२१ औं शताब्दीलाई आधुनिक समय मानिन्छ । यो आधुनिक समय भनेको मानव सभ्यता निर्माणको उत्कर्ष हो । संस्कार र संस्कृतिको विकासको चरम् उत्कर्ष पनि हो । सभ्य, सुशिक्षित, विकसित समाज र संस्कृति अँगालेको अवस्थामा पनि विभिन्न बहानामा अनेक शैली र उपाय अपनाएर मान्छेले मान्छेलाई बिक्री गर्ने आपराधिक काम पनि भइरहेको सुन्दा अनौठो नमाने हुन्छ । मान्छेले मान्छेलाई बिक्री गर्नु भनेको मान्छेले मान्छेलाई दाशको रूपमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन भएको छैन भन्ने सहजै बुझ्न सकिन्छ । विभिन्न मालसमान, सुन–चाँदी, पैसा त तस्करी भएकै छन् तर, मान्छेकै तस्करी हुनु मानव सभ्यतामा देखिएको कलङ्क हो । पछिल्लो समयमा नेपालबाट अन्य मुलुकमा मानव बेचबिखन बढ्दो छ । अशिक्षा, गरिबी, बेरोजगारी र उपभोक्तावादी संस्कृति आदिका कारण मानव बेचबिखन फस्टाउँदो छ । मानव तस्करहरू अनेक उपाय रचेर, प्रेमको नाटक गरेर, विदेशमा रोजगारी दिलाउने प्रलोभन देखाएर विशेषगरी बालिका र युवतीलाई लक्षित गर्दै गाउँघर पस्ने गरेका छन् । नेपाल र भारतबीचको सिमाना खुल्ला रहेकाले पनि मानव तस्करी बढेको हो । खुला सिमानाबाट त तस्करी हुने नै भयो, हवाई मार्ग भएर तस्करी गर्नेहरूले त्रिभुवन विमानस्थलबाटै पनि मानव तस्करी गरिरहेका छन् । मानवअधिकार आयोगले नेपालबाट वार्षिक ३० हजार मानिस मानव बेचबिखनको सिकार भइरहेको र १५ लाख नागरिक मानव बेचबिखनको जोखिममा रहेको बताउँदै आएको छ । आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा पिछडिएका समाजमा जो कोही अभावै अभावमा पिल्सिरहेका हुन्छन् । कसरी दैनिक गुजारा चलाउने भन्ने चिन्तामा रहेकाहरूले रोजगारी पाए जीवन धान्न सहज हुने सपना देखिरहेका हुन्छन् । बौद्धिकरूपमा पनि कमजोरहरू पनि तिनै समाजमा बढी हुन्छन् । मानव तस्करहरूले तिनीहरूलाई सबै भन्दा बढी लक्षित गर्ने गरेका छन् ।
तथ्याङ्क हेर्ने हो भने नेपालबाट विदेश लैजाने मानव तस्करको बिगबिगी नै छ । वैदेशिक रोजगारीको नाममा होस् वा विवाह गर्ने बहानामा गरिबी र बेरोजगारीको चपेटामा परेका महिलाहरू सबैभन्दा बढी मानव तस्करीको चपेटामा परेका छन् । रोजगारीका नाममा महिला मात्र होइन, पुरुषसमेत मानव बेचबिखनमा परिरहेका छन् । भारत हुँदै खाडीका देश, मलेसिया, युरोपेली मुलुक, अफ्रिकी मुलुक, अमेरिका, अष्ट्रेलिया, क्यानडामा समेत नेपाली महिलाहरूको तस्करी भइरहेको छ । तस्करीमा परेका पुरुष आर्थिक शोषणमा पर्ने गरेका छन् भने महिलाहरू आर्थिकसँगै शारीरिक शोषणमा पर्ने गरेका छन् । विदेशमा पु¥याइसकेपछि पासपोर्ट कब्जा गरेर महिलाहरूलाई तस्करहरूले यौनधन्दामा जबर्जस्ती धकेल्ने गर्दा वर्षौंसम्म जिउँदो लाश भएर बस्न बाध्य हुने गरेका छन् । सहरमा हुर्केर पढेलेखेका शिक्षित युवायुवतीसमेत विकसित देशमा अध्ययन र रोजगारीका नाममा तस्करीको सिकार भइरहेका छन् । पछिल्लो समयमा सबैभन्दा धेरै महिलाहरू खाडीका देश, मलेसिया र अफ्रिकी मुलुकमा तस्करी भइरहेका छन् ।
मानव तस्करी बढ्नुको कारण विशेषगरी गरिबी, अशिक्षा, बेरोजगारी, उपभोक्तावादी संस्कृतिलाई मानिएको छ । पैसा कमाउन र राम्रो रोजगारीको प्रलोभनमा परेर धेरै नेपाली मानव बेचबिखनमा पर्ने गरेका छन् । तस्करले कतिपयलाई राम्रो रोजगारीको प्रलोभन देखाएर तस्करी गर्ने गरेका छन् भने कतिपय पारिवारिक समस्याका कारण पनि रोजगारीको खोजीमा रहेका महिलाहरू मानव बेचबिखनमा परिरहेका छन् । मानव तस्करको नजरमा १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई लक्षित पर्ने गरेका छन् । मानव बेचबिखनजस्तो आपराधिक गतिविधिलाई रोक्नका लागि मानव बेचबिखनविरुद्ध सचेतना अभियान, उद्धार तथा पुनस्र्थापनाको कामलाई सरकारले तदारुकताका साथ गति दिनु जरुरी छ । मानव बेचबिखनमा परेर उद्धार गरिएका व्यक्तिलाई सीपमूलक तालिम, समाजमा पुनस्र्थापनाका लागि सहकार्य, रोजगार दिलाउने रणनीति सरकारले बनाउनु पर्ने हो तर, कागज र भाषणमै सीमित रहेका छन् सरकारका लिखित दस्तावेजहरू । यो विषयमा सरकार संवेदनशील बन्नुपर्ने देखिएको छ ।