स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दलहरू आफू ‘दूधले धोएको गाई’ बन्ने ध्याउन्नमा लागेका छन् । मेरै दलले मात्रै काम गरेको छ, मैले मात्रै काम गरेको छु र अरू सबैले गलत मात्रै काम गरेका छन् भन्ने मनोवृत्ति अहिले व्याप्त देखिन थालेको छ । नेकपा (एमाले) होस् या नेपाली काङ्ग्रेस होस् वा नेकपा (माओवादी केन्द्र) होस् अथवा अन्य कुनै दल । उनीहरूले एकअर्कालाई हिलो छ्याछ्याप गरेर आफूलाई चोखो देखाउने खेलमा लागेका छन् । यस खेलको केही दृष्टान्तहरू धरानमा देखिन थालेका छन् । धरानमा राजनीतिक फाइदा लिन अहिले दुईवटा कार्डहरू फ्याकिँदै छन् । जसमध्ये एउटा खानेपानी, अर्को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । खानेपानीको समस्या आज जुन अवस्थामा छ, मानौं आफू भइदिएको भए छुमन्तरका भरमा समस्या समाधान गर्थें भन्ने मनोवृत्ति व्याप्त छ । यसमा पनि कसले ‘क्रेडिट’ लिने भन्ने पक्ष विपक्ष सुरु भएको छ । अर्को बीपी प्रतिष्ठानको स्वास्थ्य बिमाको समस्या मेरो दलले समाधान गरेको हो भन्ने देखाउने होडबाजी चलेको छ ।

धरानका यी दुई समस्याहरूको हल आज भएकै दलबाट सम्भव छ भन्ने ठान्नु मूर्खता मात्रै हुनेछ । कुनै अलौकिक व्यक्ति वा राजनीतिक दल आए पनि खानेपानीको समस्या आजकै अवस्थामा समाधान गर्न सक्ने अवस्था छैन, न हिजो थियो । खानेपानी समस्या कहाँ छ भन्ने कुरा नै यहाँका दलहरूलाई ज्ञान छैन । ज्ञान नभएको विषयमा अनेकन मिथकीय तर्क तथा प्राककल्पना गर्नुको कुनै तुक छैन । यथार्थ त्यसका ठीक विपरीत छ । खानेपानी समस्या धरानका राजनीतिक दलहरूले थप गिजोलेका छन् । आखिर एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा सुरु भएको खानेपानी आयोजना, आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गरेजति आएको छ त ? भन्ने प्रश्नको उत्तर दिनसक्ने कोही छैन । दैनिक १८ घण्टा पानी वितरण गर्ने भनिएको त्यो डीपीआरमा कहाँनेर समस्या आएको हो ? त्यसको जवाफ दिने कोही राजनीतिक दल छैनन् । ‘आफै धामी, आफै बोक्सी’ उखानजस्तो आफूलाई चरितार्थ गरिरहेका छन् । मानौं, यस विषयमा जनता अनभिज्ञ छन् । जनता भनेका सबै मेरा कार्यकर्ता हुन्, दलको ह्वीप सबै जनताले मान्छन् भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ । जनतालाई आजको दिनमा सही जवाफ चाहिएको छ । अर्को बीपी प्रतिष्ठानको सामाजिक सुरक्षा बिमामार्फत् आउने रकम प्रक्रियागत आउने रकम हो । यहाँ कुनै दलले गएर भन्दिदैमा आउने हो भने आजसम्म किन आएन ? आजका दिनसम्म किन ती दलहरूले पहल गरेनन् । समस्या आजै आएको त होइन, समस्या हिजोदेखि नै सुरु भएको थियो । त्यसकारण दलहरूले अहिले गरिरहेको भनेको ‘राजनीतिक प्रोपोगान्डा’ नै हो । यसबारे जनता सचेत छन् ।

कुनै अमुक व्यक्ति तथा संस्था वा राजनीतिक दलहरूले समस्या समाधान गर्छु भनेर आउँछ भने त्यो अर्को भूल हुनेछ । त्यसकारण समस्या ‘नियत’ मा छ । सुशासन र पारदर्शी बन्नुपर्ने हाम्रा जनप्रतिनिधिहरू आफ्ना फाइदाका लागि जनताको घाँटी रेटेका छन् । खानेपानी त्यसैको एउटा गतिलो उदाहरण हो । एडिबीबाट विनियोजित भएको रकमले धरानमा खानेपानी खुवाउन सकिन्छ, सकिँदैन भन्ने ज्ञानसम्म नराख्ने राजनीतिक दलहरूले धरान बनाउँछौं भनेर भन्नु ‘हावामा तीर’ चलाउनु जस्तै हो । अहिले स्थानीय तहको चुनाव नजिकिँदा आफूलाई चोख्याउने खेलमा लाग्नेहरूलाई जनताले आउँदो निर्वाचनमा ‘स्वाद’ चखाउनै पर्छ । जबसम्म योग्य र इमान्दार नेतृत्व धरानमा आउँदैन तबसम्म धरानको पुनर्निर्माण हुन सक्दैन । त्यसकारण जनताले पनि योग्य र सक्षम व्यक्तिलाई ल्याउन आवश्यक छ । अहिलेको विकल्प त्यही नै हो ।