औषधिको दुरूपयोग बढिरहेको छ भनेर तथ्याङ्क प्रस्तुत गरिरहनु नपर्ला । अहिले दैनिकजसो प्रहरीले प्रतिबन्धित औषधिसहित युवाहरू पक्राउ गरेको घटनाबाटै यसको दुरुपयोग कुन तहमा भइरहेको छ भन्ने अनुमान गर्न सकिन्छ । औषधिको दुरुपयोग कसले र किन गरिरहेको छ भन्ने विषयमा पनि लगभग प्रष्ट नै छ । विशेषगरी मेडिकल हल सञ्चालक तथा त्यसका डिलर (थोक बिक्रेता) बाट यस्तो गतिविधि भइरहेको प्रहरीले पक्राउ गरेको घटनाबाट पुष्टि हुँदै आएको छ । मोरङको सुन्दरहरैंचामा औषधिका थोक तथा खुद्रा बिक्रेता नै प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा पक्राउ परेको घटनाले यस कुरालाई पुष्टि गर्छ । अझ इलाम पशुपतिनगरको बाटो भएर ल्याउँदै गरेको ७७ लाख मूल्य बराबरको औषधि बरामद हुनुले यसलाई थप मलजल गरेको छ । औषधिको दुरुपयोग गर्ने सूत्र पनि फार्मेसी सञ्चालक र यदाकदा चिकित्सकहरूबाट समेत हुने गरेको छ । फार्मेसी सञ्चालकलाई औषधिको प्रयोग र सूत्रबारे ज्ञान हुन्छ, त्यो ज्ञानलाई गलत स्थानमा प्रयोग गर्दाको परिणाम अहिले हामीले भोगिरहेका छौं । युवापुस्ताहरू नजानिदो तरिकाले यसको लतमा फसिरहेका छन् । दुव्र्यसनमा फस्ने र फसाउने कार्य पनि हाम्रै समाजबाट भइरहेको छ । रातारात पैसा कमाउने भोकका कारण समाजलाई गलत दिशातर्फ अभिप्रेरित गरिरहेको अवस्था छ ।
हाम्रो आम धारणा के हो भने अपराध रोक्ने काम प्रहरीको मात्रै हो, उसले नै यसको ठेक्का लिएको छ ? तर, त्यसो होइन, अपराध रोक्ने दायित्व समाजका हरेक नागरिकको हो । हरेक नागरिकले सुसज्जित समाज बनाउने मेरो पनि दायित्व हो भन्ने बुझेमा पक्कै पनि यस्ता अपराधको अन्त्य समाजको प्रारम्भ विन्दुबाटै हुन्छ । तर, रोक्ने कसले ? सबैलाई दिन दुईगुणा र रात चौगुणाका हिसाबले पैसा कमाउनु छ । समाज जुनसुकै बाटोमा जाओस्, यसको कसैलाई पर्वाह छैन । औषधि बिक्री गर्नका लागि इजाजत पाएका त्यस्ता फार्मेसी तथा मेडिकल हलहरूले समाजप्रतिको दायित्वलाई भुल्नु हुँदैन । औषधिलाई ठीकसँग प्रयोग नगर्दा के हुन्छ भन्ने विषयमा हामीले बुझाइरहन जरुरी छैन । यति हो, औषधि बिक्रीका लागि अनुमति पाएकाहरूले पनि समाजप्रतिको दायित्वलाई भुल्नु हुँदैन । एउटा सुसंस्कृत समाज निर्माण गर्ने दायित्व सबै नागरिकको हो । मेडिकल हलका सञ्चालक हुन् वा थोक बिक्रेता नै, उनीहरू पनि यही समाजका सदस्य हुन् । यही समाजमा हुर्किएका छन् । समाजलाई अग्रगमनतिर लाने कि पश्चगमनतिर लाने भन्ने दायित्व पनि औषधि व्यवसायी तथा फार्मेसीहरूको हो । युवा देशका शक्ति हुन् । त्यस्ता युवाहरूलाई जिम्मेवार, जवाफदेही तथा सुसज्जित बनाउनका लागि उनीहरूको पनि दायित्व हुन्छ । प्रहरीको दायित्व अपराधलाई नियन्त्रण गर्ने हो । त्यसको अर्थ पनि समाजलाई सुसंस्कृत र सभ्य बनाउने नै हो । सभ्य समाज निर्माणमा सबैको भूमिका हुन जरुरी छ ।
औषधि नियन्त्रण तथा नियमनको अधिकार औषधि व्यवस्था विभागलाई छ । विभागले जुन हिसाबमा अनुगमन तथा निर्देशन गर्नुपर्ने हो, त्योतर्फ त्यति धेरै पाइला चालेको पाइँदैन । फलतः हाम्रा औषधि पसलहरूले बिरामीबाहेक अन्यलाई बिक्री गर्न नहुने त्यस्ता औषधिहरू चिकित्सकीय परामर्शबिनै बिक्री गरिरहेका हुन्छन् । यस्ता गलत गतिविधि औषधि पसल र फार्मेसीहरूबाटै हुन्छ । किनकि सामान्यतः औषधि बिक्री गर्ने अधिकार अन्यलाई हुँदैन । यसकारण पनि औषधि पसललाई इजाजत (अनुमति पत्र) मात्रै दिने होइन । नियमित अनुगमन पनि जरुरी छ । के कस्ता औषधिहरू बिक्री गरिरहेका छन् । त्यसको सूची माग्ने अधिकार पनि औषधि व्यवस्था विभागलाई नै छ । यसकारण पनि औषधि व्यवस्था विभाग सक्रिय हुन जरुरी छ । औषधि व्यवस्था विभाग सक्रिय भए मात्रै यस्ता गतिविधिहरू धेरै हदसम्म नियन्त्रण हुनेछन् । सबैले आ–आफ्नो दायित्व ठीक ढङ्गले पूरा गर्ने हो भने उन्नत र समृद्ध समाज निर्माण हुन समय लाग्दैन । त्यसका लागि हरेक नागरिकले आफ्नो दायित्वलाई ख्याल गर्नुपर्छ । नागरिक हुनुको जिम्मेवारी पनि पूरा गर्न आवश्यक छ ।