विराटनगर । विराटनगर–५ त्रिमूर्तिचाकैदेखि पश्चिम जागृति टोलको खाली मैदानमा ‘विराट राजवंशी महोत्सव’ सुरु भएको छ ।
शनिबार एक समारोहका बीच ११ दिनसम्म सञ्चालन हुने महोत्सव सुरु भएको हो । उक्त महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे ।
कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले भेष, भूषा, कला र संस्कृतिको जगेर्ना र संरक्षणमा यस्ता महोत्सवले ठूलो भूमिका खेल्ने बताए । राजवंशी सामुदाय तराईको भूमिपुत्र भएको उल्लेख गर्दै प्रमुख पराजुलीले राजवंशी सामुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्नेमा जोड दिए ।
विराट राजवंशी प्रगतिशील समाजको आयोजनामा चैत ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा राजवंशी समुदायको मौलिक पहिरन, खानपिनदेखि बालबालिका तथा युवाहरूको मनोरञ्जनका लागि रोटेपिङ र खेलकुदका अन्य सामग्रीहरू पनि राखिएका छन् । महोत्सवमा प्रदर्शनी तथा व्यापारिक प्रयोजनका ६० वटा स्टलहरू रहेका छन् ।
विराट राजवंशी समुदायको कला, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले बताए । महोत्सवमा राजवंशी समुदायका कलाकारहरूको साथै राष्ट्रियस्तरका कलाकारहरूको दैनिक प्रस्तुतिले थप रौनक बढाउनेछ ।
महोत्सवमा चर्चित गायक तथा गायिकाहरू सुगम पोखरेल, शिव परियार, प्रमोद खरेल, मेलिना राई, ज्योति मगर, कृष्ण लुइटेल, लाहुरे, डम्बर नेपाली, तक्मे बूढो र माग्ने बूढो आउने बताइएको छ । उनीहरूको प्रस्तुति आज (आइतबार) देखि रहनेछ ।