कोभिड–१९ को कारण लामो समयसम्मको अवरोधपछि धरान उपमहानगरपालिकाको हरेक शनिबार बिहान ७ बजेदेखि ९ बजे सञ्चालन हुने ग्रासरुट कार्यक्रम पुनः सञ्चालनमा आएको छ । सबैका लागि यो निःशुल्क कार्यक्रम हो । धरानभरिका १२ वर्षमुनिका बालबालिका लक्षित कार्यक्रम धरान रङ्गशालामा सञ्चालन हुँदै आएको छ ।
वादे वादे जायते तत्वबोध ।
‘मूर्खष्य बलको ठिङ्गो हो (हो ! पाडरी पाडरी ।।’
या बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भने झैं यो आफैमा सुन्दर कार्यक्रम हो । ग्रासरुट कार्यक्रमले ६ देखि १२ वर्षको उमेर समूहका सकेसम्म धेरैभन्दा धेरै बालबालिकाहरूलाई खेल्ने अवसर प्रदान गरेर खेलाडी विकास मार्गमा सुरुवात विन्दुको रूपमा काम गर्दछ । विज्ञहरूको सुझावअनुसार कलिला यो उमेर समूहका बालबालिकाहरूलाई सिकाइने सुरक्षित कार्यक्रमको रूपमा यसलाई लिन सकिन्छ ।
यो उमेर समूहको सिकाइलाई स्वर्णिम युग मानिन्छ । यति मात्र नभएर बालबालिकालाई फुटबलमा फेयर खेलको सिद्धान्त प्रवद्र्धन गर्ने दर्शनलाई सिकाइने गर्दछ । खुट्टाको कुन भागले फुटबललाई कसरी हान्ने भन्ने सीप सिकाउनुको साथै बालबालिकाहरूलाई फुटबलमार्फत् धेरै कुराहरू अप्रत्यक्ष तरिकाले सिक्ने अवसर यो कार्यक्रमले दिन सक्दछ । उनीहरूको व्यक्तित्व र आत्मविश्वासको निर्माण गर्नसमेत मद्दत पुर्याउँछ । कसरी समूहमा मिलेर उतकृष्ट सामूहिक परिणाम राम्रो ल्याउन सकिन्छ भन्ने ज्ञान प्रदान गरिन्छ । अनुशासित बानीको निर्माण गर्दछ । ग्रासरुटले धेरै अवसरहरू सिर्जना गर्दछ ।
छिमेकी मुलुक भारतमा त भेट्रान फुटबल प्रशिक्षकहरूलाई राम्रो रोजगारी प्रदान गर्दै आएको छ । विभिन्न पृष्ठभूमिका बालबालिकाहरूको लागि सुनौलो अवसर हो । यस्ता कार्यक्रमले बालबालिकाहरूको जीवनमा धेरै अर्थ राख्दछ । धरानलाई मिनी ब्राजिलको रूपमा चिनाउन सफल खेलाडी उत्पादन गर्न यस्ता कार्यक्रमले राम्ररी टेवा पु¥याउन सक्दछ । तर, यसको निरन्तरताले मात्र त्यो भनाइलाई पुष्टि गर्न सक्दछ ।
यो आफैमा दीर्घकालीन कार्यक्रम भएकोले परिणाम पनि सोही अनुरूप मात्र आशा गर्नु पर्नेछ । धरान उपमहानगरपालिकाले समेत ग्रासरुटजस्तो महत्वपूर्ण कार्यक्रमको लागि विशेष महŒवकासाथ हरेक वर्ष बजेट विनियोजन गर्न सक्नु पर्नेछ । यसैको लागि यो स्तम्भकार जोडदार मागसमेत गर्दछ ।
मैले भ्याएसम्म हरेक शनिबार बिहान प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई हौसला दिन धरान रङ्गशाला पुग्दा पाएको उनीहरूको जोस र जाँगरले पक्कै पनि राम्रो खेलाडी उत्पादन गर्न सक्ने सङ्केत पाएको छु । तर, यो कार्यक्रमलाई सबै सरोकारवालाहरूले समेत चासो दिई साथसहयोग दिन सक्नु पर्नेछ ।
सिङ्गो धरानवासीले साझा कार्यक्रमको रूपमा यसलाई लिन आग्रह पनि गर्दछु । सबै अभिभावकले सकेसम्म आफ्ना छोराछोरीहरूलाई हरेक शनिबार सहभागी गराउन उत्तम हुनेछ । यो दिनलाई एउटा विशेष दिनको रूपमा लिनसमेत आग्रह गर्दछु । धरानलाई साँच्चीकै मिनी ब्राजिलको रूपमा चिनाउने भनाइलाई सार्थक बनाउनु छ भने यो कार्यक्रम नै कोसेढुङ्गा साबित हुन सक्दछ ।
धरान उपमहानगरपालिकाका अफिसियल खेलकुद प्रशिक्षक अर्जुन राईका अनुसार मोबाइल गेमहरूमा मात्र झुमिरहने कुलतबाट सानै उमेरदेखि शारीरिक अभ्यास गराउने बानीको विकास गर्ने अभिप्रायले मेयर तिलक राईको निर्देशनमा ग्रासरुट कार्यक्रम सञ्चालनमा आएको बताए । यसै कार्यक्रमको सन्दर्भमा शुभचिन्तक अभिभावक किरण सुवेदी आफ्ना राय राख्दै यसले निरन्तरता पाउनु पर्नेमा जोड दिनुहुन्छ ।
योसँगै अन्य खेलकुदहरूलाई पनि उत्तिकै रूपमा महत्व दिएर ग्रासरुट कार्यक्रम प्रारम्भ गर्नलाई सम्बन्धित निकायले निश्चित बजेट छुट्याउन सुझाव दिए । अर्का समाजसेवी तथा अभिभावक लक्ष्मण बस्नेत यो कार्यक्रमलाई जोड दिँदै हरेक वर्ष वर्षायाम अघिसम्म यो कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिनुहुन्छ । राजनैतिक दलका नेताहरूको बैठक भत्तालगायत अन्य सेवा सुविधाजस्ता फजुल खर्च कटाएर भए पनि यो कार्यक्रमलाई निरन्तरता दिए जनताका छोराछोरीहरूले सो सुअवसर पाउने विचार बस्नेतज्यू राख्नुहुन्छ ।
यसो भएमा एकोहोरो डिजिटल संसारमा झुमिरहने लतबाट केही घण्टा भए पनि मुक्त हुने बस्नेतको धारणा रहेको छ । एकान्तबासमा मोबाइलमा व्यस्त रहने केटाकेटीहरूलाई केही घण्टा भए पनि वास्तविक संसारसँग साक्षात्कार गराई शारीरिक र मानसिक रूपमा फूर्तिलो, जोसिलापना ल्याउन र अनुशासित बन्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धरान–१३ निवासी अभिभावक अनिल सुनुवारले बताए । बच्चाहरूको दिमाग फ्रेस हुनेछ ।
एक–दुई घण्टा भए पनि शारीरिक व्यायाम हुने हुनाले यो कार्यक्रम लाभदायक भएको धरान–१६ निवासी अभिभावक गोपाल पराजुलीले बताए । यसै सन्दर्भमा पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक इन्दु रसाइली यो कार्यक्रमलाई विद्यालयको शिशु कक्षासँग दाँज्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘किशोरावस्थामा धेरै कुराको ज्ञान लिन सक्नेछन् । यो कार्यक्रमलेबललाई खुट्टाको कुन भागले कसरी हान्ने सीप सिकाउनुका साथै फुटबलप्रति आकर्षण गराउने, कुलतबाट जोगाउने, मानसिक र शारीरिक रूपमा तन्दुरुस्त राख्ने भन्ने ज्ञान आउने, अनुशासित बनाउने र राम्रो फुटबल खेल्न सक्ने बनाउने रसाइलीले बताए ।
खेलसँगै पढाइलाई पनि जोड दिनुपर्ने बताउँदै विश्व प्रख्यात खेलाडीहरू मेसी र रोनाल्डो पनि पढाइमा अब्बल भएको रसाइलीले बताउनुभयो । धरानका मेयर तिलक राई खेलको महत्व र खेलप्रति रुचि राख्ने व्यक्ति भएकोले नै यो कार्यक्रम सम्भव भएको हुनाले मुक्त कण्ठले उहाँको प्रशंसासमेत रसाइलीले गर्नुभयो । अर्का प्रशिक्षक सतिस केसीको विचारमा यो कार्यक्रम ६ देखि १२ वर्ष मुनिका बालबालिकाहरूलाई कुनै प्रकारको करकापमा नपारी बालसुलभ र स्वतन्त्र रूपले फुटबल मोह जगाउँदै कालान्तरमा धरानबाटै राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ ।
तर, यस्ता सुन्दर कार्यक्रमको आगामी वर्षहरूमा पनि निरन्तरताको लागि अहिले सहभागी बालबालिकाहरूका अभिभावकहरूले सम्बन्धित निकायलाई बाध्य बनाउन सक्ने सकारात्मक आवाज उठाउन सक्नु पर्नेछ । जसरी क्यानाडामा शिक्षालाई जहिले पनि प्राथमिकतामा राख्ने गरिन्छ । यति मात्र होइन, हरेक राजनैतिक दलले शिक्षालाई आफ्नो पार्टीको आन्तरिक नीतिको विषय बनाउँछन् । राजनैतिक दलहरूले आफ्ना नीतिका बारेमा घनिभूत बहस गर्ने गर्दछन् ।
सबैभन्दा राम्रो पक्ष के भने दलहरूले प्रतिस्पर्धी भएर जनतामाझ आफ्ना शिक्षासम्बन्धी नीति सार्वजनिक गर्ने गदर्छन् । जनताले पनि प्रत्येक राजनैतिक दलका राम्रा शिक्षा नीति हेरेर आम चुनावमा आफ्नो मत जाहेर गर्दछन् । क्यानाडा झैं आगामी स्थानीय निर्वाचनमा राजनैतिक दलहरूलाई आफ्नो घोषणा–पत्रमा ग्रासरुट कार्यक्रमलाई प्राथमिकताका साथ संलग्न गराउन बाध्य गर्न अनिवार्य छ । ग्रासरुट कार्यक्रमले भविष्यमा वास्तवमै उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नसक्नेखालको प्रतिफल दिन सकोस् । जसको श्रेय सम्पूर्ण फुटबल प्रक्षिशकहरू र खासगरेर हाम्रो स्थानीय सरकार धरान उपमहानगरपालिकाले लिन सकोस् भन्ने यो स्तम्भकारको कामना छ ।
(स्तम्भकार धरान–१६ स्थित स्टेडियम लाइनस्थित जेनिथ कलेज अफ म्यानेजमेन्टका प्राचार्य हुन् ।)