मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादलगत्तै छिमेकी मुलुक चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणले नेपाललाई तीनवटा विषयमा आफ्नो समर्थन रहेको स्पष्ट पारेको छ । पहिलो, दुई देशको अन्तर्राष्ट्रिय र घरेलु परिस्थिति जतिसुकै परिवर्तन भए पनि चीनले कुनै हस्तक्षेप नगर्ने, दोस्रो, नेपालप्रतिको मैत्रीपूर्ण नीतिलाई अडिग रूपमा कार्यान्वयन गर्ने अनि तेस्रो, पारस्परिक हितकारी सहयोगलाई अडिग रूपमा गहिरो बनाउने र एकापसको विकास निर्माणलाई अडिग रूपमा अगाडि बढाउने कुरामा जोड दिँदै चीन र नेपालबीच साझा भविष्य निर्माण गर्नेमा केन्द्रित छ । चिनियाँ विदेश मन्त्री वाङ तीनदिने भ्रमणपछि आइतबार फर्किसकेका छन् । विदेश मन्त्री वाङ चीन फर्किनुअघि चिनियाँ विदेश मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै चीनले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालको भूराजनीतिक खेलमा संलग्न हुने प्रयासको विरोध गर्ने सन्दर्भलाई फेरि दोहोर्याएको छ । नेपालको संसद्मा एमसीसी पास हुनुभन्दा अघि विवाद उत्पन्न भएको बेला अमेरिका र चीनबीच जुहारी चलेको थियो ।
त्यसबेला पनि चीनले यही कुरालाई आफ्नो नीतिको बटमलाइन मानेर नेपालको भूराजनीतिक खेलमा हस्तक्षेप भएको विषयलाई गम्भीरताकासाथ उठाएको थियो । चिनियाँ विदेश मन्त्री वाङले नेपाललाई स्वतन्त्ररूपमा स्वदेशी तथा विदेश नीतिहरू अवलम्बन गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । साना वा ठूला सबै देश समान छन् र सबै देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्नमा चीनले सधैँ जोड दिँदै आएको छ। नेपालमा हुने व्यवस्था परिवर्तन चाहे त्यो ०४६ सालको राजतन्त्रात्मक बहुदलीय व्यवस्था सुरु गर्दा होस् वा ०६२/६३ को राजा फालेर गणतन्त्र स्थापना गर्ने आन्दोलन, चीनले कहिल्यै पनि यस्तो व्यवस्था हुनुपर्छ वा यो हुनु हुँदैन, त्यो हुँदैन, संविधानमा यस्तो उस्तो उल्लेख गर भनेर दबाव दिएन । छिमेकी मुलुक भारतको तुलनामा नेपालका लागि चीन सधैँ तठस्थ रहेको छ । सोही तठस्थतालाई निरन्तरता दिँदै नेपालको मामिलामा नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास रहेको फेरि पनि विज्ञप्तिमार्फत् सम्झाएको छ । चीनको मैत्रीपूर्ण नीति नेपालका सबै पक्ष र जनताका लागि खुला भएको पनि उसले स्पष्ट पारेको छ । नेपालका सबै दल र गुटलाई नेपाली जनताको आधारभूत र दीर्घकालीन हितलाई ध्यानमा राखेर समावेशी, परामर्शदायी, एकताबद्ध र सहयोगी बन्न र राजनीतिक स्थिरता कायम राख्न, आर्थिक वृद्धि प्रवद्र्धन गर्नका लागि अनुकूल शासन मोडेलको संयुक्त रूपमा खोजी गर्न समर्थन गर्ने र जनताको जीविकोपार्जनमा सुधार गर्न नेपाली पक्षको इच्छालाई सम्मान गर्ने आधारमा चीनले नेपाली पक्षसँग राज्य शासन र प्रशासनमा अनुभव आदान–प्रदानलाई सुदृढ गर्न इच्छुक रहेको सन्देश दिएको छ । बेल्ट एन्ड रोड निर्माणमा नेपालको गहिरो सहभागितालाई पनि चीनले चासो र रुचिका साथ समर्थन गरेको सन्देश चीनका विदेश मन्त्री वाङले दिएका छन् ।
चिनियाँ पक्षले दुई पक्षबीचको मुख्य सहयोग परियोजनाहरूको प्रवद्र्धनलाई तीव्रता दिन, दुई देशबीचको भूमि बन्दरगाहको सहज प्रवाह सुनिश्चित गर्न, सीमापार ऊर्जा सहयोगको विकासको अन्वेषण गर्न, आर्थिक र सांस्कृतिक माध्यमहरूलाई समृद्ध र विस्तार गर्न इच्छुक भएको चिनियाँ विदेश मन्त्री वाङको सन्देशले सुरक्षा चासो र दई पक्षबीचको विकास साझेदारीमा निरन्तरतामा जोड दिएको छ । नेपाललाई मानव संशाधन, भौगोलिक स्थिति र प्राकृतिक पारिस्थितिका तीन फाइदाहरू पूरा गर्न मद्दत गर्न, चीनका अवसरहरू साझा गर्न र आफ्नो विकास र पुनरुत्थानलाई गति दिन मद्दत गर्न इच्छुक भएको विज्ञप्तिमा उल्लेख गरेर उन्नत र विकसित नेपाल देख्न चाहेको जनाएको छ । वाङको भ्रमणले एमसीसीका कारण बिग्रेको दुईपक्षीय सम्बन्धमा सुधार हुनेमा नेपाल र चीन ढुक्क देखिएका छन् । भूगोलसँग प्रत्यक्ष जोडिएको नेपाल–चीनको सीमा पनि भारतको जस्तै खुला छ । भारत–नेपालबीच सीमा पनि खुला नै छ तर, आवागमनमा कुनै रोकटोक छैन । राहदानी चाहिन्न । चीनसँगको नेपालको सीमा हिमाली क्षेत्रमा भए पनि खुला छ तर, भारतीय सीमा पार गरेजस्तो वा भारतबाट नेपालतिर आएजस्तो सहज छैन । यद्यपि वाङको यो पछिल्लो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउन चाहेको स्पष्ट भएको छ । अर्थात् सम्बन्धलाई नवीकरण गर्न चाहेको देखिएको छ ।