पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको कला साहित्य प्रवद्र्धन समितिले कवि विमला तुम्खेवालाई सम्मान गर्ने भएको छ ।

समितिको बैठकले प्रत्येक वर्ष नगरपालिका कार्यालयले कार्यक्रमका लागि व्यवस्थापन गर्दै आएको बजेटबाट यो वर्ष साहित्यतर्फ कवि तुम्खेवालाई सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष धनराज राई (अमीर) ले जनाए । समितिले नयाँ वर्षको सन्दर्भमा वैशाख ३ गते पथरीमा हुने ‘स्रष्टा सम्मान, तबला प्रशिक्षण समापन एवम् बृहत् सांस्कृतिक कार्यक्रम’ को आयोजना गर्दै पत्रकारसमेत रहेकी कवि तुम्खेवालाई सम्मान गर्ने निधो गरेको उनले बताए । 

सो कार्यक्रमअन्तर्गत शनिबार नगरका १० वटै वडाबाट १–१ जनालाई सहभागी गराई १ महिने तबला वादन तालिम सुरु भएको छ । सो सन्दर्भमा कार्यक्रमका बारेमा विस्तृत जानकारी गराउँदै कार्यक्रम संयोजक अर्जुन सेञ्चुरीले नगरको सिर्जनशील गतिविधिलाई थप ऊर्जा प्रदान गर्न आफूहरू लागिपरेको उल्लेख गरे ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख दिलिपकुमार राईले नगरमा सिर्जना क्षेत्रको प्रवद्र्धन र विकासका लागि नगरले बर्सेनि बजेट छुट्याएर कामको थालनी गरेकोमा यसलाई निरन्तरता दिनमात्रै होइन, यसलाई अझ व्यवस्थित बनाउन पालिकाको नयाँ समितिले थप काम गर्नुपर्ने जनाए ।

तबला प्रशिक्षक जोनी योञ्जन, समितिका सल्लाहकार गणेश वाछाना राईसहितले नगरलाई सिर्जनशील बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । नगरका पुरानादेखि नयाँ पिँढीसम्मका १ दर्जन सर्जकले सांस्कृतिक कार्यक्रममा यो वर्ष दिवङ्गत भएका गीत–सङ्गीत सर्जकका गीतहरू गाएर उनीहरूप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्नेछन् ।

जसका लागि झापाको बिर्तामोडस्थित अलङ्कार व्याण्डबाट लाइभ बाजा बजाएर गायनको स्वाद प्रस्तुत गरिने कार्यक्रमको स्वरूप रहेको छ । साथमा प्रहसन र साहित्यिक प्रस्तुतिसमेत रहनेछ ।