कक्षा सात पढ्ने १४ वर्षीया छात्रामाथि भएको यौन दुव्र्यवहार घटनामा संलग्न शिक्षकलाई पक्राउ गर्न गएकामध्ये एक महिला प्रहरी जवानको हत्या भएपछि प्रहरीले लेटाङ नगरपालिकाका २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दा लगाएको छ । गत चैत ६ गते बेलुका मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविमा भएको घटनाले सबैलाई स्तव्ध बनायो । छात्रालाई यौन दुव्र्यवहार गर्ने शिक्षक ५६ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिन आएका प्रहरीमाथि नै आक्रमण गर्ने क्रममा महिला प्रहरी २६ वर्षीया उर्मिला श्रेष्ठमाथि उल्टै धारिलो हतियार प्रयोग गरेर हत्या गरे । हत्या आफैमा जघन्य अपराध हो । अहिले प्रहरीले सम्पूर्ण शक्ति लगाएर हत्यामा संलग्नको खोजी गर्दै ज्यान मुद्दा लगाइरहेको छ । पौडेललाई अनुसन्धानका लागि पक्राउ गरेर लगिरहेको बेला बीच बाटोमा ढुकेर बसेको उच्छृङ्खल समूहले एक्कासि प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गर्दा श्रेष्ठको ज्यान गयो । त्यसपछि बालिका यौन दुव्र्यवहारको घटनाले ३ सय ६० डिग्री फन्को मारेको छ । अर्थात् बालिकामाथिको यौन दुव्र्यवहार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पौडेललाई हुने कारबाही प्रक्रिया भने पूरै ओझेलमा परेको छ ।

पक्राउपछि बालिका यौन दुव्र्यवहार गर्ने पौडेल कहाँ छन् ? बालिका र उनका अभिभावकले सुरक्षा पाएका छन् कि छैनन् ? यौन दुव्र्यवहारको मुद्दा कहाँ पुग्यो ? यस विषयमा न कुनै मिडियाले चासो राखेको छ, न त प्रहरी प्रशासनले नै खुलाएको छ । अहिले घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङसहितका प्रहरी अधिकारीहरूले अनुसन्धान गर्दै आएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान पनि सुरु गरेको छ । समितिमा एसएसपीसहित एक जना डिएसपी, इन्स्पेक्टर र दुई जना असइ रहेका छन् । छानबिन समितिले अनुसन्धान पूरा गरेपछि प्रदेश प्रहरी कार्यालयमा प्रतिवेदन बुझाउनेछ ।

महिला प्रहरी हत्याकाण्डसंँगै जोडिएको यौन दुव्र्यवहार गर्ने शिक्षक पौडेलको मुद्दालाई ओझेल पार्नु हुँदैन । बालिकाले न्याय पाउनु पर्छ । यसअघि पनि यौन दुव्र्यवहार गर्दै आएको खुलासा भइसकेको छ । तर, त्यसबेला स्थानीय बासिन्दा, विद्यालय सञ्चालक समिति बसेर मिलापत्र गरिएकाले पौडेललाई झन् साहस थपिएपछि यौन दुव्र्यवहारको घटना दोहोरिएको हो । पछिल्लो पटक घटना दोहोरिँदा प्रहरी प्रशासन, स्थानीय बासिन्दा, विद्यार्थी र विद्यालय व्यवस्थापन पक्षबीच तालमेल नमिल्दा झडपको स्थिति उत्पन्न भएर प्रहरी जवान उर्मिला श्रेष्ठले अनाहकमा ज्यान गुमाउनु पर्यो । अब आफ्नो कर्तव्य निभाइरहेका बेला उर्मिला श्रेष्ठको हत्या गर्ने हत्याराहरूलाई खोजी खोजी कडाभन्दा कडा कारबाही गर्दै बालिकामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पौडेललाई पनि हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउनुको विकल्प छैन ।