वराह बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पछिल्लो समय दैनिकजसो बचतकर्ताहरूको भीड लाग्ने गरेको छ । कहिलेकाहीँ बचतकर्ता र सहकारीका कर्मचारीहरूबीच ठेलाठेल, भनाभन भएका दृश्यहरू सामाजिक सञ्जालमा छाएका छन् । बचतकर्ताहरू लामो समयदेखि आफैले बचत गरेको रकम फिर्ता पाउन सङ्घर्ष गरिरहेका छन् । कुनै बेला निकै तामझामसहित कार्यक्रमहरू गर्दै आएको र समाजका लागि पनि सहयोग गर्दै आएको वराह कसरी बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुग्यो ? यसबारे विश्लेषण हुन आवश्यक छ । वराहमा देखिएको समस्या त पछिल्लो समय चर्चामा आएको समस्यामात्र हो । धरानमा लामो समयदेखि सहकारीहरूमा यस्तो समस्या देखिँंदै आएको छ । यसअघि धरानकै सल्लेरी, श्रेया, भविष्य, सयपत्रीजस्ता सहकारीमा देखापरेका समस्या सार्वजनिक भइसकेका छन् । यस क्षेत्रका जानकारहरूका अनुसार वि.सं. २०४३ यता धरानमा करिब ५० हाराहारीमा सहकारी संस्थाहरू टाट पल्टिएका छन् । ती सहकारीहरूबाट बचतकर्ताको करोडौं रुपैयाँ डुबिसकेको छ । धरान उपमहानगरपालिकाकै अनुगमन प्रतिवेदनअनुसार हाल अन्य डेढ दर्जन सहकारी संस्था सङ्कटग्रस्त अवस्थामा छन् । एकपछि अर्को सहकारीले बचतकर्ताको रकम डुबाउँदै जाँदा सहकारीप्रतिको धारणा नै नकारात्मक बनिरहेको छ । यस्तो समस्याको समाधान खोजी गरिनु आवश्यक छ ।
नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारहरूको सूचीमा सहकारीको नियमन, नियन्त्रण गर्ने अधिकार पनि छ । त्यसको अर्थ स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सहकारीहरूलाई दर्तादेखि नियमन, कारबाहीसम्म गर्न सक्छन् । संविधानको व्यवस्थाअनुरूप नै धरान उपमहानगरपालिकाले पनि सहकारी ऐन जारी गरिसकेको छ भने सहकारी विकास समितिसमेत गठन गरेको छ । तर, समिति आफैले बनाएको ऐनअनुसार काम गर्न सकेको छैन । उपमहानगरपालिकाको सहकारी विभागका कर्मचारीहरूले समस्यामा परेका सहकारीहरूको छानबिन गर्ने, प्रतिवेदन तयार पार्ने, समस्यामा रहेका सहकारीलाई पत्राचार गर्नेजस्ता कार्य गर्दै आएका छन् । तर, सहकारी विकास समितिले आफैले तयार पारेका प्रतिवेदनको समेत राम्रोसँग कार्यान्वयन गर्न सकेको छैन । त्यसो हुनुको कारण राजनीतिक दबाव पनि एउटा कारणका रूपमा देखिएको छ । अझ समितिका संयोजककै सहकारीले करोडौं फिर्ता गर्न नसकेको अवस्था पनि छ । सहकारी विकास समितिका संयोजक आफै नियमनकर्ता र आफै सहकारीका सञ्चालक रहँदा पनि स्वार्थ बाझिएको छ । यसरी स्वार्थ बाझिएपछि ऐनअनुसार काम, कारबाही अघि बढ्दैन नै । धरानका सहकारीमा बदमासी गर्नेहरूलाई राजनीतिक दलका केन्द्रीय तहका नेताहरूले समेत संरक्षण गर्ने गरेका उदाहरण छन् । यस्तै कारणले पनि धरानमा सहकारीहरूबाट हजारौं बचतकर्ता पीडित बनिरहेका छन् ।
सहकारीहरू यसरी धरासायी बन्नुमा सबैभन्दा ठूलो गलत ठाउँमा लगानी देखिन्छ । धेरैजसो सहकारीले बचतकर्ताको रकम सदस्यको हितमाभन्दा पनि आफ्नो सुन पसल, जग्गा व्यापार, हुण्डी कारोबारजस्ता धन्दामा लगाएका छन् । त्यति मात्र होइन, कतिपयले सहकारीको रकमबाट व्यक्तिगत नाममा घर, जग्गा खरिद गर्ने, गाडी किन्ने, मोजमजामा खर्च गर्ने गरेका छन् । अरूले बचत गर्न दिएको पैसालाई आफ्नै ठानेर मनखुसी खर्च गर्ने परिपाटीले पनि समस्या बढिरहेको छ । यसलाई नियन्त्रण गरिनु आवश्यक छ । कतिपय सहकारी भने पछिल्लो समय देखिएको आर्थिक मन्दीको मारमा पनि परेका छन् भने केही सहकारी अन्य सहकारीको बदमासीका कारण सङ्कटमा परेका छन् । धरानको सहकारी क्षेत्रमा पछिल्लो समय अविश्वासको वातावरण बनिरहेको छ । यो समग्र सहकारी अभियानका लागि चुनौतीको विषय हो । यस्ता गलत क्रियाकलाप भइरहँदा पनि सहकारी अभियन्ताहरू चुप लागेर बसिरहने हो भने समस्याको समाधान हुन गाह्रो छ । स्थानीय तह, राजनीतिक दलहरू र सहकारीका अभियन्ताहरूले अहिलेसम्मका आ–आफ्ना कमी कमजोरीलाई सच्याएर सहकारीको मर्म अनुरूप काम अघि बढाउन र बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउनसके मात्र बचतकर्ताहरूमा सहकारीप्रतिको विश्वास फर्किनेछ ।