धरान/दुई आख्यानकारको कृतिलाई यस वर्षको पहिचान पुरस्कारबाट पुरस्कृत गरिएको छ । 

आख्यानकार अनन्त वाग्लेको कृति कदम र श्याम साहको कृति पथेरलाई जनही ४ लाख २ हजार रुपैयाँ बराबरको पहिचान पुरस्कार वितरण गरिएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिमा कार्यक्रम गर्दै दुई आख्यान कृतिलाई सर्वाधिक राशिको पुरस्कार वितरण गरिएको हो । यो पुरस्कारको राशि नेपालमा दिइने अन्य पुरस्कारको राशिभन्दा सर्वाधिक हो । 

वाग्लेले राउटेको जीवन भोगाइमा आधारित छ भने साहको पथेरमा मधेशले सदिऔंदेखि भोगेका जीवनलाई उतारिएको छ । कार्यक्रममा लेखक खगेन्द्र सङ्ग्रौला, आख्यानकार राजन मुकारुङ र पहिचान पुरस्कारका संस्थापक स्रष्टा नरेश काङमाङले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा सङ्ग्रौलाले राज्य सत्ताले राष्टिूय पहिचानहरूमाथि सदियौँदेखि दमन गरेकै कारण पहिचानका अभियन्ताहरू अझैसम्म शोषणमा परेको बताए । 

त्यस्तै आख्यानकार मुकारुङले पहिचानको चेत प्रष्फुटन गर्दा गर्दै क्रुर शासकले आदिवासीको पहिचानमाथि धावा बोलेका कारण अहिलेको आधुनिक युगसम्म आउँदा पहिचानको लडाइँमा सरिक हुन परेको दुखेसो व्यक्त गरे । लेखक नरेश काङमाङले पहिचानको मुद्दा पहिचान अभियन्ताहरूबाटै खतरामा पर्दै गएको बताए । कार्यक्रममा समालोचक मुनाराज शेर्मा, गुरुङ सुशान्तले आख्यान कृतिप्रति विश्लेषणात्मक तर्क पेश गरे । त्यसक्रममा नरेश काङमाङ राईको कविता कृति तेप्लायुको लोकार्पण गरिएको छ ।