धरान/पोल्यान्डकी क्यारोलिना बेइलावस्काले यस वर्षको विश्व सुन्दरीको ताज पहिरिएकी छन् ।

बिहीबार बिहान सम्पन्न ७० औं संस्करणको ताज क्यारोलिनाले पहिरिएकी हुन् । उनलाई यसअघिकी विजेता टोनीएन सिङले ताज पहिर्याइन् । अमेरिकी टापु राज्य पुएर्तोरिकोमा फाइनल भएको हो । ३९ जना स्पर्धीलाई पछि पार्दै उनले ताज जितिन् ।

त्यस्तै अमेरिकी श्री साइनी फस्ट रनरअप बनिन् भने कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । नेपालबाट यसपटक नम्रता श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन् । पोल्यान्डबाट विश्व सुन्दरीको ताज जित्ने उनी दोस्रो महिला हुन् ।

मोडलसमेत रहेकी क्यारोलिना व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरिरहेकी छन् । उनी एउटा सामाजिक संस्थामा पनि आबद्ध छिन् । जुन संस्थाले बेघरबार भएकाहरूलाई आवास दिने गरेको छ ।