स्थानीय तहको चुनाव आउन अब सात हप्तामात्र बाँकी छ । मतदाताहरूले फेरि पुरानै चुनावी घोषणाहरू सुन्नेछन् राजनीतिक दल र तिनका उम्मेदवारका मुखारविन्दबाट । अनि भाषणबाजी हुनेछ चोकचोकमा । मतदातालाई देखाउनसम्म देखाउने छन् सपनाहरू दिनमै । विशेषगरी ठूला दलहरू एमाले, काङ्ग्रेस र माओवादी केन्द्रका नेता कार्यकताहरूले मतदाताहरूलाई आकर्षित गर्न आश्वासनको बाढी नै ल्याउनेछन् । पुर्णकालीन कार्यकर्ताहरूले आफ्नो दलको झण्डा बोकेर आफ्नै उम्मेदवारको प्रशंसा र बखान गर्न कुनै कसर बाँकी राख्ने छैनन् । प्रतिस्पर्धी दल र तिनका उम्मेदवारका कमी कमजोरीलाई सकेसम्म खोतलेर छताछुल्ल बनाउन जस्तोसुकै उपाय पनि अवलम्बन गर्न सक्नेछन् । यस्तै माहौलका बीच दलहरूले पाँच वर्षको अवधिमा गरेका विकास निर्माणको फेहरिस्त सुनाउनेछन् । आफूलाई जिताएमा आफू रहने स्थानीय तहका तमाम समस्या समाधान गर्नेदेखि सिङ्गापुर नै बनाउने जतिकै विकास निर्माणका खाकाहरू सुनाउनेछ र प्रत्येक पाँच वर्षमा अद्यावधिक हुने स्थानीय तहको निर्वाचनले आगामी वैशाख ३० गतेपछि नयाँ जनप्रतिनिधि दिलाउनेछ मतदाताहरूलाई । तर, धरान उपमहानगरपालिकाको सवालमा भने राजनीतिक रूपमा चुनाव जितेर आएका नगरप्रमुखको बीचैमा निधन भएपछि उपनिर्वाचन हुँदा अर्को दलको उम्मेदवारले जितेकाले समग्र पाँच वर्षको मूल्याङ्कन गर्न नसकिने अवस्था छ । ०७४ को निर्वाचनमा एमालेका तारा सुब्बाले जिते पनि उनले करिब एक वर्षसम्ममात्र नगरको नेतृत्व गर्न पाए । त्यसपछि करिब डेढ वर्ष मेयरको कुर्सी खाली रह्यो ।

उपनिर्वाचनमा काङ्ग्रेसका तिलक राईले मेयर पद उम्काए । स्वर्गीय मेयर सुब्बाले निर्वाचित भएपछि धरानलाई आर्थिक सम्पन्न सहरको रूपमा विकास गर्न जनताको सहभागिता रहेको नागरिक लगानी कोष स्थापना गरिने घोषण–पत्रमा उल्लेख गरे तापनि यस विषयमा कुनै चर्चा हुन सकेको छैन । धरानको विकास र उन्नतिका लागि दीर्घकालीन योजनाका खाकाहरूमध्ये पूर्व, पश्चिम, उत्तर र दक्षिण ट्रान्जिट पोइन्टको रूपमा धरानलाई विकास गर्ने, उपमहानगरमा योजना आयोग गठन गरी विकासमा जनसमुुदायको सहभागिता गराउने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गरेर सुुकुुम्बासी समस्याको समाधान गर्ने, धरानमा पर्यटनको सम्बन्धमा बृहत्तर विजयपुुर विकास समिति गठन गरी पर्यटकीय सांस्कृतिक, धार्मिक, मनोरञ्जन क्षेत्रको विकास र सम्बद्र्धन गर्ने, धरान आसपासका सामुुदायिक वन क्षेत्रमा जङ्गल सफारीलगायत साहसिक खेलको प्रवद्र्धन गर्ने, धरान–४ को हर्दियामा निर्माणाधीन मनमोहन बाम अग्रज तथा सहिदस्मृति पार्क तथा भ्युु–पोइन्ट निर्माण गर्ने, उद्योग व्यवसाय प्रवद्र्धनका बारेमा केन्द्र सरकारबाट औद्योगिक ग्रामको निर्माण गर्ने भनिएको थियो । तर, ती योजनाका खाकाहरू उपमहानगरमा नेतृत्व परिवर्तन भएसँंगै चर्चा नै हरायो । अहिले जति विकास निर्माण भए ती अधिकांश कि जनसहभागिताको आधारमा भएका छन् कि त प्रदेश र केन्द्र सरकारले दिएको बजेटबाट भएका छन् । हविराटनगरको रानी–किमाथाङ्का फराकिलो सडक धरान हुँदै लैजाने विषयमा अहिलेसम्म पनि सहरभित्र वा सेउती करिडोर भएर लाने भन्नेमा विवाद छ । जब कि इटहरीको तरहरासम्म ६ लेन सडक निर्माण कार्य करिब पूरा भएको छ । चारकोसे जङ्गलदेखि धरानको तीनकुनेसम्म निर्माणाधीन रहेको छ । यतिमात्र नभएर कृषिमा विकासको लागि स्थानीय उत्पादनमा रैथाने बालीलाई प्रोत्साहन प्रवद्र्धन गर्ने नीति पनि उपमहानगरको दराजमा थन्किएको छ । भन्ने बेलामा धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, साहसिक पर्यटन, खेलकुद र सांस्कृतिक सद्भावले युक्त स्मार्ट सिटीको रूपमा विकास गर्ने भन्छन् तर, गर्ने बेलामा जनप्रतिनिधिहरू अलमलिने गरेका छन् । अलमलिनुका कारण अरू केही नभएर मतदाताले मिसन, भिजन र गोल भएका योग्य, दक्ष र आफ्नो नगरको बारेमा समग्र ज्ञान भएका जनप्रतिनिधिलाई नजिताउनु हो ।

खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि २२ मिलियन डलर खर्च भए पनि आयोजना सुरु भएको एक दशक बित्न लाग्दासमेत समस्या ज्यूँका त्यूँ छ । तीनकुने सुन्दर बस्ती विकास आयोजनासंँगै स्मार्ट बसपार्क निर्माण भने सुरु भएको छ । तर, हवाई मैदान निर्माण गर्ने भाषण भने दुई दशकदेखि ‘हावादारी गफ’ मात्र भएको छ । सुकुम्बासीका समस्या त झन् नेता र दलका लागि भोट फकाउने उत्कृष्ट बहाना सावित भएको छ । आजकलका मतदाताहरू नेताभन्दा पनि चलाख हुन थालेका छन् भनेर त भनिन्छ तर, राजनीतिको चुनावमा उम्मेदवार र दलका नेताहरूले बुनेको चक्रव्युहमा कसरी फस्न पुग्छन् उनीहरूलाई थाहै हँुदैन । काङ्ग्रेसले नगरे एमालेले गर्ला, एमालेले नगरे माओवादी केन्द्रले गर्ला । ती कसैले पनि नगरे कुनै अर्को दल वा नेताले गर्ला भन्दा भन्दै समय घर्किसकेको पत्तै पाउँदैनन् । यही कुरा बुझेर लौहपुरुष गणेशमान सिंहले भनेका थिए, ‘जनता भनेका भेडा हुन् ।’ जनता अर्थात् मतदाता प्रत्येक चुनावमा भेडा नै बन्ने हो । तर, यसपटक प्रत्येक मतदाताले अघिल्लो चुनावमा भोट माग्न आउँदा दल र नेताले गरेका प्रतिबद्धता किन पूरा नगरेको भन्दै अत्यधिक ढाँट्नेभन्दा कम ढाँट्ने उम्मेदवार चिनेर भोट दिनुको विकल्प छैन । किनकी दल र तिनका प्रत्यासी नेताहरूले चुनाव जितेपछि मतदाताको मुखबाट ‘वाह, कति राम्रो काम गरेको’ भन्ने अवसर कसैले दिन सकेका छैनन् । स्थानीय चुनावमा भाग लिने दल तिनै हुन् र उम्मेदवार पनि तिनै हुन्, जो पहिल्यैदेखि चिने जानेका देखिएका नेता हुन् । यसर्थ मतदाताले कहिले भन्न पाउने ‘वाह, कति राम्रो जनप्रतिनिधि ।’