धनकुटा । धनकुटा जिल्लामा ‘आँखा बा’ भनेर चिनिने नेपालकै पहिलो आँखा डाक्टर प्राध्यापक रामप्रसाद पोख्रेललाई बुधबार अभिनन्दन गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घ धनकुटाको १२ औं साधारणसभाको अवसरमा पोख्रेललाई अभिनन्दन गरिएको हो । धनकुटामा आँखा अस्पताल निर्माणका लागि आवश्यक जग्गासहित अन्य महत्वपूर्ण काममा योगदान पुर्याएको भन्दै सङ्घले उनलाई सम्मान गरेको हो । उनकै नाममा धनकुटामा आँखा अस्पताल सञ्चालनमा छ ।
धनकुटामा सञ्चालित आँखा अस्पतालले धनकुटासहित भोजपुर, सङ्खुवासभा, तेह्रथुमका नागरिकलाई सहज रूपमा सेवा दिइरहेको छ । पोख्रेलसहित नेपाल नेत्रज्योति सङ्घका पूर्व अध्यक्ष डा.तीर्थप्रसाद मिश्रलाई पनि सम्मान गरिएको छ । मिश्रले धनकुटामा आँखा अस्पताल स्थापनाका लागि योगदान पुर्याएका थिए ।
सम्मानपछि डा. पोख्रेलले संसार उज्यालो बनाउन आफू वेलायतको सुखसयल छोडेर नेपाल आएको बताए । उनले नेपालबाट ट्रकोमा रोग अन्त्य भएको बताउँदै अब आँखाको उपचारमा युवाहरू सक्रिय हुन आवश्यक रहेको बताए ।
आफूले अहिलेसम्म देशको लागि अभियानको रूपमा योगदान गरेको र अबका दिनमा नयाँ पुस्ताले गर्नुपर्नेमा जोड दिए । सो अवसरमा जिल्ला अस्पताल धनकुटामा पहिलो नेपाली डाक्टर भएर सेवा गरेको भन्दै अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पूजन विश्वकर्माले खादा, दोसल्ला र सम्मान–पत्रले सम्मान गरे । त्यसैगरी गोकुण्डेश्वर बालमन्दिर मा.वि. धनकुटाको तर्फबाट प्रधानाध्यापक दामोदर मिश्रले आफ्नो विद्यालयमा कक्षा १० सम्म डा.पोख्रेलले अध्ययन गरेको भन्दै दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हेमराज भण्डारीलगायत उपस्थित थिए ।
को हुन् त डा. पोख्रेल ?
डा. पोख्रेलको जन्म वि.सं. १९९४ वैशाख २२ गते धनकुटा जिल्लाको कचिडेमा भएको हो । ‘आँखा बा’ बुबा कविराज नरपति पोख्रेल र आमा योगमाया पाख्रेलका जेठा छोरा हुन् । बुबाबाट संस्कृतको प्रारम्भिक शिक्षा लिएका उनले धनकुटाको गोकुण्डेश्वर बालमन्दिर हाईस्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए ।
वि.सं. २०११ मा भारतबाट प्रमाण–पत्र तह, वि.सं. २०१६ मा लखनउबाट एमबीबीएस तह उत्तीर्ण गरेपछि थप अध्ययनका लागि बेलायत गएका थिए । वि.सं. २०२० मा डिएलओ र २०२४ मा डियोको उपाधि तथा वि.सं.२०२७ मा एफओसिएसको उपाधि बेलायतबाट प्राप्त गरेका थिए । त्यसपछि बेलायतको विभिन्न अवसरलाई त्यागेर नेपाल फर्किएका उनी हाल काठमाडौंको बबरमहलमा स्थायी बसोबास गर्दै आएका छन् ।
नेपाल फर्केपछि वि.सं.२०२९ मा पहिलो पटक दोलखामा आँखा शिविरमा सहभागी भई करिब ५ सय जनाको निःशुल्क उपचार गरेका थिए । उनी नेपालमा अन्धोपन हटाउन सरकारको मुख ताक्न नहुने निष्कर्षमा पुगेका थिए ।
नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पतालका संस्थापक डा. पोख्रेलले वि.सं.२०३० वैशाख १ गतेबाट अस्पतालको सेवा सुरु गरेका हुन् । नेपालमा आँखासम्बन्धी दक्ष जनशक्तिको उत्पादन गर्न उनले विभिन्न कार्यक्रम गरेका थिए ।
डा.पोख्रेलले वि.सं.२०२८ मा नेपालको पहिलो आँखाविज्ञको रूपमा ‘महेन्द्र विद्याभूषण’ पदक प्राप्त गरेका थिए । त्यसैगरी उनलाई वि.सं.२०२९ मा नेपालमा दुर्गम क्षेत्रमा आँखा उपचारमा पुर्याएको योगदानको लागि ‘गोरखा दक्षिण बाहु चौथो’, वि.सं. २०४० मा नेपालमा मोतिया विन्दु उपचारका लागि ‘गोरखा दक्षिण बाहु तेस्रो’, वि.सं. २०४६ मा नेपालमा आँखासम्बन्धी जनशक्ति तयार पार्न योगदान पुर्याए बापत ‘त्रिशक्तिपट्ट तेस्रो’ बाट विभूषित भएका थिए । डा.पोख्रेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाएका छन् ।
देशका विभिन्न २० ठाउँमा आँखा अस्पताल सञ्चालनका लागि योगदान पुर्याएका पोख्रेल धनकुटा जिल्ला अस्पतालको पहिलो नेपाली डाक्टरसमेत रहेका थिए । धनकुटामा वि.सं.२०४३ सालबाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका डा.पोख्रेलको अभियानमा नेपाल नेत्रज्योति सङ्घ धनकुटाले वि.सं.२०५३ सालमा धनकुटामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।
वि.सं.२०७० साल मङ्सिर २९ गते डा.रामप्रसाद पोख्रेल आँखा अस्पताल सञ्चालनमा आएको थियो । उनले सो अस्पताललाई ८ रोपनी जग्गा प्रदान गरेका थिए । कार्यक्रम नेत्रज्योति सङ्घ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।