धरान । एक्काइसौं मिस्टर धरान शारीरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यायामशालाका आशिष राईले जितेका छन् ।
उनी ७५ केजी तौल समूहबाट च्याम्पियन हुँदै ओभरअल राउन्डमा च्याम्पियन बने । धरान–८ स्थित सभागृहमा आयोजित कार्यक्रममा विजेता बनेका राईले नगद १ लाख रुपैयाँसहित मल्टी स्मिथ मेसिन, ट्रफी, मेडल र प्रमाण–पत्र पाए ।
एलाइनेट जिमको १९ औं प्रस्तुति रहेको प्रतियोगितामा ७० केजी तौल समूहका अर्पण लिम्बू दोस्रो, ६५ केजी तौल समूहबाट सन्तोष लिम्बू तेस्रो र ६० केजी तौल समूहका सन्तोष राई चौथो बने ।
प्रतियोगितामा ६० देखि ७५ केजी तौल समूहबीच भिडन्त भएको थियो । अन्य विजेताले नगद ४० हजार, ३० हजार, २० हजार रुपैयाँसहित ट्रफी पाए । त्यस्तै बेस्ट पोजरको उपाधि रिचर्ड तामाङ, मोस्ट इम्प्रुभमेन्ट सन्तोष लिम्बू र मोस्ट मस्कुलरको उपाधि प्रवेश लिम्बू घोषित हुँदै जनही नगद ५ हजार रुपैयाँ पाए ।
प्रतियोगितामा उपाधि विजेतालाई धरान उपमहानगरका प्रमुख तिलक राई, ओसियन पार्क इटहरीका सञ्चालक डम्बर तामाङ, आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरे ।
पहिलो दिन प्रिजर्जिङ राउन्ड र दोस्रो दिन हरेक तौल समूहबीच प्रतिस्पर्धा गर्दै विजेतालाई ओभरअल राउन्डमा प्रतिस्पर्धा गराइएको अध्यक्ष लिम्बूले जानकारी दिए । धरानमा पहिलोपटक २०२७ सालमा मिस्टर धरान भएको थियो । तत्कालीन समयमा रमेश खनाल पहिलो मिस्टर धरान बनेका थिए ।