पृष्ठभूमिः
विषयमा प्रवेश गर्नका निम्ति सानो खोजपछि थाहा भयो कि नेपालमा पीएचडी होल्डर मात्रै पाँचहजारभन्दा बढी रहेछन् । मास्टर्स डिग्रीबाट दीक्षित हुनेहरू त अनगिन्ती छन् । तुलनात्मक हिसाबले यो गौरवमय प्रगति हो । तर, यसरी शिक्षाबाट आर्जन गरेको ज्ञान सही ठाउँमा लगानी हुँदैन ।

उदाहरणः सबैले अनिवार्य जान्नै पर्ने ट्राफिक नियम पनि मानिसले यहाँ जान्दैनन् । यो लाजमर्दो मात्रै होइन, हाम्रो तीतो यथार्थ हो । नियम नजानेपछि, चालकले आफ्नो कमजोरी ढाक्न हर्नलाई हतियार बनाउँछन् । ‘हर्न बजाउन गलत हो’ भन्ने पनि कसैलाई लाग्दैन । हर्नको हल्लाले सडकछेउको बस्तीमा निदाउने मौका हुँदैन । सडक दुर्घटनामा मानिसको मृत्यु नभएको कुनै दिन हुँदैन । यस्ता कुराले ठूला–बडालाई केही फरक पर्दैन । भन्न त सबैले भन्छन्, ‘ट्राफिक नियम पालना गर है ।’

तर त्यसो भन्नेले नै नियम जान्दैनन् । भनेर मात्रै के हुन्छ र ? समस्याको स्रोत र समाधान पहिचान हुँदैन । चालक प्रमाण–पत्रको परीक्षा लिनेलाई त्यसको ज्ञान हुँदैन । होइन भने किन नेपालमा मात्रै जोखिमपूर्ण चालक उत्पादन हुन्छन् ? हाकिमहरू त्यस्ता कुरा नजाने झैं अभिनय गर्छन् । सिक्ने रुची कसैलाई हुँदैन । दुर्घटनाको समाचार सुन्दा ‘अरू–अरूको मात्रै मृत्यू हुन्छ’ भन्ने लाग्छ होला ।

हजारौं मृतकको रगतले भिजेको दुर्घटनाग्रस्त सडकमा आफै पनि यात्रा गर्नुपर्छ भन्ने कुरा बिर्सिन्छन् । अतः तुच्छ सोच भएका मानिसका निम्ति यो उपयोगी नभए पनि केही चेतनशील र नैतिकवानका निम्ति सहयोग पुग्छ कि ? भनेर ट्राफिकका जरुरी नियमहरू यहाँ प्रस्तुत गर्छु ।

‘अकालमा ज्यान नमरोस् र अपाङ्ग हुन नपरोस्’ भन्ने सङ्कल्प लिएर सचेतना फैलाउन सबैलाई निवेदन गर्दछु । तपाईंको इमान्दार प्रयासले समाजलाई ठूलो राहत पुग्नेछ ।

(क) प्रस्थान गर्नुभन्दा पहिला गाडीलाई तयारी गर्दाका कुराहरूः
(१)     सवारी साधनमा पुग्ने बेला कुनै क्षति भएको पो छ कि भनी १० मिटर दूरीबाट गाडीलाई निरीक्षण गर्नुपर्छ ।
(२)     अनि गाडीलाई एक चक्कर लगाएर चारैवटा चक्का ठीक अवस्थामा छन् कि छैनन् र कुनै जीवित प्राणी गाडीमुनी त छैन भनी हेर्नु पर्छ ।
(३)     अतिरिक्त चक्का र ज्याक गाडीमा छ भनी निश्चित गर्नु पर्छ ।
(४)     क्षमताभन्दा बढी लोड नहोस् भनी जाँच्नु पर्छ ।
(५)     पर्याप्त इन्धन, लुब्रिकेण्ट र पानी गाडीमा भरेको छ कि छैन भनी चेक गर्नुपर्छ ।
(६)     गाडीको कागजात, प्राथमिक उपचारका सामग्री र खाने खर्च जाँच गर्नु पर्छ ।
(७)     हेडलाइट, साइडलाइट र ब्रेकलाइट टेष्ट गर्नुपर्छ ।
(८)     चालक सिटमा बसेर ह्यान्ड ब्रेक कस्नु र गियरलाई न्युट्रलमा राख्नु पर्छ ।
(९)     त्यसैगरी चालकको सिटलाई मिलाउनु पर्छ ।
(१०)  सबै ऐनाहरू ठीक ठाउँमा मिलाएपछि सुरक्षा पेटी लगाउनु पर्छ ।

(ख)  प्रस्थान गर्दा ध्यान दिनुपर्ने कुराहरूः
(१)  प्रस्थानका निम्ति सबैकुरा तयारी भएपछि अगाडि बढाउनुभन्दा पहिला पछाडिको सडकमा ट्राफिक गतिविधि ऐनामा चेक गर्नुपर्छ ।
(२)  अनि आफू प्रस्थान गर्दैछु भनेर दाहिनेतिरको बत्तीले सङ्केत दिनुपर्छ ।
(३)  पछाडिको अवस्था एकपटक ऐनामा हेरपछि ह्यान्ड ब्रेक खोल्नुभन्दा पहिला ब्लाइन्ड स्पटमा केही चिज छलिएको छ कि भनेर आफ्नो दाहिने कुम माथिबाट पछाडि फर्केर हेर्नुपर्छ ।
(४)  अनि प्रस्थानको निम्ति सुरक्षित हुन्छ भने ट्राफिक नियम पालना गर्दै सामान्य गतिमा यात्रा सुरु गर्नु पर्छ ।
(५)  अगाडि बढ्नुभन्दा पहिला एकपटक फुटब्रेक टेष्ट गर्नुपर्छ ।  

(ग)  यात्राको दौरानमा सुरक्षाका कुराहरूः
(१)   तीव्र गतिमा हाँक्दा र क्षमताभन्दा बढी लोड बोक्दा ब्रेकले काम गर्दैन भनी बुझ्नु पर्छ ।
(२)     आफूलाई अस्वस्थ महसुस भए वा मापसे गरेको बेला साधन चलाउनु हुँदैन ।
(३)     ट्राफिक नियमलाई कहिले पनि अवज्ञा गर्नु हुँदैन ।
(४)     यात्राको क्रममा थाकेको महसुस भए एकछिन बिसाएर मात्रै चलाउनु पर्छ ।
(५)     लामो दूरीको यात्रामा २ जना चालक व्यवस्था गर्नु पर्छ ।
(६)     ड्राइभिङ गरेको बेला चालकको ध्यान भङ्ग हुन दिनुहुँदैन ।
(७)     ट्राफिक चिन्हहरूलाई ध्यान दिएर पालना गर्नु पर्छ ।
(८)     सडकको बीच सतहमा लेन छुट्याउन लगाइएको छोटा–छोटा टुक्राका सेतो रेखा सामान्य चिन्ह हुन् ।
(९)     लेन छुट्याउने सेतो रेखा टुक्रिएको छैन भने त्यहाँ ओभरटेक गर्न जोखिम हुने सङ्केत बुझ्नु पर्छ ।
(१०)   लेन छुट्याउने रेखा टुक्रिएको छैन र रेखा दोहोरो छ भने जोखिम भएकोले ओभरटेक गर्न निषेध गरिएको सङ्केत बुझ्नु पर्छ ।
(११)   पहेँलो रेखा कोरिएको छ भने सावधानीको सङ्केत बुझ्नु पर्छ ।
(१२)     जेब्राक्रसिङमा प्रवेश गरिसकेका पैदल यात्रीलाई पहिला सडक पार गर्न दिनु पर्छ ।
(१३)     जेब्राक्रसिङमा ठक्कर दियो भने जेल सजाय हुन्छ भनी बुझ्नु पर्छ ।
(१४)   बायाँबाट ओभरटेक गर्नु हुँदैन ।
(१५)   ओभरटेक गर्दाबाहेक सधैँ बायाँ लेनमा चलाउनु पर्छ ।

(घ)    ड्राइभिङ गरेको बेला ध्यान दिनुपर्ने कुराहरूः
(१)     गाडी चलाइरहेको बेला पछाडिको ट्राफिक गतिविधि छिनछिनमा ऐनाबाट चेक गरिरहनु पर्छ ।
(२)     साँघुरो सडकमा आफ्नो गति कमी भएकोले, पछाडि जाम भयो भने अथवा पछाडिको गाडीले ओभरटेक गर्ने मनसाय देखायो भने र उसलाई सुरक्षित हुन्छ भने आफ्नो गाडीको बाँयातिरको बत्तीले सङ्केत दिनुपर्छ ।
(३)     उसलाई सहज हुने गरी आफ्नो गाडीको गति नियन्त्रण गरेर ओभरटे    क गरी जान दिनु पर्छ ।
(४)     अथवा सडकको बायाँतिर बिसाएर पछाडि जाममा परेका गाडीहरूलाई अगाडि जान दिनु पर्छ ।
(५)     गाडी बिग्रियो भने सडकको बायाँतर्फ बिसाएर बायाँतिरको बत्तीले वा हाजार्ड बत्तीले सङ्केत दिनु पर्छ । १५ मिटर दूरीमा कोण राख्नु पर्छ ।
(६)     बायाँतर्फको बत्तीले सङ्केत दिएको अर्थ, बायाँ मोडिनेछु, अथवा सडकको बाँयातर्फ बस्नेछु भन्ने सङ्केत बुझ्नु पर्छ ।
(७)     त्यसकारण अगाडिको गाडीले बायाँतर्फको बत्तीले सङ्केत दिएको छ भने, पछाडिबाट ओभरटेक गरी जान सकिन्छ भन्ने सङ्केत बुझ्नु पर्छ ।
(८)     त्यसैगरी दाहिनेतर्फको बत्तीले सङ्केत दिएको अर्थ दाहिनेको लेनतिर जाँदैछु अथवा दाहिनेतर्फ मोडिनेछु भन्ने सङ्केत बुझ्नु पर्छ ।
(९)     धेरैले उल्टो सङ्केत प्रयोग गरेर हैरान बनाउँछन् । त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।
(१०)   कृत्रिम सङ्केत प्रयोग गर्दा अन्योल भएर दुर्घटना हुन्छ भनी बुझ्नु पर्छ ।
(११)   रातको समयमा विपरीत दिशाबाट आउने चालकले आँखा नदेख्ने गरी हेडलाइट हाई बिममा बाल्नु हुँदैन ।
(१२)   दुर्घटना भयो भने प्राथमिक उपचार गर्नु र पुलिसलाई खबर गर्नु अनि घटनाक्रम नक्सामा उतार्नु पर्छ ।
(१३)     हर्न बजाउँदा सुरक्षित हुन्छु भन्ने भ्रमबाट मुक्त हुनु पर्छ ।  

(ङ) सडकको जङ्क्सनहरू कसरी पार गर्ने ?
(१) आफू गुडिरहेको सडकबाट बायाँको सडकतर्फ मोडिनु पर्दा पछाडिको गतिविधि ऐनामा चेक गर्नुपर्छ । उचित दूरीबाट बायाँतिर बत्तीले सङ्केत दिने, गियर घटाउने, मोडिने ठाउँमा रोक्ने र सडक खाली भएपछि मोडिने गर्नुपर्छ ।
(२) दाहिनेतर्फ मोडिनु पर्दा, पछाडिको गतिविधि ऐनामा चेक गरेपछि उचित दूरीबाट दायाँतिर सङ्केत दिने, गियर घटाउने, मोडिने ठाउँमा रोक्ने र सडक खाली भएपछि मात्रै मोडिनु पर्छ ।
(३) मोडिनु पर्दा र लेन चेन्ज गर्नुपर्दा सडक खाली भएपछि मात्रै जानु पर्छ ।
(४) चक्रपथ पार गर्दा पछाडिको गतिविधि ऐनामा चेक गर्ने, गति घटाउने, चक्रपथ प्रवेश बिन्दुमा रोक्ने गर्नुपर्छ । (चक्रपथबाट बाहिरिने बिन्दुअनुसार लेन छानेर प्रवेश बिन्दु रोज्नु पर्छ), चक्रपथभित्र प्रवेश गरिसकेका, दाहिने तर्फबाट आउने गाडीहरूलाई जान दिनुपर्छ । खाली भएपछि चक्रपथ प्रवेश गर्नुपर्छ । बाहिरिने सडकतर्फ निस्किँदा बायाँ बत्तीले सङ्केत दिँदै बायाँ साइड चेक गर्दै चक्रपथबाट निस्किनु पर्छ ।
(५) ट्राफिक लाइट भएको जङ्क्सनमा रातो बल्दा रोक्ने, पहेँलो बल्दा तयारी हुने र हरियो बल्दा जाने सङ्केत हो ।
(६) एकभन्दा बडी लेन भएको हाई–वे सडकमा सवारी चलाउँदा सबैभन्दा कम गतिमा गुड्ने गाडीलाई सबैभन्दा बायाँछेउको लेनमा चलाउनु पर्छ ।
(७)   बाँयाबाट दोस्रो लेनमा सामान्य गतिमा गुड्ने गाडी चलाउनु पर्छ ।
(८)     तेस्रो र चौथो लेन ओभरटेक गर्दा प्रयोग गर्नुपर्छ ।
(९)    सडकको साइनबोर्डमा देखाइएका ट्राफिक चिन्हहरू बुझेर पालना गर्नुपर्छ ।
(१०)     नबुझी अन्दाजमा चलाउनु हुँदैन, नबुझिएका कुराहरू सोधेर जानकारी लिनुपर्छ ।
(११)     ड्राइभिङ गर्दा हरेक हर्कतमा पछाडिको अवस्था ऐनामा चेक गर्नु पर्छ ।
(१२) सडकमा को पहिला र को पछि भन्ने सडकको अधिकार बारे बुझ्नु आवश्यक छ ।
(१३)     सडकलाई सुरक्षित बनाउन सबै चालकले आफ्नो दायित्व बुझ्नु पर्छ ।
(१४) यात्राको अन्त्यमा विश्राम लिनुभन्दा पहिला यात्राको सुरुमा गाडी तयारी गर्दा जेजे चेक गरिएको थियो, त्यही–त्यही कुरा चेक गरेर यात्रा सम्पन्न गर्नुपर्छ ।
(१५) विस्तारै हाँके गन्तव्यमा पुग्नुहुनेछ, तर तीव्र गतिमा हाँक्दा के हुन्छ भन्न सकिन्न । पहिलो दुर्घटना तपाईंको अन्तिम दुर्घटना हुनसक्छ । सवारी साधन विस्तारै चलाएर जीवितै रहन शुभकामना दिन चाहन्छु ।
(लेखकः ट्राफिक नियम सचेतना अभियन्ता हुन् ।)