मोरङको लेटाङ नगरपालिका–५ मा घटनालाई नियन्त्रणमा लिन जाने सुरक्षाकर्मीमाथि नै भएको घटना भत्सर्नायोग्य छ । जहाँ तीन वर्षदेखि प्रहरी सेवामा सेवारत प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ । उनीमाथि घाँटीमा चक्कु प्रहार गर्ने कार्य आफैमा आपराधिक कार्य हो । एउटा अपराधलाई नियन्त्रण गर्न जाँदा अर्को अपराधले जन्म लिएको यो घटना निकै दुःखद्पूर्ण छ । स्कुलकै १४ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न जाँदा प्रहरीमाथि जुन हिंस्रक घटना भएको छ, त्यो जतिसुकै भत्र्सना गरे पनि कमै हुन्छ । जहाँ मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन बिसीसहित २९ जना घाइते बनेका छन् । एउटा अपराध नियन्त्रण गर्न गएको टोलीमाथि अर्को अपराध हुनुले हाम्रो समाज कतातिर ‘डाइभर्ट’ भइरहेको छ भन्ने प्रश्न पनि उब्जाएको छ ।

लेटाङ, जहाँ केही दिनअघि १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । त्यो नृशंस घटना अहिले पनि लेटाङवासीको मनमा ताजै छ । फेरि छात्रामाथि नै यौन दुव्र्यवहारको घटना भएको थाहा पाएपछि आक्रोसमा आउनु स्वभाविकै हो तर, अपराध नियन्त्रण गर्ने प्रहरीमाथि जाइलाग्नु आपराधिक मनोवृत्ति हो । यस्ता मनोवृत्तिहरूको जन्म कहाँ र कसरी हुन्छ ? यसको गहिरो विश्लेषण गर्ने बेला सुरु भएको छ । कसैले अपराध गरेमा उसलाई राज्यको कानूनले सजाय दिन्छ । कानूनी राज्यमा अपराधीले न त उम्किन पाउँछन्, न त भाग्न नै । त्यसकारण हरेक सर्वसाधारणले के बुझ्न जरुरी छ भने अपराधकर्ममा लागेको त्यस्ता व्यक्तिहरूलाई कानूनले कुनै न कुनै दिन नियन्त्रणमा लिइछाड्छ । त्यसकारण कानूनभन्दा माथि कोही छैन भन्ने आमजनमानसले बुझ्न जरुरी छ । यस घटनामा पनि कानूनले आरोपित शिक्षकलाई उसले गरेको कर्मको फल पाउने निश्चित नै थियो । त्यसका लागि नै प्रहरी सम्बन्धित ठाउँमा पुगेका थिए । अर्को कुनै घटना वा दुर्घटना नहोस् भनेर नै त्यहाँ प्रहरी पुगेका थिए । तर, सुरक्षामा खटिएका प्रहरीमाथि नै आक्रमण गर्ने कार्य त्योभन्दा ठूलो अपराध हो ।

नागरिकलाई सुरक्षा गर्ने दायित्व राज्यको हो । राज्यको सेवासुविधा लिएका प्रहरी त्यसका कार्यपालक हुन् । कार्यपालकमाथि नै जाइलाग्ने कार्य अपराधको पराकाष्ठा हो । यस घटनामा प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत चिन्ता व्यक्त गर्दै अपराधीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । यो घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्छ । त्यतिमात्रै हैन, यौन दुव्र्यवहार गर्ने शिक्षक पौडेललाई पनि हदैसम्मको कारबाही गरिनुपर्छ ।