोसित ड्राइभरले बालकलाई समातिहाल्यो र भकुर्न थाल्यो । त्यसपछि सुनियो, ती बालकको कहालीलाग्दो रोदन । त्यो दृश्य देखिरहेको थिएँ म ।
त्यो समय बिहानको थियो । म गाई चराउन चिहाने पाखा पुगेको थिएँ । बिहान गाईको स्याहारसुसार गर्नु पर्दा म सकभर चराउन लान्थेँ । चराउन नलगे त घाँस काट्न जानुपर्ने हुन्थ्यो । त्यस्तो अवस्थामा पढ्ने कसरी, लेख्ने कसरी ? गाईलाई चराउन लगियो भने त पढ्न पनि सकियो, लेख्न पनि सकियो । गाई पनि अघाउने, घरले सुम्पिएको जिम्मेवारी पनि निर्वाह हुने । अनि त्यही समयमा पढ्न पनि पाइने ।
यस्तै गरिरहेको बेला माथि उल्लेखित दृश्य देखेँ । त्यो बेला म कक्षा ९ मा पढ्थेँ । कुरा पर्यो, २०४४ सालको ।
अब भएन, ती ड्राइभर र बालकलाई छुट्याउन पर्यो भन्दै म त्यसतर्फ दौडँदै थिएँ । त्यहीँ बेला एक जना भद्रभलाद्मी बटुवाले उनीहरूलाई छुट्याइहाले । तत्काल घटेको एउटा समस्या समाधान भइहाल्यो ।
धनकुटामा सञ्चालित एउटा परियोजनामा कार्यरत राजगुरु नामका ती ड्राइभरले ती भद्रका कुरा सुन्नासाथ ती बालकलाई भकुर्न छाडिदिए, र भने, ‘अबदेखि गुडिरहेको गाडीलाई कहिल्यै पनि लौरोले हान्ने नगर है ।’
म त्यो दृश्य देखिरहेको थिएँ, ती बालक हिक्का मात्र छाडिरहेका थिए, मैले बालकलाई चिनिहालेँ ।
ती सवारी चालकसँग मेरो पनि राम्रो चिनजान थियो । कता के कस्तो हालतमा हुनुहुन्छ कुन्नि यतिखेर ?
ती बालक हरेक दिन दूध पु¥याउन वारि पात्लेबाट धनकुटा बजारतिर झर्थे, मेरो टोल हुँदै । मेरो टोल पर्यो पात्ले, कागते र धनकुटा बजारबाट बीचको ठाउँ । मास्तिरको टोलदेखि बजारतिर र बजारदेखि मास्तिरको टोलतिर त्यहीँ बाटो भएर ओहोर–दोहोर गर्नेको दृश्यको द्रष्टा हुने नै भइयो ।
त्यसैले त्यो बालकलाई पनि दूध बेच्न भरिएको ट्यामी बोकेर बजारतिर झरिरहेको र खाली ट्यामी बोकेर घरतिर उक्लिरहेको देख्थेँ । उनको हातमा एउटा लौरो पनि हुन्थ्यो । त्यही लौरोले ल्याण्डरोभरको पछाडितिर हानिदिएछन्, र त्यो घटना हुन पुग्यो । मलाई लाग्छ, लौरो टेक्नुपर्ने उमेर वा अवस्थाका नभए पनि ती बालकले बिहान झिसमिसेमै दूध पुर्याउन बजार क्षेत्रतिर झर्नुपर्ने भएकोले भुस्याहा कुकुरहरूले आफूलाई झम्टलान् भनेर तिनीहरूको प्रतिकार गर्न लौरो बोकेको हुनुपर्छ ।
ती बालकको घरको नजिकैको तत्कालीन भाषा निमावि (हालः भाषा क्याम्पस) मा मैले २०३९ देखि २०४२ सालसम्म अर्थात् चार वर्ष पढेँ । कक्षा ४ देखि कक्षा ७ सम्म मैले त्यो विद्यालयमा पढेको हुँ । त्यसैले ती बालक परिचित थिए मेरा लागि, सामान्य परिचयको सन्दर्भमा । उनी पनि सानो कक्षामा त्यही विद्यालयमा पढ्थे । तर, ती बालकका अभिभावकलाई म एउटा गौरवपूर्ण परिवारको रूपमा मनमनै सम्मान गर्थें ।
त्यो परिवारः एउटा गौरव
दूधको ट्यामी बोकेर फर्किरहेको बेला ल्याण्डरोभरको पछाडिको भागमा लौरोले हानेका कारण यातना भोग्ने, ती बालक थिए, वारि पात्ले निवासी गोपाल वाग्लेका कान्छा छोरा । गोपाल वाग्ले पर्नुभयो, मैले ठूलो सम्मानका दृष्टिले अहिलेसम्म हेरिरहेको एउटा औसत मानिस र मेहनती कृषक ।
गोपाल दाइ त्यो समय कृषि कर्मचारी हुनुहुन्थ्यो । दिनभर कृषि कार्यालयमा काम गर्ने उहाँको रातभर भने अर्कै काम हुन्थ्यो । किसान र मजदुरको मुक्तिको दर्शन पढाउँदै, सङ्गठन गर्दै जिल्ला–जिल्ला र गाउँ–गाउँमा छरिएका भूमिगत नेताहरूको सुरक्षा र स्याहारसुसारमा यो परिवारले ठूलो योगदान गरेको छ । उस्तै परे राज्यबाट त्यो समयमा जे पनि हुनसक्थ्यो यो परिवारमाथि ।
गोपाल वाग्लेको परिवारले यस्तो चुनौतीपूर्ण काम गरिरहेको विषयमा म त्यसबेलै जानकार थिएँ । एउटा फुसको छानो भएको पुख्र्यौैली झुपडी थियो, उहाँको त्यसबेला । त्यही झुपडीमा हुने गथ्र्यो, देशलाई निरङ्कुशताबाट मुक्ति दिलाएर समानता र आत्मसम्मानका साथ बाँच्न सक्ने सपनाका कुरा ।
त्यो फुसको छानोले ओत दिन्थ्यो, छानोभित्र खानाको पनि बन्दोबस्त गर्नुपथ्र्यो । खाना खाएपछि त पाइखाना पनि चाहिन्छ । खुला दिसापिसाबमुक्त थिएन, वारि पात्ले त्यो बेला । न थियो, पाइखानाको व्यवस्था घरभित्रै । त्यसैले उहाँको परिवारले त्यो बेला भूमिगत नेताहरूका लागि कोपारोको व्यवस्था गरेको थियो । त्यही कोपारो बोकेर गोपाल दम्पतीले धेरै भूमिगत नेताहरूको मलमूत्र बोकेर खोलाखाल्सातिर विसर्जन गरेको छ ।
बेलाबेलामा गोपाल दाइसँग मेरो कुराकानी हुने गरेको थियो पुरानो प्रसङ्गमा । उहाँले भन्नुभएको एउटा अर्को मनन्योग्य कुरा थियो, ‘आम्मामा, कमरेडहरूको लुगामा त कति हो कति जुम्रा ।’
जुम्रा अर्थात् परजीवी । अरू र त्यसमा पनि मानिसको रगत चुसेर बाँच्नु पर्ने ।
गोपाल दम्पती त्यो भूमिगतकालका नेताहरूको जुम्रे लुगालाई तातोपानीमा उसिनेर जुम्रालाई कालगतितिर पठाउने कार्यमा बडो उत्साहपूर्वक जुट्थ्यो । जसरी शोषक र सामन्तहरूले देशलाई चुसिरहेको थियो वा छ, त्यसरी नै भूमिगत नेताहरूको रगत जुम्राहरूले चुसिरहेका थिए । गोपाल दम्पतीका लागि यो कुरा सह्य हुने सम्भावना नै भएन । त्यसपछि जुम्राको काल । गोपाल दम्पतीले त्यो बेला झल्झली देख्थ्यो, यस्तै चुसाहाहरूको अन्त्य हुनका लागि आउने कुनै दिनको सपना ।
सुरक्षाका कारण कार्यकर्ता वा जनताले जता व्यवस्था गर्यो, त्यतैतिर बास सर्दै आश्रय लिनु पर्ने भूमिगत कमरेडहरूको शरीरमा जुम्रा त सर्ने नै भयो । सुकिला मुकिलाहरूको घरमा उहाँहरूको बास हुने कुरा पनि भएन । यसरी भूमिगत कमरेडहरूको जुम्रासहितको लुगा उसिनेर जुम्रा सखाप पारिदिने गोपाल वाग्लेको परिवारलाई सम्झँदैमा पनि गौरव महसुस गर्छु म ।
गोपाल दाइ निर्भीक र बलिया पनि । उनै भूमिगत कमरेडहरूको सङ्गतको प्रतिफल हुनसक्छ, यस्तो आँट र उत्साह । त्यो बेला वारि पात्लेमा धेरै स्थानीय खुराफातीहरू थिए । प्रहरी प्रशासनमा पोलझोस लगाइदेलान् भन्ने अर्को डर । त्यसमाथि पनि उहाँ आफू सरकारी कर्मचारी । तर, उहाँको निर्भीकता मैले भाषा निमावि पढ्दा पटक–पटक देखेको छु । उहाँबारे पोलझोस गर्न स्थानीय खुराफातीहरू भयभित हुने गरेका थिए । उहाँले यस्तै आँट र उत्साहका साथ भूमिगत नेताहरूको मलमूत्र सोहोर्नुभयो, उनीहरूका लुगाका जुम्रा सखाप पारिदिनुभयो ।
गोपाल वाग्लेले दिनुभएको त्यो सेल्टरमा कस्ता कस्ता नेता गएका छन् दाजु ? मैले अग्रज जीवप्रसाद पोखरेलसमक्ष जिज्ञासा राखेँ । उहाँले भन्नुभयो, ‘सबैखाले नेता त्यहाँ आश्रित हुनुभएको छ । मदन भण्डारी, अशोक राईलगायत धेरै ।’
आहा ! कति निष्ठापूर्ण आस्थाको त्यो भारी बोकाइ ।
नसकिएको सङ्घर्ष
बहुदल आयो, स्वप्नजीवी गोपाल वाग्लेहरूले देखेको सपना थियो त्यो । उहाँको सामान्य जागिरे जीवन चलिरहेकै थियो । छोराछोरी हुर्कंदै थिए । बहुदल लगत्तै केही समय मैले गोपाल दम्पतीले धनकुटा हुलाक टोलको एउटा सडक किनारामा प्लाष्टिक ओछ्याएर अति सामान्य सडक व्यापार गरिरहेको पनि देखेँ ।
सस्तो र सामान्य सामग्री हुने गरेको थियो, उहाँहरूको त्यो सडक पसलमा । तर, पनि कुनै हीनताबोध थिएन, त्यो परिवारमा । न थियो, कुनै महात्वाकाङ्क्षा । बरु हिजोको सङ्कटकालीन पञ्चायती कालरात्रीलाई भूमिगत कमरेडहरूको जुम्रा मारिदिए झैँ सखाप पार्न घरमा सेल्टर दिएर आफूहरू सफल भएको गौरव बोकेर हिँडिरहेको देख्थेँ म उहाँ र उहाँको परिवारलाई । सडक व्यापार चाहिँ भाउजूले हेरिरहनुभएको देख्थेँ ।
देशले निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाबाट मुक्ति त पायो, तर, गोपाल वाग्लेहरूको सङ्घर्षले विश्राम लिन पाएन र त सडकमा प्लाष्टिक ओछ्याएर खित्रिङमित्रिङ सामान बेच्नुप¥यो । सामान्य जागिर छँदै थियो । घरबारीमा सागपात उमार्ने र बेच्ने काम पनि छँदै थियो ।
त्यो बेला म पढेको भाषा निमाविदेखि एक मिनेट पनि लाग्दैन गोपाल दाइको घर पुग्न । तर, उहाँका छोराहरूले त्यति राम्ररी पढ्न पाएनन् । बुबाआमा भूमिगत नेताहरूको व्यवस्थापनमै व्यस्त । त्यसैले कलिला छोरा बिहान झिसमिसेमै दूघको ट्यामी बोकेर बजारतिर झर्नुपर्ने, घाँसपात र बारीको काम सम्हाल्नुपर्ने भएपछि पढाइमा छोराहरूले सोचेजस्तो ध्यान केन्द्रित गर्न कसरी सक्ने ? त्यसैले दूध बोकेर एकाबिहानै बजार झर्ने उहाँका कान्छा छोराले त्यो समय यातनासमेत भोगेको साक्षी मै हुँ । यस्ता बकपत्रहरू अझै पनि लेख्दै जानेछु ।
तर, पनि गोपाल दाइले पार्टी र राज्यसँग केही माग्नुभएन । उहाँले निष्ठापूर्वक आस्थाको झोला बोक्नुभयो । मैले गोपाल वाग्लेहरूबाट सिकेको पाठ हो, निष्ठापूर्वक आस्थाको झोला बोक्नेले अवसरको झोला पार्टी र राज्यसँग कहिल्यै पनि फिँजाउँदैन । साबिकको धनकुटा नगरमा भूमिगत नेताहरूलाई सेल्टर दिने गणेश राई, गोपाल वाग्ले, कुलकेशर वाग्ले र हाम्रो परिवारले पार्टी र राज्यसँग अवसर माग्न झोलाको मुख फिँजाएको प्रमाण कसैसँग छ ?
२०५५ सालको दशैँको बेला म अग्रज नेता गोपाल गुरागाईंको साथ लागेर गोपाल वाग्लेलाई भेट्न पुगेको थिएँ, वारि पात्ले । त्यो बेला उहाँले हामीलाई उहाँको बगैँचा घुमाउनुभयो । बाफ रे बाफ । त्यो त एउटा ठूलो प्रयोगशाला जस्तो । त्यसपछि म धनकुटा भएकै बेला उहाँकहाँ बन्दाकोपीको बेर्ना किन्न गएको थिएँ । पछिल्लो समय उहाँकहाँ मेरा साहिँला दाजुलाई पठाएँ रुद्राक्षको बेर्ना किन्न ।
उहाँ बोटबिरुवालाई असाध्यै माया गर्नुहुन्छ । तर, उहाँ अहिले पनि सबैभन्दा बढी त विचारको बिरुवालाई माया गर्नुहुन्छ । तर, म पनि यतिखेर परदेशमा छु । उहाँसँग मेरो नियमित सम्पर्क छैन । चिन्ता लाग्छ, यस्ता विचारका बिरुवाको गोडमेल गर्नेलाई कसले सम्झना गर्ने होलान् ? गोपाल वाग्लेहरूमा विचारको बिरुवा सार्ने चाहिँ गोपाल गुरागाईंहरू हुनुहुन्छ ।
म चाहिँ परदेशबाटै गोपाल वाग्लेहरूलाई यसरी सम्झना गर्ने गर्छु, जसरी हाम्रो घरमा दिइएको सेल्टरमा रेख ब्लोनहरू गाउनुहुन्थ्योः
‘हामीले गाउने गीत मजदुरहरूको,
किसानहरूको....’